✍️ रामशरण कोइराला
पश्चिम् क्षितिजमा एक चोक्टा कालो बादल देखापर्यो, एका बिहानै ।
आदर्शनगर बस्तीको २३ नम्बर घरको एउटा कोठामा सुतिरहेको नाति आरोहणको अगाडि पुगेर हजुरबा रेवतीप्रसाद फुर्तीले बोले- ‘अब उठ बाबू । हेर त मैले काइँली काकीको पसलबाट मनपर्ने दुनोट ल्याइदिएको छु । दूध पनि ल्याएको छु, तताइहाल्छु । उठ सानू उठ ।’
हजुरबाको बोली सुन्नेबित्तिकै जुरुक्क उठ्छ आरोहण । मुख धुन्छ । भित्तामा टासिंएको शिवको तस्वीरलाई नमस्कार गर्छ । हजुरबाले त्यतिबेलासम्म दूध तताइसकेका छन् । नातीको अगाडि दूध र दुनोट राखेर रेवतीप्रसाद भन्छन्-‘म तिमीलाई खाना र खाजा बनाउँछु है सानु । दूध सेलाउछ, खाइहाल ।’
सहमतिमा आरोहण मुन्टो हल्लाउँछ, दूध र दुनोट खान्छ अनि होमवर्क गर्न थाल्छ ।
आकाशमा त्यो एक चोक्टा वादलको आयतन फैलिदै गएको छ । यस्तो लाग्छ यो शरद याम भए पनि पानी पर्छ । शरद ऋतुमा पानी पर्नु अनौठो कुरा हो ।
ठीक नौ बजेको छ । बटुकामा दूध र भात लिएर रेवतीप्रसाद भनिरहेका छन्- ‘कोकाइ-कोकाइ मेरो बाबा कोकाइ-कोकाइ चाँडै बुत्याइहाल ।’ नातीलाइ यसरी भात खुवाउन थालेको छ वर्ष भो रेवतीप्रसादले । नाति आरोहण दश वर्ष भए पनि त्यही छ वर्ष अगाडि नाति लाग्छ उनलाई । छन् पनि आरोहण मायालु, सालिन र आज्ञाकारी नै छ ।
संयोगवस डिभी पर्यो रमेशलाई । रमेश र रमाको दम्पतीको जीवनमा खुशीको आयतन हृवात्तै बढयो । यो कुरा सुनेर रेवतीप्रसादको मन खिन्न र उदास भयो । तर, छोराको रहरको अगाडि रेवतीप्रसादले कुनै प्रतिक्रिया जनाएनन् । किनकि त्यो परिवारको निम्ति पनि ठूलो अवसर थियो, डिभी पर्नु । रेवती रमणले एउटा सर्त राखे नातीको व्रतबन्ध यही गर्छु अनिमात्र अमेरिका पठाउछु । त्यतिबेलासम्म आरोहण पनि हजुरबासँग रत्तिसकेको थियो । मेश र रमाको दम्पतीले नाइनास्ती गर्न सकेनन् । आरोहणलाई यही नेपाल छोडेर अमेरिका उडे ।
स्कुल ड्रेस चाहिँ आफैं लगाउँछ आरोहण । त्यतिबेलासम्म स्कुल भ्यान गेटनेर आएर हर्न लगाइरहेछ-टिटी-टिटी ।
गेटमा पुर्याउँछन् रेवतीप्रसाद नातीलाई र टाटा गर्छन् ।
....
६० दसकमा नुवाकोटको सामरी खोला नजिकको आँपचौर गाउँमा रहेकोे ‘नमुना सामरी प्राथमिक विद्यालय’को हेडमास्टर थिए रेवतीप्रसाद कोइराला । तत्कालीन समयमा संस्कृत साहित्य अध्ययन गरेका उनी नेपाली विषयका शिक्षक थिए । जसको कारण उनलाई छन्दको ज्ञान थियो । त्यतिबेलै शिखरिणी छन्द लेखेको ‘तादीको छाल र मनको छाल’ शीर्षक कविता वाचन गर्दा थुप्रै मानिसहरूले ताली बजाएको उनलाई आज जस्तो लाग्छ ।
आपचौर गाउँमै जन्मेका थिए उनको एकमात्र छोरा रमेश । रेवतीप्रसादले छोरा रमेशलाई इञ्जिनियर बनाउने सपना देखेका थिए । छोरा रमेश मेघावी विद्यार्थी थिए । इमानदार, आज्ञाकारी छात्रको रूपमा रमेश त्यस भेगमा चिनिएका थिए । हेडसरको छोरो पनि हेडसर जस्तै भद्र छ है भनेर गाउँले भनिदिदा रेवतीप्रसाद खुशीले फुल्थे । उनको खुशीमा खुशी भरिदिने माध्यम भएको थियो रमेश ।
बिस्तारै फलामे ढोका भनिने एसएलसी परिक्षा आयो । उनले राम्रो अंक ल्याएर एसएलसी पास गरे । रेवतीप्रसादले रमेशलाई काठमाडौं पढाउने विचार गरेका थिए । छोरालाई पुल्चोक इञ्जिनियरिङ कलेजमा पढाउँछु भनेर गाउँतिर भनिसकेका थिए ।
पुल्चोक इञ्जिनियरिङ कलेजबाट शिभिल इञ्जिनियर बन्ने दिशामा अगाडि बढे रमेश । बिस्तारै रेवतीप्रसादको पेन्सन पनि पाक्ने अवस्थामा पुग्यो । पेन्सन पाके लगत्तै उनी काठमाडौं हानिए । आदर्शनगरको दुई तल घर उनको जीवन भर कमाइ र पैत्रिक सम्पत्तिको उपज हो ।
सिभिल इञ्जिनियर भइसकेपछि पनि रमेशले रोजगार पाउन सकेको थिएनन् । वैदेशिक रोजगारले देशको आर्थिक पद्धतिलाई थामिरहेको थियो । थुप्रै युवाहरूमा जस्तै निराशा र बेरोजगारीको तोडले रमेशलाई पनि छोइसकेको थियो । दिनभर चिया पसलमा बस्नु र राजनीतिक नेताकार्यकर्ताप्रति आक्रोशित हुनु रमेशको दैनिकी बनिसकेको थियो ।
एकाध वर्ष बेरोजगार र बेकारी भए रमेश । चिने जानेहरूले बेरोजगार भनेर हेप्न थालेको रमेशलाई महसुस हुन थालेको थियो । चाँडै बिहे गर्नुपर्छ भनिरहेका थिए आफन्तहरू । रेवतीप्रसाद पनि रमेशलाई विहे गरिदिन चाहन्थे । बुबा रेवतीप्रसादकै करबलमा बिहे पनि गरे रमेशले । बिहे गरेको दोस्रो वर्ष जन्मियो आरोहण । बिहे भएको लगत्तै रमेशले एउटा निर्माण कम्पनीमा जागिर पाए । जागिरमार्फत आएको बीस-बाईस हजारले केही वर्ष निम्न मध्यम वर्गीय गुजाराले गर्न सजिलो भयो । तर, बीस हजार तलबले कति र कसरी धान्नु जिन्दगी । श्रीमती रमा पनि रोजगार थिइनन् । वैदेशिक रोजगार जाउ भन्दै रमा दैनिक रूपमा भनिरहेकै थिइन् । रमेशलाई पनि यताको जागिर चिक्त बुझिरहेको थिएन । रेवती प्रसादका दम्पतीलाई भने एक्लो छोरो आफ्नै काखा पोल्टामा रहिदिए हुन्थ्यो जस्तो लाग्थ्यो । तर, समय परिस्थिति कहाँ मानिसले सोचेको जस्तो हुन्थ्यो र ।
रमाको करबल र जागीरको थोरै रकमले गर्दा रमेश बिदेश नै जान्छु भन्ने अवस्था पुगिसकेका थिए । रमेश एकदिन उभिए डिभी भर्ने लाइनमा । बिस हजारको जागिरभन्दा कता न कता ठूलो सपनाको कुरा थियो डिभी पर्नु र अमेरिका पुग्न पाउनु ।
संयोगवस डिभी पर्यो रमेशलाई । रमेश र रमाको दम्पतीको जीवनमा खुशीको आयतन हृवात्तै बढयो । यो कुरा सुनेर रेवतीप्रसादको मन खिन्न र उदास भयो । तर, छोराको रहरको अगाडि रेवतीप्रसादले कुनै प्रतिक्रिया जनाएनन् । किनकि त्यो परिवारको निम्ति पनि ठूलो अवसर थियो, डिभी पर्नु ।
रेवती रमणले एउटा सर्त राखे नातीको व्रतबन्ध यही गर्छु अनिमात्र अमेरिका पठाउछु । त्यतिबेलासम्म आरोहण पनि हजुरबासँग रत्तिसकेको थियो । मेश र रमाको दम्पतीले नाइनास्ती गर्न सकेनन् । आरोहणलाई यही नेपाल छोडेर अमेरिका उडे ।
...
एक वर्षपछि रेवतीप्रसादकी श्रीमती जमुना पनि अमेरिका पुगिन् । नाति- हजुरबा मात्र थिए घरमा । घरमा सन्नाटा थियो । कहिलेकाही हजुरबा र नातीको खुशी पनि फुल्थियो, गमलाको जाइ झै । आकाश झन् कालो हुँदै गयो । पानीको छिटा हान्दै केही बेरमा मूसलधारे वर्षा बर्सियो ।
यस्तै एउटा हिउँदको दिन थियो, त्यो दिन पनि पानी परेको थियो । आफ्नो छोरा रमेशलाई रेवतीप्रसादले सर्टको छाता बनाएर घर ल्याएका थिए । उनको मानसपटलमा त्यो दिनको सम्झना आयो ।
उनले नातीलाइ सम्झे । उनको मनमा अनेकौं तर्कना खेले । उनी नातीको स्कुलतिर हिँडे छाता ओढेर । रेवती प्रसादलाई नातीको खुव माया लागेर आयो ।
उनी सरासर नातीको कक्षामा पुगे । कक्षा शिक्षकलाई नातीलाइ रातभर ज्वरो आएको छ भनेर ढाटे । नाति डो¥यादै घरमा आए ।
पानी झमझम परिरहेको थियो । महानगरको यस झरीमा सार्वजनिक यातायातको सहचालक कराइरहेको थियो रत्नपार्क सुन्धारा रत्नपार्क सुन्धारा । उनलाई आरोहण होइन छोरा रमेशलाई बोकेझै लागिरहयो । उनले नातीमा छोरा रमेशको आभास पाइरहेका थिए ।
उहीँ पसलमा दुनोट किने रेवती प्रसादले । आज नातीसँग बसेर दुनोट खाने खुब रहर जाग्यो उनलाई । घरमा आउँदा बुहारी रमाको मेसेज आएको रहेछ भाइवरमा हाइ भनेर । उनीहरूको केही बेर कुराकानी चल्यो ।
बुबा आराम ?
ईश्वर कृपाले आरामै छौं बुहारी ।
अनि आरोहणलाई के छ ? मेसेन्जरमा फोन लाग्दैन नि बुबा ।
नेट बिग्रेको छ बुहारी ।
खाना र खाजा टाइममा खानु है ।
हुन्छ । आमालाई के छ ?
पार्क घुम्नुहुन्छ र मोबाइलमा लोकदोहरी हेरेर बस्नुहुन्छ । कहिलेकाही हाम्रो पप्पीलाइ दूध खुवाउनु हुन्छ त्यस्तै हो ।
ए हो र
हो ।
बुबा अब काम जान ढिलो भो हिँडे लागे है । आरोहणको ख्याल गर्नु ।
हुन्छ नानू हुन्छ ।
खासमा घरमा नेट बिग्रेकै थिएन । नाति आरोहणले मोबाइलमा अनेकौं गेम खेल्न थालेपछि नेटको तार चुडालेका थिए रेवतीप्रसादले । रेवतीप्रसाद नातीलाई साथी बनाउने सोचमा रहन्थे हरबखत ।
उनी नातीसँग चुंगी खेल्थे । हुतुहुतु खेलेका थिए । अन्ताक्षरिमा नातीसँग हार्दा खुशी भएका छन् कयौंपटक रेवतीप्रसाद । पुराना गायक बच्चु कैलासका गीत खुवसँग गाउँछ आरोहण । ममताको असाध्यै मीठा आभास दिलाएका छन् उनले नातीलाई ।
पानी रोकिने अवस्था छैन । शारदिय झरीको झरझरमात्र सुनिन्छ बाहिर ।
रेवतीप्रसादले दूध तताए । एक गिलास दूध नातीको अगाडि ल्याएर राखे । आरोहण दूध र दुनोट खान थाल्यो । रेवतीप्रसाद आरोहणले दूध खाएको हेरिरहे ।
आज नातीको जुठो दूध खान मन लागिरहृयो रेवतीप्रसादलाई ।
सानु तिम्रो दूध म खान्छु है । रेवतीप्रसाद बोले ।
हुन्छ बा खानुहोस् । भद्र आरोहणले सहमति जनायो ।
अर्को गिलास दूध खान थाल्यो आरोहण । रेवतीप्रसाद नातीको जुठो खान पाउँदा खुशी भए, हर्षित भए ।
आरोहणप्रति एकदम इमोसनल भएका थिए रेवतीप्रसाद । छोरा रमेशलाई गर्न नपाएको माया, ममता, स्नेह र सम्मान उनी नातिलाई दिन चाहन्थे । पावारिक बिछोड घाउ पुर्न चाहन्थे ।
रमेश अमेरिका उडेको दुई वर्ष हुँदै थियो । तर, यो दुई वर्ष रेवतीप्रसादलाई नित्य बीस वर्षजस्तो लागिरहेको थियो । उदासी, भय, निराशा र अनेकौं कुण्ठाले जमिसकेपछी मान्छेले जीवनलाई बोझिलो सम्झन्छ । बोझको त भारी बोकेर हिँडिरहेका थिए रमेश ।
आरोहण कम बोल्थियो । हजुरबाले भनेको मान्थियो । स्कुलमा मेघाबी विद्यार्थीको रूपमा चिनिएको थियो । उसलाई मनपर्ने खेल क्रिकेट थियो । उसलाई क्रिकेट हेर्नपाएपछि केही चाहिदैन थियो ।
हो, नाति आरोहणलाई क्रिकेट हेराउनकै लागि रेवतीप्रसादले बयालीस इञ्जको टिभी किनेका थिए । नातीको खुशीमा आफ्नो मनको फूल फुलाउने जुक्ति थियो यो उनको ।
आरोहणलाई पिज्जा मन पथ्र्यो । प्रत्येक शनिबार हजुरबा नाति आरोहणलाई लिएर बर्गर हाउस धाउँथे ।
आरोहणलाई भेज मम मन पथ्र्यो । डिल्लीबजारको ओरालोमा आरोहणलाई भेज खुवाउन लगिरहन्थे रेवतीप्रसाद ।
आरोहलाई हाकिङ लैजान्थे, गाउँका फूलहरू चिनाउथे रेवतीप्रसाद ।
कहिलेकाही नगरकोट रिसार्टसम्म पुगेर मुस्ताङ आलु खुवारहन्थे ।
आदर्शनगर नजिकै खुलेको थियो द लुगा डटकम । नेपालमा उत्कृष्ट लुगा बिक्री गर्ने पसलको रूपमा यो खुब चिनिएको थियो । आरोहणको निम्ति लुगा त्यही किन्थे रेवतीप्रसाद ।
छोराको निम्ति रमेश खर्चपानी पठाइरहन्थे । तर, त्यो रकम रेवतीप्रसादले नातीको नाममा खाता खोलेर राखिदिएका थिए । नातीको निम्ति जे गर्थे, त्यो पेन्सनमार्फत आउने पैसाले गर्थे ।
आरोहणको निम्ति पनि मुटु बिझाउने पीडा थियो । हजुरबाबाट उसले आमाको ममता र बाबाको स्नेह दुवै पाएको थियोे । आज उसले जे–जे बुझ्यो सबै हजुरबाकै कारण बुझ्यो । बुझ्ने भएपछि आरोहणले यो कुरालाई झन राम्रोसँग बुझ्ला ।
एकचोटि अलि धेरै होमवर्क दिएको थियो स्कुलले । स्कुलमा नै गएर शिक्षकहरूलाई थर्काएका थिए रेवतीप्रसादले । होमवर्क कम भए धेरै समय नातीसँग बिताउन पाउँछु भन्न्ने लागिरहन्थ्यो, उनलाई ।
...
यसपटक हिउँदमा जसरी नै व्रतबन्ध गराउने र छोरालाई अमेरिका पुर्याउने सोचाइमा थिए रमेशका दम्पती । यो कुरा उनीहरूले रेवतीप्रसादलाई भनिसकेका थिए । राम्रो लगन कहिले हुन्छ सोध्नुसमेत भनिसकेका थिए रमेशले ।
व्रतबन्धको कुरा उठेकै दिनबाट रेवतीप्रसादलाई निद्रा कम लाग्न थालिसकेको थियो । रात्रिको तीन बजे नै निद्रा खुल्दथ्यो । उनी रेडियो वा मोबाइलमा भजन सुनेर समय कटाउथे । कहिलेकाही काँठ क्षेत्रका जुहारी भाका पनि हेर्थे उनी युटुबमा ।
जाडोका रातहरूमा खुबै गाह्रो हुन्थ्यो । चिसोले गर्दा खोकीले सताउथ्योे । टाउको दुख्थ्यो । जाडो गढेको थियो, बुढेसकाल लागेको थियो । अनिदो किन सहन्थ्यो बूढो जिउले ।
कहिलेकाही श्रीमती जमुनासँग भिडियो कलमा बोल्थे रेवतीप्रसाद । सधैं पप्पीलाई दूध पाउरोटी खुवाइरहेको छु भन्थिन् उनी । खासमा बेलुकीको खाना बनाउन रमेशका दम्पतीले आमालाई अमेरिका झिकाएका हुन् । फ्रिज राखेको खानाले सधै बिरामी पर्थे रमेश ।
जसै मंसिर महिना पनि आयो । मंसिर दश गते नै जमुनासहित रमेशका दम्पती काठमाडौं आइपुगे । स्वागत गर्न नाति लिएर एयरपोर्ट पुगे रेवतीप्रसाद ।
भव्य व्रतबन्धको तयारी भयो । सारा आफन्तहरूलाई बोलाउनुपर्छ भनेर जमुनाले अड्डी कसिन । रमेशका दम्पतीलाई नपुग्दो के थियो र । दुई चार लाख बढी खर्च हुँदा मन खिन्न बनाउने मान्छे कहाँ हो र रमेश ।
रमेशका दम्पती र जमुना आए पनि कम बोल्न थालेका थिए रेवतीप्रसाद । रमेशले भनेका थिए–‘यस्तो राजनीति, सामाजिक र आर्थिक रूपमा अस्थिर मुलुकमा के बस्नु । अर्को वर्ष तपाईं पनि जानुपर्छ उतै ।’
छोराको कुरा नटुगिँदै जंगिए रेवतीप्रसाद-‘बरू आत्महत्या गर्छु । म मेरो माटो छोडदिन ।’
बुबाको कुरा सुनेर रमेशले अध्यारो अनुहार लगाए । जमुनाका सासु बुहारीको पनि अबस्था उस्तै देखियो ।
भव्य रूपमा सफल भयो आरोहणको ब्रतबन्ध । आफन्तजन र निम्तालुको रमेशको परिवारको खुलेर प्रशंसा गरे । रमेश बिहेमा सय पचास जना थिए, आरोहणको व्रतबन्धको हजारौं भए ।
पुस लाग्ने बित्तिकै अमेरिका उड्ने भए उनीहरू । रमा पनि गर्भवती थिइन् । आमालाई लैजाने उनीहरूको चाह थियो । रेवतीप्रसादले पनि सहर्ष स्वीकार गरे ।
एयरपोर्ट पुग्ने बिहान आरोहण घ्वा-घ्वा रुन थाल्यो । दुःख मनाउ गर्न थाल्यो । रेवतीप्रसादको पनि भक्कानो फुटयो । तर, पाको मान्छेले रुन कहाँ पाउछ र मन रोए पनि ।
आरोहणको निम्ति पनि मुटु बिझाउने पीडा थियो । हजुरबाबाट उसले आमाको ममता र बाबाको स्नेह दुवै पाएको थियोे । आज उसले जे–जे बुझ्यो सबै हजुरबाकै कारण बुझ्यो । बुझ्ने भएपछि आरोहणले यो कुरालाई झन राम्रोसँग बुझ्ला ।
एयरपोर्ट पुगेपछि नातीले भन्यो-‘बा म ठूलो भएपछि आदर्शनगर नै आउँछु राम्रोसँग बस्नुहोस् है । टिभी धेरै नहेर्नुहोस् आँखा बिग्रिन्छ । बाइ बा बाई बाई ।’
यसरी आरोहण बोल्दा कसैको मुख बोलेन । आँखा बोल्यो आँसु भएर ।
(नुवाकोट जिल्ला बिदुर नगरपालिका-८ राईसिंङमा जन्मिनुभएका रामशरण कोइराला चलचित्रका निर्देशक हुनुहुन्छ । उहाँले थुप्रै भिडियो र चलचित्रको निर्देशन अनि सहनिर्देशन गर्नुभएको छ । साहित्य क्षेत्रमा पनि बेलाबखत फुटकर रूपमा उहाँ रचना आइरहेका हुन्छन् । )







Thanks himalaya times publication for published my story..
मन नै तरङीत भयो। सावाँ भन्दा ब्याजको माया यसै भनेका होइनन बुढापाकाले। मनवीय सम्बेदनालाई सुन्दर ढङले प्रस्तूत गरिएको छ।
Govinda Kunwar
आभार
ati nai marmasparsi, sundar❤️
Nice touchey
बालमनोविज्ञान, तीन पुस्ताको प्रेम, बेरोजगारी, डि भि, प्रेम, बिछोड, घरदेश परदेश सारा जस्ता वृहत क्षेत्र समेटेको गज्जब कथा । बधाई छ रामशरणजी!