
पार्टीहरूमा प्रायः मतमतान्तर नै देखिन्छ । एक ढिक्का भएर चलेका पार्टीहरू कुनै छैनन् । मतमतान्तरबिना सबैको एक मत भएर चलेका पार्टीहरू एउटामात्र उदाहरण दिन सक्ने अवस्था हाम्रो हकमा पाइँदैन । अहिले सबै पार्टीमा रमिता छ । मतमतान्तर, विभाजन र कारबाहीका शृंखलाहरू चलिरहेका छन् । यस्तो अवस्थाको कल्पना हिजो प्रजातन्त्र ल्याउने अभियानका बेला गरिएको थिएन । पहिले केही कम्युनिष्टहरूले वर्तमान स्वरूपको प्रजातन्त्रको पनि विरोध गरेका थिए । त्यही कारण तिनले जनमतसंग्रहका बेला ‘जनमतसंग्रह धोका हो’ भन्ने नारा लगाए । तर, पछि २०४६ सालको जनआन्दोलनमा कम्युनिष्टका केही घटकले नेपाली कांग्रेससँग एकता गरे । प्रजातन्त्र आएपछि पार्टीहरूमा मतमतान्तर चरम अवस्थामा पुग्यो र प्रायःजसो पार्टीहरूले विभाजनको तिक्तता व्यहोर्नुपर्यो ।
यस्ता आन्दोलनहरू सहभागी जनताका लागि एकातिर पहेली जस्तामात्र बने भने अर्कातिर सहभागीले यस्ता आन्दोलनहरूमा लागेर शारीरिक, मानसिक र भौतिक नोक्सानी व्यहोर्नु परेकोमा पश्चाताप मात्र गर्नुपर्यो । प्रजातन्त्र र प्रजातान्त्रिक प्रणालीप्रति गौरव गर्न सकिने अवस्था देखापर्न सकेन । अब त प्रजातन्त्र आएको पनि ३५ वर्ष भइसकेको छ । यसले लामो इतिहासको फड्को मारिसक्यो तर जनता र देशको अवस्थामा हिजोको भन्दा आज एक आखरमात्र सुधार भएको छैन । अझै भन्ने हो भने माओवादीले गरेको सशस्त्र क्रान्तिका कारण त देशका १७ हजार मानिसले ज्यान गुमाउनुपर्यो । विकलांग बनेकाहरूको संख्या भने यकिन छैन ।
प्रभावित परिवारले त्यत्रो बलिदानीको सट्टा कुनै प्रकारको सुविधा राज्यबाट पाउन सकेका छैनन् । तिनलाई जति पछुतो आजका दिनमा अरू कसैलाई नहुन सक्छ । यसरी चौतर्फी रूपमा असन्तुष्टिको राँकोमा झिल्सिएर नेपाली जनता बाँचिरहेका छन् । यो वर्तमान नेपालको सग्लो र यथार्थ चित्र हो । अझै सबैले आशा र अपेक्षा गरेको प्रजातन्त्रको संवाहक पार्टी नेपाली कांग्रेसको गौरवमय इतिहास र यसको राजनीतिक सक्रियता अरूको भन्दा बढी छ । तर, हालका दिनहरूमा यस पार्टीलाई गुटबन्दीको महारोगले आक्रान्त पारिरहेको अवस्था छ । बाहिर पोखिन आएका यस्ता प्रकरणले सर्वसामान्यमा समेत यस पार्टीप्रतिको आस्था, आशा र भरोसामा ठेस लाग्न पुगेको छ ।
हुन त इतिहासको प्रारम्भिक चरणदेखि नै यस पार्टीमा गुटबन्दी थियो र पछिल्ला दिनमा यसको चरम अवस्था देखिन आयो । जसले गर्दा पार्टी विभाजनसमेत हुन पुग्यो । राजनीतिकै लागि आफ्नो सारा जीवन त्यागेका सन्तनेता कृष्णप्रसाद भट्टराई र राजनीतिको मियो बनेर पञ्चायत फाल्ने अभियानका कमाण्डर सर्वमान्य नेता गणेशमान सिंहले समेत अपमानित हुनुपरेको विगत बोकेको नेपाली कांग्रेसमा आजका सदनमा पनि गुटबन्दीकै अवस्था झांगिरहेको छ । यस्तो स्थितिलाई बढावा दिनेमा वर्तमान पार्टी सभापति, उपसभापति, महामन्त्रीलगायत जिम्मेवार नेताहरू नै पहिलो भूमिकामा देखिनुभएको छ भने अर्कातिरबाट संस्थापन इतर भनेर डा.शेखर कोइराला पनि गुटलाई नै संरक्षण गरिरहनुभएको छ ।
सबै पार्टीमा यस्तै छ भनेर यस पार्टीले छुट पाउँदैन किनभने यो स्थापनाकालदेखि नै प्रजातन्त्र, समाजवाद र राष्ट्रियता तीनवटा सिद्धान्तलाई आफ्नो आदर्श मानेर अगाडि बढेको पार्टी हो । यसले अनेकौं खालका आँधी र हुरीको सामना गरेको छ । पहिलो पटकको प्रजातन्त्रको एकलौटी रूपमा यही पार्टी नै संबाहक थियो भनेपछि गुमेको प्रजातन्त्रको पाप्तिका लागि अगुवाइ यसको हो । त्यसैले प्रजातान्त्रिक अभ्यास र यसको अग्रगमनमा यो पार्टी विचलित बन्नु हुँदैन र बन्न पाउँदैन पनि । तर, हालको पोखरा भेलामा संस्थापन पक्षले संस्थापन इतर पक्षलाई नबोलाएको र उक्त पक्षको सहभागिता नरहेको सन्दर्भ आलोचनाको विषय बनिरहेको छ ।
प्रधानमन्त्रीको दावेदार हुँ भन्ने चुनावी नारा लिएर विजय हासिल गर्नुभएका प्रभावशाली महामन्त्री गगन थाथालाई संस्थापन इतरको बिल्ला लाग्दै आएको थियो तर डा.शेखर कोइरालाको पक्षमा रहिरहँदा सभापति र भावी दिनमा प्रधानमन्त्रीसमेत बन्ने सम्भावना उहाँको नदेखेपछि महामन्त्री थापाले गुट बदल्नुभएको छ र सभापति देउवा तथा उपसभापति पूर्णबहादुर खड्काकै गुटमा जोडिन पुग्नुभएको छ । वर्तमान सभापतिको उमेर र स्वास्थ्यको अवस्था देखेर नै अब यताबाट चाहिँ आफ्नो लक्षमा पुग्ने सजिलो बाटो उहाँले देख्नुभएको हुनसक्छ । उहाँहरूकै आयोजनामा सम्पन्न पोखरा भेलामा डा.शेखर गुट आमन्त्रित नभएकोमा महामन्त्री थापाले यो राजनीतिक प्रशिक्षण प्रतिष्ठानको सानो प्रदेशस्तरीय भेला भएको कारण सबैलाई नबोलाइएको हो भन्नुभएको छ तर संस्थापन इतर पक्षले यसलाई त्यति सजिलै पचाएको छैन ।
एकलौटी रूपमा आयोजना र सञ्चालन गरिएको यस भेलाको सम्बन्धमा आफ्नो पक्षले निर्मम समीक्षा गर्ने भनेर डा.कोइराला पक्षले प्रतिक्रिया दिएको छ । यसबाट पार्टीको आन्तरिक मतमतान्तर बाहिरसम्म देखिन आएको सन्दर्भ यथार्थ नै हो । यो कुनै काल्पनिक र अनुमानका भरमा पुष्टि गर्न खोजिएको विषय होइन । नेपाली कांग्रेसमा मात्र होइन जुनसुकै पार्टीमा पनि संगठन मजबुत र अनुशासनमा कढाइ हुनसक्यो भनेमात्र पार्टी बलियो हुने हो । त्यसो भएकाखण्डमा प्रजातान्त्रिक प्रणाली पनि बलियो हुनसक्छ । करिब आठ दशकसम्म प्रजातान्त्रिक अभियानहरूको नेतृत्व गर्दै आएको नेपाली कांग्रेस जस्तो प्रजातान्त्रिक पार्टीमा एकता र अनुशासन झनै अपेक्षित हुने नै भयो । राजनीतिको केन्द्रबिन्दुमा पार्टीले यस्ता कुरालाई राख्नुपर्ने होइन र ?
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच