
काठमाडौं । संगीतकार रोशन बान्तवा सम्मानित हुनुभएको छ । किराँत राई खेङयुङ बान्तवा वंश समितिको ४५ औँ वार्षिक साधारणसभाको विशेष समारोहमा उहाँले गीत संगीतका क्षेत्रमा पुर्याउनुभएको योगदानको उच्च कदर गर्दै सम्मान गरिएको हो । संगीतकार बान्तवालाई माला, खादा र ताम्रपत्रद्वारा सम्मान गरिएको थियो । बान्तवालाई नेपाली संगीत क्षेत्रमा २५ वर्ष लगातार योगदान पुर्याएबापतमा सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ ।
समितिका अध्यक्ष अर्जुनकुमार राईको सभापतित्वमा भएको कार्यक्रममा पूर्वराजदूत प्राडा नवलकिशोर राई प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रमको अन्य अतिथिहरूमा समाजसेवी मनोज राई, पूर्वशिक्षक रामकुमार राई, समाजसेवी बिन्दबहादुर राईलगायत रहनुभएको थियो । दुई सयजनाभन्दा बढीको सहभागिता रहेको सो कार्यक्रम कमल गाउँपालिका-६ मंगलबारे झापामा भएको हो ।
नेपाली सांगीतिक क्षेत्रमा बहुप्रतिभाशाली मानिने रोशन गितार एवं किबोर्ड वादन, संगीत सिर्जना र संगीत संयोजन विधामा खास दखल राख्नुहुन्छ । विसं २०५४ सालमा उहाँले लेखेको पुस्तक ‘गितार सोलुसन’ गितारप्रेमीका लागि प्रिय पुस्तक साबित भयो ।
पहिलो पुस्तकमा पाठकको मायाबाट उत्साहित उहाँले २०५६ सालमा ‘सजिलो किबोर्ड’ नामक दोस्रो पुस्तक प्रकाशन गर्नुभएको थियो । संगीतका विद्यार्थीले बुझ्ने गरी लेख्नु रोशनको विशेषता हो । उहाँले लेखेका अन्य पुस्तकमा ‘गितार बुक्स एण्ड कर्ड ग्यालरी’ (२०६०), ‘किबोर्ड गाइड’ (२०६०), ‘सजिलो गितार’ (२०६३), ‘किबोर्ड गाइड’ (२०७४) जस्ता रहेका छन् । राजधानी र मोफसलका धेरै म्युजिक इन्स्टिच्युटले उहाँका पुस्तकलाई आधार मानेर पढाउने गरेका छन् । गितार र किबोर्डसम्बन्धी उहाँका सातवटा पुस्तक आइसकेका छन् । पाँचथरको कुरुम्बामा विसं २०३१ सालमा जन्मिनुभएका बान्तवा २०४८ सालदेखि राजधानीमा रही संगीतकर्ममा क्रियाशील हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच