
टेलिसिरियलको भिडभाडमा अहिले ‘ख्यालठट्टा’ आफ्नै रफ्तारमा अघि बढिरहेको छ । यसका लेखक, निर्देशक हुनुहुन्छ सुरज खनाल । गुल्मीको जुम्लादीबाट कलाकार बन्ने सपना मनभरि संगालेर काठमाडौंको यात्रामा निस्किनुभएका उहाँले छोटै समयमा लेखन, निर्देशनको क्षेत्रमा पृथक् पहिचान बनाइसक्नुभएको छ । उहाँ लेखन, निर्देशन र अभिनयमा मात्र सीमित हुनुहुन्न, उहाँले मनोरञ्जनलाई सामाजिक सुधारको माध्यमका रूपमा उपयोग गर्ने आफ्नो भिन्न दृष्टिकोणले समाजलाई सकारात्मक योगदान पुर्याउँदै आउनुभएको छ । म्युजिक भिडियो, टेली विज्ञापन हुँदै ‘गञ्जागोल’, ‘अति भो’ र अहिले ‘ख्यालठट्टा’ सिरियलको लेखन, निर्देशनसँगै कलाकारितामा दैनिकी खर्चिरहनुभएका सुरज खनालसँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको संवादको संक्षिप्त अंशः-
० गुल्मीबाट काठमाडौं प्रवेश गर्दै गर्दा देख्नुभएको सपना सम्झनुहुन्छ ?
सम्झन्छु, मेरो सपना नै असल कलाकार साथै निर्देशक बन्नु थियो । त्यही सपनाले नै मलाई अहिले निर्देशक बनायो ।
० अन्य पेशा, व्यवसायमा नलागी कलाक्षेत्र रोज्नुको कारण ?
सानैदेखिको सपना थियो यो क्षेत्रमा केही गरूँ भन्ने ।
० यहाँ आइसकेपछि कलायात्राको सुरुवातचाहिँ केबाट र कसरी भयो ?
सुरुमा डान्स सिक्न जान्थेँ, डान्समा कोरस नाच्दानाच्दै पछि ‘हरिबहादुर-मदनबहादुर’को सिरियलमा सानो भूमिकामा खेल्ने अवसर मिल्यो, पछि दुई-चारवटा ठूलो चलचित्रमा सानोसानो रोल, विज्ञापन, सरकारी विज्ञापन, म्युजिक भिडियोहरू र ‘गञ्जागोल’ टेलिसिरियल, ‘अति भो’ टेलिसिरियल हुँदै ‘ख्यालठट्टा’सम्म आइपुगेको छु ।
० प्रशिक्षण लिनुभो कि सिधै काम गर्न थाल्नुभयो ?
प्रशिक्षण लिइनँ, सिधै काम गर्न थालियो ।
० हरिबहादुर-मदनबहादुरमा पनि काम गर्नुभयो, उहाँहरूसँग काम गर्दाको अनुभव कस्तो रहृयो ?
एकदमै रमाइलो रहृयो, सुरुमा कसरी सुटिङ हुन्छ भन्ने कुरा नै थाहा थिएन । सुटिङ कसरी गर्दा रहेछन् भन्ने कुरा नै त्यहाँ पुगेर देख्ने अवसर मिल्यो । अग्रजहरूसँग काम गर्न पाउनु मेरा लागि खुसीको कुरो थियो त्यतिबेला ।
० ‘गञ्जागोल’ छाडेर ‘अति भो’ बनाउनुभयो, कति भागसम्म प्रसारण भयो ‘अति भो’ ?
‘गञ्जागोल’ त तीन भागमात्र बनायौं, ‘अति भो’ चाहिँ नेपाल टेलिभिजन र मिडिया हब युट्युब च्यानलबाट २०१ भागसम्म प्रसारण गर्न सफल भयौं ।
० अहिले आफ्नै लेखन, निर्देशनमा ‘ख्यालठट्टा’ गरिरहनुभएको छ, दर्शकबाट कस्तो प्रतिक्रिया पाइरहनुभएको छ ?
एकदमै राम्रो प्रतिक्रिया पाइरहेको छु । कमेडी सिरियलहरू सेन्टिमेन्टल सिरियलको दाँजोमा धेरै नै कम भइरहँदा सबैको रोजाइमा पर्न सफल भएको छु ।
० लेखक, निर्देशक र कलाकार पनि भएको नाताले यी तीन विधामध्ये काम गराइको हिसाबले कुन सजिलो ?
सबैभन्दा सजिलो कलाकार, आफ्नो रोल आउँदा खेल्यो, सेटमा बस्यो, अरू तनाव हुँदैन ।
० आफूलाई के भनेर चिनाउन चाहनुहुन्छ ?
म आफूलाई तीनवटै पाटो, सबै आफैं सम्हाल्ने भएकाले कलाकार, लेखक अनि निर्देशक तीनवटै भनेर चिनाउँछु, किनकि म यहाँसम्म आइपुग्दा तीनवटै विधामा उत्तिकै मिहिनेत गरेको छु ।
० भावी योजना ?
मेरो चाहना भनेको आगामी समयमा चलचित्र निर्माण तथा निर्देशन गर्ने नै हो, जसको गृहकार्य भइरहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच