
काठमाडौं । सूचना प्रविधिसम्बन्धी पछिल्ला प्रविधिबारे जानकारी जानकारी दिने उद्देश्यका साथ काठमाडौंमा क्यान इन्फोटेक सुरु भएको छ । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)को आयोजनामा सुरु भएको ‘एचएमसी नेपाल हिक्सेमी क्यान इन्फोटेक २०२५’ उद्घाटन सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले एआई रोबोटको सहयोगमा डिजिटल दियो बालेर गर्नुभयो । साथै प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो सन्देशमार्फत् क्यान इन्फोटेक २०२५ को सफलताको शुभकामना दिँदै निजी क्षेत्रको सहयोगमा सूचना प्रविधि उद्योगमैत्री कार्यक्रम सञ्चालन, नवप्रवर्तन तथा स्टार्टअप संस्कृतिको विकास, स्वदेशी सीप र कलाको प्रोत्साहन, प्राविधिक जनशक्ति उत्पादन र परिचालनमार्फत् देशको अर्थतन्त्र सुदृढ बनाउन सरकारले अधिकतम पहल गरिरहेको बताउनुभयो ।
मन्त्री गुरुङले क्यान इन्फोटेकले सूचना प्रविधि क्षेत्रमा नयाँ सम्भावना र अवसर सिर्जना गर्ने विश्वास व्यक्त गर्दै निजी क्षेत्रसँग सहकार्यका लागि आहृवान गर्नुभयो । उहाँले भन्नुभयो, ‘तपाईंहरू मिहिनेत र हिम्मतसाथ काम गर्नुहोस्, नेपाललाई आइटी हबका रूपमा चिनाऔँ ।’ मन्त्री गुरुङले निजी क्षेत्रको प्रयासको सराहना गर्दै सरकारतर्फबाट ठोस नीति र कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । आइटी पार्क, ज्ञान पार्क र एआई रिसर्च सेन्टरको अभाव रहेको भन्दै उहाँले आगामी वर्ष कम्तीमा एउटा आइटी पार्क खोल्ने योजना रहेको जानकारी गराउनुभयो । मन्त्री गुरुङले भन्नुभयो, ‘हामी कम्तीमा एउटा आइटी पार्क वा नलेज पार्क बनाउने योजनामा छौं । काठमाडौंमा सुरु गरेर सातवटैै प्रदेशमा विस्तार गर्ने लक्ष्य छ । सूचना प्रविधि क्षेत्रलाई प्रोत्साहन गर्न सरकारले अध्यादेशमार्फत् सकारात्मक कदम चालिसकेकोे छ ।’
क्यान महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डेले सूचना प्रविधिसम्बन्धी नयाँ नीति, कानुन तथा निर्देशिकामा क्यान महासंघले समन्वयकारी भूमिका खेलिरहेको जानकारी गराउँदै सूचना प्रविधि क्षेत्रमा देखिएका समस्या हल नीतिगत तवरबाटै हुनुपर्नेमा जोड दिनुभयो । निजी क्षेत्र र सरकार मिलेर प्रविधि क्षेत्रमा धेरै काम गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ थियो । १० वर्षमा पाँच लाख प्रत्यक्ष र १० लाख अप्रत्यक्ष रोजगारी तथा ३० खर्बको आइटी सेवा निर्यातका लागि कार्ययोजना बनाउन मन्त्रालयसँग काम गर्न खोजेको समेत पाण्डेको भनाइ थियो । क्यान महासंघले यस वर्ष नीति निर्माणसम्बन्धी अवधारणा अघि सारेको भन्दै उहाँले प्रविधि क्षेत्रको विकासमा सरकारसँग नजिक रहेर काम गर्ने योजना रहेको बताउनुभयो । अध्यक्ष पाण्डेले भन्नुभयो, ‘डेटा प्रोटेक्सन एक्ट, क्रिटिकल सर्भिसमा पर्ने डट एनपीसम्बन्धी नीति निर्माण गर्ने, राइड सेयरिङसम्बन्धी नीति बनाउने, एआईका लागि अत्यन्त आवश्यक पर्ने डेटा मनिटरिङ र डेटा क्लिनजिङसम्बन्धी काम, वैदेशिक लगानी ऐन २०२१ को संशोधन, ब्रोडब्याण्ड इन्टरनेटका लागि कर प्रणाली परिमार्जन, दूरसञ्चार पूर्वाधार सहप्रयोगसम्बन्धी निर्देशिका बनाउनुपर्ने, सूचना प्रविधि क्षेत्रका लागि चाहिने वर्कफोर्स तयार पार्ने सम्बन्धमा क्यान महासंघले अवधारणा अगाडि सारेको छ ।
नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)का उपकुलपति प्राडा दिलिप सुब्बा, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाललगायतले पनि सूचना प्रविधि क्षेत्रको विकास र विस्तारका लागि सामूहिक प्रयासको आवश्यकता औंल्याएका थिए ।
सो अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्याल, सूचना प्रविधि विभागका महानिर्देशक रमेश शर्मा पौडेल, त्रिवि इञ्जिनियरिङ संस्थाका प्राडा सुवर्ण शाक्य, क्यान महासंघका संस्थापक अध्यक्ष डा. विमलकुमार शर्मा, नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत उपाध्यक्ष हेमराज ढकाल, क्यान इन्फोटेकका शीर्ष प्रायोजक एचएमसी नेपाल हिक्सेमीका सन्तोष कुमार श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।
आयोजकका अनुसार क्यान इन्फोटेकको प्रमुख प्रायोजक एचएमसी नेपाल हिक्सेमी र सह–शीर्ष प्रायोजक मर्कन्टाइल अफिस सिस्टम रहेका छन् । क्यान मेलामा क्यान महासंघका सदस्य संस्थाका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीको सहभागिता रहेको छ । क्यान इन्फोटेक व्यवसायीहरूले व्यापार विस्तार, नयाँ प्रविधिको प्रदर्शनी र ग्राहकसँग प्रत्यक्ष अन्तरक्रियाका लागि उत्कृष्ट अवसरका रूपमा प्रयोग हुने विश्वास गरिएको छ ।
मेलामा ब्राण्डिङ, आइसिटी एक्सेसरिज, गेम पार्लर, प्रोडक्ट लन्चिङ, स्टार्टअप, रोबोटिक्स, इमर्जिङ टेक्नोलोजी, इ-गभर्नेन्स, इन्टरनेट कनेक्टिभिटी, लर्निङ सेन्टरलगायतका सेवा तथा उत्पादन राखिएको छ ।
मेलाको मुख्य आकर्षणमा एआईमा आधारित क्यामेरादेखि हृयुमनाइड रोबोट र सेल्फ ड्राइभिङ कारसम्म रहेका छन् भने साइबर सुरक्षा सहायता डेस्कदेखि विद्यार्थीले तयार पारेका डेटा साइन्स, सेन्सर टेक्नोलोजी, आर्टिफिसियल इन्टेलिजेन्स, रोबोटिक्सलगायतका प्रोजेक्ट राखिएका छन् । मेलामा नास्टको स्मार्ट बसमा बसेर एआई कोडिङ गर्न सकिनेछ । क्यान महासंघ र नास्टले इच्छुक विद्यार्थीलाई उक्त अवसर सदुपयोग गर्न आहृवान गरेका छन् । त्यस्तै मेलामा पहिलोपटक नेपालमै निर्मित मुनाल स्याटलाइटसमेत अवलोकन गर्न सकिनेछ । क्यान महासंघका महासचिव चन्द्रविलास भूर्तेलले क्यान इन्फोटेकमार्फत् नेपाली नवप्रवर्तन, अनुसन्धान र आविष्कारका क्षेत्रका सक्रिय उत्पादन तथा प्रतिभालाई प्रोत्साहन गरिएको बताउनुभयो । ३०औँ संस्करणको क्यान मेला पाँच दिनसम्म चल्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच