
काठमाडौं । हमास अतिवादी समूहको नियन्त्रणमा रहनुभएका नेपाली युवा विपिन जोशीको रिहाइका लागि सरकारले कूटनीतिक पहल गर्दै आएको छ । यही क्रममा सभामुख देवराज घिमिरेले जोशीको सकुशल रिहाइका लागि विशेष पहल गरिदिन अनुरोध गर्दै अरब संसद्का अध्यक्ष महामहिम मोहम्मद अहमद अल-यमाहीलाई पत्र लेख्नुभएको छ । सभामुख घिमिरेले अरब संसद्का अध्यक्ष अल-यमाहीलाई शुक्रबार पत्र लेख्दै विपिन जोशीको सकुशल रिहाइका लागि विशेष पहल गरिदिन आग्रह गर्नुभएको हो । ‘हमासद्वारा अपहरण गरिएका नेपाली विद्यार्थी विपिन जोशीको शीघ्र रिहाइका लागि अरब संसद्का अध्यक्ष महामहिम मोहम्मद अहमद अल-यमाहीलाई पत्र लेख्दै मैले महामहिमलाई विपिन जोशीको सकुशल रिहाइका लागि विशेष पहल गरिदिन अनुरोध गरेको छु,’ सभामुख घिमिरेले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।
परराष्ट्रमन्त्रीको पहल
विपिन जोशी हमासद्वारा अपहरणमा परेपछि सरकारले कूटनीतिक पहल तीव्र बनाएको छ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले कतार र इजिप्ट सरकारसँग जोशीको रिहाइका लागि पहल गरिदिन केहीदिन अघि आग्रह गर्नुभएको थियो । नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी बासले सभामुखसँगको भेटमा विपिनको रिहाइका लागि संसदीय कूटनीतिसमेत प्रयोग गर्न सकिने सुझाव दिनुभएको थियो । यसैबीच परराष्ट्रमन्त्री डा. देउवाले इस्लामिक गणतन्त्र इरानका विदेशमन्त्री सय्यद अब्बास अराघ्चीसँग फोन वार्ता गर्नुभएको छ । सो क्रममा हमासको नियन्त्रणमा रहनुभएका नेपाली विद्यार्थी विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह गर्दै मन्त्री राणाले बिहीबार राति इरानी विदेशमन्त्री अराघ्चीसँग कुराकानी गर्नुभएको थियो । त्यस अवसरमा विदेशमन्त्री अराघ्चीले हमासका अधिकारीहरूसँग अब हुने बैठकमा आफूले विपिनको रिहाइको विषय प्राथमिकताका साथ उठाउने आश्वासन दिनुभएको थियो । इजरायल सरकार र हमासबीच युद्धविराम भएपछि आफ्ना नियन्त्रणमा रहेका बन्दीहरूलाई हमासले कब्जामुक्त गरिरहेको छ । इजरायल सरकार र हमासबीच युद्धविरामको कुराकानी भएदेखि नै मन्त्री राणाले हमाससँगको शान्तिवार्ताका लागि मध्यस्थता गरिरहेका कतार र इजिप्टसँग विपिनको रिहाइका लागि विशेष पहल गरिदिन आग्रह गर्दै आउनुभएको छ ।
कतार र इजिप्ट सरकारसँग अपिल
नेपाल सरकारले हमास समूहको नियन्त्रणमा रहनुभएका नेपाली विद्यार्थी विपिनको रिहाइका लागि पहल गरिदिन कतार र इजिप्ट सरकारसँग पुनः आग्रह गरेको छ । सरकारले नेपालका लागि इजिप्ट र कतारका राजदूतमार्फत दुवै देशसँग विपिनको रिहाइका लागि विशेष पहल गरिदिन पुनः आग्रह गरेको हो । हमास समूहले आफ्नो नियन्त्रणमा रहेकामध्ये ३४ जनालाई अपहरण मुक्त गर्न लागेको भन्ने समाचार आएपछि परराष्ट्रमन्त्री देउवाले हमाससँग मध्यस्थता गरिरहेको कतार र इजिप्ट सरकारलाई विपिनको रिहाइमा सहयोग गरिदिन आग्रह गरेको उहाँको सचिवालयले जनाएको छ । नेपालका लागि इजिप्टका राजदूत नोहा हमदी अहमद एलगेबलीसँग शुक्रबार मन्त्रालयमा भएको शिष्टाचार भेटका परराष्ट्रमन्त्री देउवाले इजिप्ट सरकारसमक्ष सो आग्रह गर्नुभएको थियो । मन्त्री देउवाले नेपालका लागि कतारका राजदूत मिसाल मोहम्मद अल अन्सारीसँग पनि फोन सम्पर्क गरी विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह गर्नुभएको थियो । हाल कतारमा रहनुभएका राजदूत अन्सारीले यस विषयमा आफूले कतारका विदेश मन्त्रीसँग कुराकानी गरेर थप जानकारी गराउने बताउनुभएको थियो । संयुक्त राष्ट्रसंघ, विभिन्न अन्तर्राष्ट्रिय एवं क्षेत्रीय मञ्चका साथै द्विपक्षीय एवं बहुपक्षीय बैठकहरूमा समेत परराष्ट्रमन्त्री राणाले विपिनको रिहाइका लागि पहल गरिदिन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्दै आउनुभएको छ ।
हरसम्भव प्रयास भइरहेको छ : इजरायली राष्ट्रपति
इजरायलका राष्ट्रपति इज्याक हर्जाेगले हमासद्वारा अपहरित नेपाली विद्यार्थी विपिनको सुरक्षित रिहाइ र घर फिर्तीका लागि हरसम्भव प्रयास गरिरहेको बताउनुभएको छ । इजरायलका लागि नेपाली राजदूत प्रा. धनप्रसाद पण्डितसँगको टेलिफोन कुराकानीमा राष्ट्रपति हर्जाेगले यो कुरा बताउनुभएको हो । परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिका अनुसार राष्ट्रपति हर्जाेगसँग राजदूत पण्डितको गत मंगलबार साँझ कुराकानी भएको थियो । मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘टेलिफोन कुराकानीमा अन्य कुराकानीका अलावा राष्ट्रपति हर्जाेगले हमासद्वारा बन्दी बनाइएका अन्यका अलावा नेपाली विद्यार्थी विपिन जोशीको सुरक्षित रिहाइ र घर फिर्तीको सक्दो प्रयास गरिरहेको छ ।’
अवस्था अझै अज्ञात
हमासले बन्धक बनाएर राखेका नेपाली विद्यार्थी विपिनको रिहाइका लागि नेपालले पछिल्लो समय गरेको प्रयासले भने अझै सार्थकता पाउन सकेका छैनन् । इजरायल र हमासबीच युद्धविराम भएपछि बन्दी रिहाइ गर्ने क्रम चले पनि नेपाली विद्यार्थी जोशी भने अझै रिहाइ हुन सक्नुभएको छैन । जोशीको अवस्था अझै अज्ञात छ । ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषिसम्बन्धी अध्ययनका लागि इजरायल पुग्नुभएका जोशीलाई हमासले २०२३ अक्टोबर ७ मा अलुमिम किबुजबाट अपहरण गरेर लगेर बन्धक बनाएको थियो । त्यसयता उहाँको अवस्था अज्ञात छ । गाजापट्टीसँग जोडिएको इजरायलको दक्षिणी भेगमा गत वर्षको अक्टोबर ७ मा आक्रमण गरेर हमासले जोशीसहित विभिन्न मुलुकका करिब २५० जनालाई बन्धक बनाएर लगेको थियो । आक्रमणमा जोशीसँगै अलुमिम किबुजमा लुकेर बसेका अन्य १० नेपाली विद्यार्थी भने मारिएका थिए । हमासको आक्रमणमा परेर कैलालीका नारायणप्रसाद न्यौपाने र आशिष चौधरी, सल्यानका प्रवेश भण्डारी, बझाङका गणेशकुमार नेपाली, सुनसरीका राजेश स्वर्णकार, डोटीका पदम थापा र राजन फुलारा, दार्चुलाका लोकेन्द्र धामी र दीपेशराज विष्ट तथा धनुषाका आनन्द साहको निधन भएको थियो । हमासले गत वर्षको अक्टोबर ७ मा इजरायलमाथि आक्रमण गर्दा एक हजार २०० इजरायलसहित विभिन्न देशका नागरिक मारिएका थिए भने इजरायलले प्यालेस्टाइनमा आक्रमण गर्दा ४७ हजार नागरिकको मृत्यु भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच