
सनातन परम्परामा चार युगको चर्चा पाइन्छ । यी चार युगमा अनेक प्रकारका धर्मलाई स्थापित गर्ने भगवान्का अवतारहरू भए । ती अवतारले धर्मको रक्षा र अधर्मलाई नाश गरेका थिए । यही थियो मानव मान्यता पनि । गतिशील बनेको जीवनलाई र मानव सभ्यतालाई शास्त्रले अघि बढाएको हुन्छ । सनातन परम्पराका केही मान्यता आफ्नै छन् । ती मान्यतालाई हामी नेपाली सनातनीले अक्षरशः पालन गर्नुपर्ने देखिन्छ । यही आधारमा हाम्रो परम्पराले जीवन्तता पाएको हुन्छ । शास्त्रको पहिचान तिनको व्याख्यामा निहित रहेको पाइन्छ । शास्त्र कहिल्यै पनि असत्य हुन सक्दैन ।
शास्त्रमा बताइएका सबै कुरालाई मान्न सकिन्छ भन्ने आधार पनि छैन तर शास्त्रको अपव्याख्या र शास्त्रसम्मत तरिकाले जीवनको व्याख्या शास्त्रीय मान्यता हो । यो मान्यता कुल्चेर अघि बढ्ने व्यक्ति शास्त्रको मर्यादापालक हुन सक्दैन । यही मान्यतामा अडेको हाम्रो सनातन परम्परामा उपलब्ध शास्त्रको अपव्याख्या नै आजको समाजको ध्येय बनेर देखिएको छ ।
शास्त्र व्याख्यायित हुन्छ । शास्त्रको व्याख्यामा अध्ययनलाई प्राथमिकतामा राखिएको हुन्छ । शास्त्र र पुराणको व्याख्या पनि शास्त्रसम्मत हुनु अनिवार्य मानिएको छ । आजको समाजका मानिस सामाजिक कार्य र धर्मकर्ममा विश्वासले भरिएका छन् । आस्थाका पर्खाललाई भत्काउने तरिकाले गरिने व्याख्याले भने शास्त्रको ढाड भाँचिएको छ ।
शास्त्रको व्याख्यालाई जीवनको मोडमा बाहिर ल्याउने आधार हो अध्ययन हो । अध्ययनका माध्यमबाट शास्त्रको सही व्याख्या आजको समाजले गर्न सकेन । शास्त्रमा भएका सन्दर्भलाई अपव्याख्याका माध्यमबाट जनसामु ल्याउने र शास्त्रलाई समेत मागी खाने भाँडो बनाउने पद्धति आजको समाजमा देखिएको अस्वस्थता पनि हो । यही अस्वस्थतामा रमेको छ समाजको सामाजिक व्यवस्था । मानिसको भावना उसको पहिचानसित जोडिएको छ । आज मानिसले आफ्नो पहिचानलाई नै समाप्त पारेको देखिन्छ । त्यसैले आजको समाज कलियुगमा रमेको छ । शास्त्रको व्याख्यालाई अपव्याख्याको माध्यमबाट बाहिर ल्याएको छ । यसैमा रमेको छ समाज पनि । आजको समाजलाई गतिशील तुल्याउने आधारमा रमेको यो समाजलाई सही दिशानिर्देश गर्ने आधार हुन् हाम्रा धर्मशास्त्र ।
कलियुग
माघ महिनाको शुक्लपक्षको पूर्णिमा तिथि शुक्रबारका दिन कलियुगको आरम्भ भएको हो । यो युगको समय चार लाख बत्तीस हजार वर्ष मानिएको छ । आज कलियुगको समयमा देखिएको शास्त्रको अपव्याख्याले हामी सनातनीलाई गिज्जाइरहेको छ । कलियुगको सन्दर्भलाई लिएर श्रीमद्भागवत पुराण भन्छ :
अवृत्यान्यायदौर्बल्यं पाण्डित्ये चापलं वच
जो धन खर्च गर्न वा घुस दिन सक्दैन उसले न्यायालयबाट न्याय पाउँदैन । बोलचालमा जो व्यक्ति चलाख छ उसलाई नै सबैभन्दा ठूलो पण्डित मानिनेछ । यो भागवत पुराणको बाह्रौँ स्कन्धको दोस्रो अध्यायको चौथो श्लोक हो । यो पद्यले भनेको कुरा आजको समाजमा सत्य सावित भएको छ । यो सत्यलाई आजको मानिसले अथवा भनौँ हामी गणतन्त्रवादीले अस्वीकार गर्न सक्दैनौँ । मानिस आज आफूलाई केन्द्रमा राखेर अघि बढेको छ । समाजका सामाजिक संरचना जसले हामीलाई र हाम्रा परम्परालाई बाँधेका छन् तिनलाई भत्काउन आजको मानिस उद्दत देखिएको छ ।
हाम्रो समाजको सामाजिक संरचना ‘वसुधैव कुटुंवकम्’ संसारमा रहेका सबै प्राणी मेरा आफन्त हुन् । पिता, माता, गुरु र अतिथिलाई देवता मान्ने परिस्थितिमा विद्यमान् रहेको समाज हो । आज यो समाजको सामाजिक संरचना भत्किएको छ । मानिस नितान्त आफ्नो स्वार्थमा केन्द्रित देखिएको छ । यो अवस्था आउनुमा हामी समयको माग भनेर तर्किने अवस्थामा छैनौँ । समय परिवर्तनशील छ । समयसित समाजका यावत् कुराहरू परिवर्तनको अवस्थामा रहेका हुन्छन् । यो पनि सत्य हो । त्यो सत्यसित गतिशील हुने मानिसको भावनामा परिवर्तन किन आयो ? यो नै आजको मानिससित भएको मुख्य समस्या हो । यही समस्यासित जुधेको छ आजको समाज पनि ।
दाक्ष्यं कुटुम्बभरणं यशोद्रर्थे धर्मसेवनम्
चतुरता नै योग्यताको सबैभन्दा ठूलो लक्षण हुनेछ भने मानिस आफ्नाको पालनमा सदा समर्पित रहनेछ । यसका साथै यशको प्राप्तिका लागि मानिसले धर्मको सेवन गर्नेछ । यो आजको समाजको सामाजिक संरचना हो । यही संरचनामा बाँचेको छ आजको मानिस । यो पुराणमा वर्णन गरिएको कलियुगको सामान्य लक्षण हो । यही समाजमा बाँचेका छौँ हामी । यो समाज हो आजको समाज तर मानिसले आफूलाई मात्र चिनेको छ । आफन्तलाई चिनेको छ । आफन्तमा पनि पितामातालाई आजको मानिसले चिनेको छैन । यही हो आजको समाजको परिवेश पनि । आजको मानिस आफूले गरेको धर्मलाई पनि प्रचारका माध्यमबाट बाहिर ल्याउने प्रयासमा लागेको छ ।
धनआर्जनको ध्येय नै आजको समयमा धर्म बनेको देखिएको छ । यस्तो अवस्था आउनुमा कलियुग कारण हो । हाम्रा परम्परा र हाम्रो सनातन अव्याख्येय छ । व्याख्या गर्न नसकिने अवस्थामा छ । शास्त्रले भनेका सबै सन्दर्भ र तिनले दिने आधार आजको मानिसका लागि मानवीय सन्दर्भले भरिएका छन् । तिनको अपव्याख्यामा आजको समाज रमेको छ । रमाउनु मानिसको कर्म हो तर रमाउने सन्दर्भमा हाम्रा परम्परालाई नै अपव्याख्या गरिन्छ भने त्यो रमाउनुलाई रमाउनु भनिँदैन । यही अपव्याख्यालाई रोक्नु आजका सनातनीको सबैभन्दा ठूलो चुनौती हो ।
अपव्याख्या नगरौं
शास्त्र व्याख्यायित हुन्छ । शास्त्रको व्याख्यामा अध्ययनलाई प्राथमिकतामा राखिएको हुन्छ । शास्त्र र पुराणको व्याख्या पनि शास्त्रसम्मत हुनु अनिवार्य मानिएको छ । आजको समाजका मानिस सामाजिक कार्य र धर्मकर्ममा विश्वासले भरिएका छन् । धर्मप्रति आस्था नभएको पनि होइन तर आस्थाका पर्खाललाई भत्काउने तरिकाले गरिने व्याख्याले शास्त्रको ढाड भाँचिएको छ । शास्त्र र पुराणको व्याख्या गर्ने आधारमा सबैभन्दा पहिले अध्ययन हो । तीन महिने अध्ययनबाट व्यासपीठमा बसेर प्रवचन गर्नुलाई पक्कै पनि गतिलो मान्न सकिँदैन । हाम्रा हरेक पुराण व्याख्यायित छन् ।
व्याख्यालाई प्रवचनको माध्यममा ढाल्नु नराम्रो होइन तर प्रवचन गर्ने व्यक्ति वा व्यासपीठमा विराजमान हुने व्यक्ति भने अध्ययनको फराकिलो फाँटमा विचरण गरेको हुनुपर्दछ । स्मृतिशास्त्रको जानकार, विभिन्न पुराणको अध्ययनकर्ता, रामायण, महाभारत र गीताको ज्ञाता हुनु अनिवार्य मानिएको छ । भागवत् पुराणमा नै वक्ताको परिचयलाई यसरी उल्लेख गरिएको छ
विरक्तो वैष्णवो विप्रो वेदशास्त्रविशुद्धिकृत
दृष्टान्त कशलो धीरो वक्ताकार्योद्रतिनिःस्पृह ।।
वेदको स्पष्ट व्याख्या गर्न समर्थ, विभिन्न दृष्टान्तबाट सम्झाउन सक्ने क्षमता भएको, विवेकी, विष्णुको भक्त र ब्राहृमण नै व्यासपीठमा आसीन हुने अधिकारी हो । पुराणले वक्ताको निर्णय स्पष्ट रूपमा गरेको छ । यही हो पुराणका अनुसार व्यासपीठमा बस्ने अधिकारी पनि । आजको समाजमा यस्तो अवस्था देखिएन । अठार पुराण र अठार उपपुराणको सङ्ख्या उल्लेख गरिएको छ । आजको समाज श्रीमद्भागवत महापुराणमा विश्वास गर्दछ । श्रीमद्भागवत महापुराणलाई मोक्षशास्त्र पनि मानिएको छ । मृत्यु भयबाट मुक्त गराउन सक्ने आधार उक्त महापुराणमा रहेको छ ।
हाम्रा शास्त्रले मानिसलाई मोक्षको स्थानमा पुर्याउन सक्छन् । ब्रहृमरात (शुकदेव) जस्तो वक्ता र विष्णुरात (परीक्षित) जस्तो श्रोता अनिवार्य मानिएको छ । शास्त्रको अपव्याख्या भनेको शास्त्रलाई बलात्कार गर्नु हो । शास्त्रको अपव्याख्या नगरौँ । अध्ययन गरौँ । एक वर्ष वृन्दावनमा बसेर गरिएको अध्ययनले पुराणवाचक बन्न सकिँदैन ।
उक्त पुराणले अभिमन्युपुत्र परीक्षितलाई मृत्यु भयबाट मुक्त गरेको थियो । उक्त पुराणका वक्ता शुकदेव थिए भने श्रोता हस्तिनापुरका नरेश परीक्षित थिए । आज आएर यो पुराण लोकप्रिय पुराण बनेको छ । संस्कृत शिक्षा नपाएको, औपचारिक रूपमा शिक्षा नपाएको व्यक्ति पनि आज श्रीमद्भागवतको वाचक बनेर व्यासपीठमा बसेको देख्दा अनौठो लाग्दछ ।
सामान्यतः दुई वा तीन महिना वा वर्ष दिनमा श्रीमद्भागवत महापुराणको अध्ययन गर्न सम्भव छैन । संस्कृत व्याकरणको अध्ययन नगरेको, श्लोकको पदविच्छेद गर्न नसक्ने अवस्थामा भागवतको व्याख्या सम्भव पनि छैन । आज अग्लो आसन जमाएर भागवत पुराणको वाचन गरेको सुन्दा पुराणको नै अपव्याख्या भएको देखिन्छ । एउटा श्लोक उच्चारण गर्न नसक्ने उच्चारण गरे पनि दश स्थानमा गल्ति गर्ने प्रवृत्तिले आज पुराणको अपव्याख्या भएको अड्कल काट्न सकिन्छ । शास्त्रलाई मनन गरौँ । शास्त्रमा दिइएका पद्यको सही व्याख्या गरौँ । शास्त्रलाई नाचेर मनोरञ्जनको साधन नबनाऔँ ।
मानिस आस्थामा विश्वास गर्दछ । हाम्रा शास्त्रले दिएका मान्यतामा आफूलाई तरोताजा बनाउन चाहन्छ । आफ्ना पितृको उद्दार चाहन्छ । यजमानका पितृको उद्दारमा खटिने व्यास भने शास्त्रको ज्ञाता हुनु अनिवार्य मानिन्छ । नृत्य गराएर शास्त्रको व्याख्या हुँदैन । त्यसैले सोचौँ । अध्ययन गरौँ । मनन गरौँ । शास्त्रका बारेमा जानकार बनौँ र व्यासपीठबाट उपदेश दिने गरौँ । सामान्य जानकारीका भरमा पुराण वाचक बनेर विभिन्न उपाधिबाट अलङ्कृत भएको ढोङ रचेर शास्त्रको अपव्याख्या नगरौँ ।
हाम्रा शास्त्रले मानिसलाई मोक्षको स्थानमा पुर्याउन सक्छन् । ब्रहृमरात (शुकदेव) जस्तो वक्ता र विष्णुरात (परीक्षित) जस्तो श्रोता अनिवार्य मानिएको छ । शास्त्रको अपव्याख्या भनेको शास्त्रलाई बलात्कार गर्नु हो । शास्त्रको अपव्याख्या नगरौँ । अध्ययन गरौँ । एक वर्ष वृन्दावनमा बसेर गरिएको अध्ययनले पुराणवाचक बन्न सकिँदैन । यो सत्य हो । यो सत्यबाट नभागौँ । अध्ययनलाई प्राथमिकतामा राखौँ । यो आलेखको उद्देश्य कसैलाई चोट पुर्याउनु होइन । धार्मिक टेलिभिजनबाट श्रवण गरिएका विभिन्न भागवतवाचकले गरेका शास्त्रको व्याख्यालाई आधार मानेर लेखिएको हो ।
आस्था, विश्वास र श्रद्धामा चोट पुर्याउने उद्देश्य पनि होइन । शास्त्र, पुराण, स्मृति आदिको अपव्याख्याले समाज दिग्भ्रमित नहोस् भन्ने उद्देश्य हो । शास्त्रको व्याख्यामा गरिएका यी आधार नै कलियुग हो कि ? भन्ने भावलाई बाहिर ल्याइएको मात्र हो । कलियुगमा बाँचेर पनि शास्त्रको व्याख्यालाई भावनासित जोडेर होइन शास्त्रवचनसित जोडेर हेरौँ । यही कामना । अस्तु ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच