नराम्रो गर्ने छुट कसैलाई छैन : डीआइजी कार्की

अविजित पन्थी
Read Time = 4 mins

अर्घाखाँची । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआइजी) दानबहादुर कार्कीले गुण्डागर्दी, चोरी, अवैध निकासी, जुवातास, हिंसालगायतका गैरकानूनी गतिविधिविरुद्ध नेपाल प्रहरीले कठोर रूपमा प्रस्तुत हुने बताउनु भएकाे छ ।

शुक्रबार जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीअन्तर्गत बल्कोटमा निर्माण सम्पन्न भएको बल्कोट प्रहरी चौकी भवनको उद्घाटन गर्दै उहाँले समाजमा हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्न प्रहरी अझ कडाइका साथ प्रस्तुत हुने स्पष्ट पार्नुभयाे ।

प्रहरी नायब महानिरीक्षक कार्कीले नियम कानुनविपरीतका कार्यहरू नियन्त्रण गर्न प्रहरी संगठनले शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताउनुभयाे । "प्रहरी राम्रो काम गर्नका लागि हो, नराम्रो गर्ने छुट कसैलाई छैन," उहाँले भन्नुभयाे ।

लुम्बिनी प्रदेश प्रहरी प्रमुख कार्कीले समुदाय-प्रहरी साझेदारी कार्यक्रममार्फत नागरिकहरूसँग सहकार्य गरी विकासका गतिविधिलाई प्रवर्द्धन गर्ने नेपाल प्रहरीको उद्देश्य रहेको बताउनुभयाे । समुदाय-प्रहरी साझेदारीअन्तर्गतको सहकार्यमा सुरक्षालगायतका विभिन्न जनचेतनामूलक गतिविधिहरू सञ्चालन गरी समाजमा शान्तिसुरक्षा कायम गर्न नेपाल प्रहरी प्रतिबद्ध रहेको उहाँले उल्लेख गर्नुभयाे ।

नयाँ भवन सञ्चालनमा आएसँगै प्रहरी सेवामा थप नवीनता, व्यावसायिकता र ऊर्जाशीलता आवश्यक रहेको बताउँदै उहाँले नागरिकको सुरक्षामा अझ बढी मेहनत गर्नुपर्नेमा जोड दिनुभयाे । डीआइजी कार्कीले स्थानीयवासीहरूले भयमुक्त वातावरणमा आफ्नो दैनिक क्रियाकलाप, उद्योग, व्यापार, रोजगार तथा व्यवसाय सञ्चालन गर्न पाउने व्यवस्था गर्न प्रहरी अहोरात्र कटिबद्ध रहने बताउनुभयाे ।

त्यस्तै, समाजमा अशान्ति र अराजकता फैलाउने अपराधीहरू, सामाजिक हित विपरीतका गैरकानूनी तथा अनैतिक कार्य गर्नेविरुद्ध कठोर रूपमा प्रस्तुत हुन उहाँले निर्देशन दिनुभयाे । नागरिकहरूसँगको उचित समन्वय तथा सहकार्यले अपराध नियन्त्रण गर्न सहज हुने उल्लेख गर्दै डीआइजी कार्कीले समुदायलाई प्रहरीसँग निरन्तर सम्पर्कमा रहन आग्रह गर्नुभयाे ।

"अपराध नियन्त्रण गर्ने प्रमुख उपाय भनेकै सही सूचना हो । जुन सूचना नागरिकसँग हुन्छ, त्यसलाई समयमा प्रहरीलाई उपलब्ध गराइयो भने अनुसन्धान गर्न सजिलो हुन्छ र अपराध न्यूनीकरण गर्न सहयोग पुग्छ," उहाँले भन्नुभयाे ।

कार्यक्रममा छत्रदेव गाउँपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल, जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख चक्रबहादुर मल्ल, पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष गणेश खनाललगायतले शुभकामना मन्तव्य राख्नुभएकाे थियाे ।

बल्कोट प्रहरी चौकीको भवन रञ्जित रञ्जन कन्स्ट्रक्सनले २ करोड ९२ लाखको लागतमा निर्माण सम्पन्न गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?