स्याङ्जा । स्याङ्जा जिल्ला सदरमुकाम स्याङ्जा बजारमा फोटो व्यवसायी, स्टेशनरी पसल, अनलाइन व्यवसायी तथा लेखापढी व्यवसायीहरुबाट उपभोक्ता ठगिन थालेको गुनासो बढ्न थालेको छ । सदरमुकामस्थित विभिन्न स्टेसनरी तथा फोटो स्टुडियोहरुमा फोटो खिचेको तथा अन्य अनलाइन फर्महरु भरेको मनपरि शुल्क लिने गरेको उपभोक्ताहरुको गुनासो छ ।
स्याङ्जा वालिङ ३ पित्लेकका तिलक गुरुङ एक कपी रङ्गीन फोटोको एउटा पसलमा ३०० रुपियाँसम्म भनेपछि अति महङ्गो भएको ठानी अर्को पसलमा गए । अर्को पसलमा त्यही साइज र गुणस्तरको कलर फोटोको एक कपीलाई १०० रुपियाँ भनेपछि उनलाई त्यो पनि अस्वभाविक लाग्यो र अर्को स्टुडियोमा एक कपीको ५० रुपियाँमा कलर फोटो निकाले । उनले एउटै गुणस्तरको फोटोका लागि ३ वटा पसलमा ३ थरि मूल्य भएको भन्दै उपभोक्ता मारमा परेको बताए ।
स्याङ्जामा धेरैजसो फोटो स्टुडियो पसलहरुमा मूल्य सूची नटाँसिएको तथा आ-आफ्नो हिसाबले उपभोक्ता हेरी पैसा लिने गरेको गुनासो बढिरहेपछि जिल्ला प्रशासन कार्यालयले शुक्रबार व्यवसायीलाई प्रशासनमा बोलाएर छलफल गरेको छ ।
प्रमुख जिल्ला अधिकारी सुनिता नेपालको संयोजकत्वमा बसेको उक्त बैठकमा सप्रजिअ दीपक पौडेल, प्रहरी प्रमुख प्रहरी उपरीक्षक शालिग्राम शर्मा, पत्रकार महासङ्घ स्याङ्जाका अध्यक्ष प्रदीप कोइराला, उपभोक्ता मञ्चका अध्यक्ष राजेन्द्र मरासिनी, क्रियाशील पत्रकारहरु, स्याङ्जा सदरमुकाम तथा पुतलीबजारका फोटोग्राफर व्यवसायी, लेखापढी व्यवसायी, अनलाइन तथा साइबर व्यवसायीहरुसहितको सहभागिता थियो ।
बैठकले व्यवसायीहरुलाई ३ दिनभित्र मूल्य सूची पसलमा देखिने ठाउँमा टाँस्न तथा दर्ता नभएका कारोबारको १० दिनभित्र दर्ता गरी जिल्ला प्रशासनमा जानकारी दिनुपर्ने निर्णय गरेको छ । त्यस्तै बजार अनुगमनलाई तीव्रता दिने तथा अनुगमनका क्रममा दर्ता नगरी तथा मूल्य सूची नटाँसी व्यवसाय सन्चालन गरेको पाइएमा कानुनअनुसार कारबाही गर्ने निर्णय गरेको छ ।
बैठकले भित्री सडकखण्डमा सञ्चालन हुने यातायात व्यवसायीहरुले आफ्नो सवारी साधनमा सबैले देख्ने गरी भाडादर टाँस्नुपर्ने र त्यसको प्रशासनले नियमन गर्ने विषयमा समेत निर्णय गरेको छ ।
लेखापढी व्यवसायीहरुले पनि सेवाग्राहीसँग अस्वभाविक मूल्य लिने गरेको गुनासो आफूलाई प्राप्त भएको उपभोक्ता मञ्चका अध्यक्ष राजेन्द्र मरासिनीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले पटक पटक मूल्य सूची टाँस्न आग्रह गरेका हौं । तर पनि त्यसलाई कतिपय व्यवसायीहरुले बेवास्ता गरिराख्नुभएको छ । अब अनुगमन गरी प्रशासनको निर्देशन पालना नगरे नियमानुसार कारबाही गर्नुपर्छ ।’
बैठकपछि प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले अस्वभाविक तथा वास्तविक मूल्यभन्दा बढी मूल्य लिने तथा मूल्य सूची नटाँस्ने र दर्ता नगरी व्यवसाय सञ्चालन गर्नेहरुले प्रशासनले दिएको म्यादभित्र कामकारबाही अगाडि नबढाए नियमानुसार कारबाही हुने बताउँदै उपभोक्ताहरुको अधिकारप्रति आफू सचेत रहेको बताउनुभयो ।
पत्रकार महासङ्घ स्याङ्जाका अध्यक्ष प्रदीप कोइरालाले अस्वाभाविक दर रेटका कारण स्याङ्जामा उपभोक्ताहरु मर्कामा परेको हुनाले प्रशासनले मूल्य सूचीमात्र नमागी अनुगमन र कारवाहीलाई समेत जोड दिनुपर्ने बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच