
काठमाडौं । अरुणोदय माध्यमिक विद्यालय चरम्बी भोजपुरको ६०औँ वार्षिकोत्सवका अवसरमा प्रकाशित अरुणोदय स्मारिका २०८१ लोकार्पण गरिएको छ । शुक्रबार राजधानीमा आयोजित विशेष समारोहमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विद्यालयको इतिहास, यात्रा संघर्ष र भावी कार्यदिशा समेटिएको दस्तावेज लोकार्पण गर्दै देश विकासको मेरुदण्ड शिक्षा नै भएकाले शिक्षा विकास अबको मुख्य प्राथमिकता हुनुपर्ने बताउनुभयो । पछिल्लो समय नेपालको शिक्षा क्षेत्र बरालिएको महसुस हुन थालेको भन्दै उहाँले शिक्षा राष्ट्र निर्माणको मूल खम्बा हुनुपर्नेमा जोड दिनुभयो ।
माध्यमिक तह पास गरिसकेपछि विदेश अध्ययनका लागि विद्यार्थी जाने वातावरण अन्त्य गर्न स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न सक्नुपर्ने भन्दै पूर्वराष्ट्रपति भण्डारीले अरुणोदय मावि नमुना विद्यालयका रूपमा स्थापित भएको बताउनुभयो । उच्च शिक्षा पूरा गर्न नपाउँदै विदेशिनेको लर्को लागिरहेको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उहाँले भन्नुभयो, ‘अहिले हाईस्कुल पास गरेपछि हाम्रो नयाँ पुस्तालाई हामीले देशमा आकर्षित गर्न अलि गाह्रो परिरहेको तथ्यहरूले देखाइरहेका छन् । हिजो जुन आवश्यकताले हाईस्कुलहरू वा स्कुलहरू गाउँमा खोलेका थियौँ, अहिले तिनीहरू शून्य-शून्य जस्तो हुँदैछन् ।’
स्मारिकाका प्रधानसम्पादक देवीप्रसाद घिमिरेले सञ्चालन गरेको कार्यक्रममा देशका उच्च ओहोदामा पुगेका विद्यालयका विभिन्न पूर्वविद्यार्थीलाई सम्मानसमेत गरिएको थियो । अरूणोदयका पूर्वविद्यार्थीहरू सचिव लोकराज पराजुली, फ्रान्सका लागि पूर्वनेपाली राजदूत दीपक अधिकारी, पूर्वअतिरिक्त महानिरीक्षक भीमप्रसाद ढकाल, उपसचिव योगेश पराजुलीलगायतलाई अरूणोदय गौरव सम्मान गरिएको थियो । हालै प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवा हुनुभएका पूर्वविद्यार्थी प्रभुप्रसाद ढकाललाई पनि सम्मान गरिएको थियो ।
कोशी प्रदेश, भोजपुर जिल्लाको अरुण गाउँपालिका-४ चरम्बीमा रहेको अरुणोदय माविले स्थापनाको ६०औँ वर्ष पूरा गरेको अवसरमा ‘इतिहासको अभिलेखन, भविष्यको मार्गदर्शन’ भन्ने मूल उद्देश्य राखेर पाँच सय १२ पृष्ठको स्मारिका प्रकाशन गरेको हो । विभिन्न चार खण्डमा विभाजन गरी विद्यालय स्थापनाको पृष्ठभूमि, विकास र विस्तारको क्रमसँगै पूर्वविद्यार्थी, पूर्वशिक्षक, स्थानीय अग्रज, शिक्षासेवीसहित सयभन्दा बढीको अनुभव समेटिएको स्मारिका प्रधानसम्पादक देवीप्रसाद घिमिरेको नेतृत्वमा परमेश्वर अधिकारी, दीपक आचार्य, देवीचरण घिमिरे, गुणराज पराजुलीले सम्पादन गर्नुभएको विद्यालयले जनाएको छ । स्मारिका आगामी पुस्ताका लागि मार्गदर्शक बन्ने प्रधानाध्यापक माधवप्रसाद पराजुलीले बताउनुभयो । राणा शासनकालमै अनौपचारिक पाठशालाका रूपमा सुरु भई २०१० सालमा अरुणोदय अपर प्राइमरी स्कुलका नाममा प्राथमिक तहको अनुमति प्राप्त गरेको सो विद्यालय २०२२ सालमा माध्यमिक तहमा स्तरोन्नति भएको थियो । हाल सो विद्यालयमा कक्षा १२ सम्मको पठनपाठन हुँदै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच