
नेपाली नेताहरूमा प्रायः सबैजसोमा द्वैध चरित्र विद्यमान भएको पाइन्छ । यसले गर्दा कुनै नेताको कस्तो अडान छ कस्तो प्रकारको राजनीतिक विचार र सिद्धान्त छ भन्ने कुराको स्पष्ट रूप देख्न पाइँदैन । नेताहरूको संलग्नता, संबद्धता रहेका पार्टीहरूको राजनीतिक विशेषता एकातिर रहेको हुन्छ तर तत्कालको स्वार्थले गर्दा राजनीतिक विचार एकदमै फरक भएका पार्टीहरूसँगको निकटता र निकटका विचारका पार्टीहरूसँग टाढा रहने प्रवृत्तिका कारण उहाँहरूमा कुनै राजनीतिक अडान रहेको देख्न पाइँदैन । हालै नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू प्रतिपक्षमा पुग्नासाथ आफू सरकरामा रहेका बेला सुशासन कायम भएको र वर्तमान सरकारले सुशासन कायम गर्न नसकेको अभिव्यक्ति दिइरहनुभएको छ ।
तर, अर्कातिर सुशासनकै विरुद्ध हुनेगरी भ्रष्ट व्यक्तिहरूलाई अँगालो हाल्ने गर्नुभएको पनि छ । हुन त यस्तो दोहोरो चरित्र उहाँ एकजनाको मात्र होइन सबै पार्टीका अधिकांश नेताहरूमा यस्तो प्रवृत्ति पाइन्छ । पार्टी फेरिने सरकारमा कुनै दल पुग्ने र दलको निश्चित नेताहरू प्रधानमन्त्री मन्त्री जस्ता पदमा रहने गर्दा पनि यस्तो ‘डबल स्ट्यान्डर्ड’ देखिने गरेको छ । पश्चिमा देशहरूमा र हाम्रै छिमेकी देशहरूमा समेत सरकार बदलिन्छ फरक पार्टी सरकारमा पुग्छ तर विदेश नीतिलगायत केही नीतिगत विषयमा सबैको एउटै धारणा रहन्छ । आन्तरिक विषयमा भने केही सामान्य फेरबदल गर्ने गरिएको पाइन्छ ।
हाम्रोमा भने यस्ता विषयमा सरकार फेरिनासाथ अघिल्लो सरकारले गरेका सबैजसो निर्णय खारेज गर्ने र आफ्ना सिद्धान्त लाद्ने गरिन्छ । यसो गर्दा प्रतिपक्षमा रहेका बेला राख्ने गरेका विचार र धारणा केही समयपछि नै सरकारमा जानासाथ ठ्याक्कै फरक हुनेगरी फेर्ने गरेको पाइन्छ । यसले गर्दा बोली र व्यवहारमा समानता पाइँदैन । यो सबै पार्टीहरूमा राजनीतिक अवगुणका रूपमा रहँदै आएको छ । सरकारलाई खबरदारी गर्ने सरकारले बाटो बिराउन लागेको बेला सचेत गराउने र सरकारले प्रतिपक्षलाई पेलेर लान लागेका बेलामा त्यसको विरोध गर्ने काम प्रतिपक्षको हो ।
सरकार पक्षले पनि प्रतिपक्षका सही सुझावलाई स्वीर्कानुपर्छ तर हाम्रोमा राजनीतिक संस्कार राम्ररी विकास भइनसकेकाले हुनसक्छ यस्तो परम्परा विकास हुनसकेको छैन । प्रतिपक्षले सरकारको समर्थन र विरोध गर्नका लागि छायाँ सरकार बनाएको हुन्छ । सरकारका मन्त्रालयहरू भएजस्तै छायाँ सरकारले पनि एक–एकवटा मन्त्रालयको जिम्मेवारी लिएर त्यस विषयमा सरकारका मन्त्रीहरूलाई सचेत गराउन सक्छ । आजको सरकार भोलिको प्रतिपक्ष र प्रतिपक्ष भोलिको सरकार पनि हो । त्यसकारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीतिहरूमा सरकार बदलिँदैमा त्यत्रो ठूलो फरक पर्नुलाई अस्वाभाविक मानिन्छ । हाम्रोमा भने यस्तो परम्परा विकास हुनसकेको पाइँदैन । त्यसैले सरकारमा छँदा र प्रतिपक्षमा छँदा नेताहरूको फरक–फरक धारणा आउने गरेको हो ।
जो जति नै भ्रष्ट होस् र अनेकौं अपचलन, भ्रष्टाचार, तस्करी जस्ता बद्नाम हुने र कानुनी रूपमा अपराध मानिने कार्यमा मुछिएको व्यक्ति भए पनि शीर्ष नेताहरूसँगको साँठगाँठ तथा आर्थिक चलखेलका कारण राम्रो मान्छे नराम्रो र नराम्रो मान्छे राम्रो मानिने गरेको छ । यही क्रममा हिजो आफू सरकारमा छँदा जुन कुरालाई राम्रो मानेर अँगाल्ने गरेका थियो आज सरकारबाट हट्नासाथ त्यही कुरा नराम्रो भनेर विरोध गर्ने प्रवृत्ति राजनीतिमा विद्यमान छ जुन राजनीतिक स्थायित्वका लागि हानीकारक छ । राजनीतिमा आलोचना ग्राहृय विषय हो तर त्यो जायज हुन सक्नुपर्छ । दलबदल गर्ने नेताहरूमा यस्तो प्रवृत्ति व्यापक छ । स्वर्णीम वाग्लेले नेपाली कांग्रेसमा रहुन्जेल जुन कुरालाई जायज देख्नुभएको थियो त्यही कुरालाई राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नासाथ गलत देख्नुभयो ।
यो त एउटा दृष्टान्तमात्रै हो । यस्ता दृष्टान्त अनेकौं छन् । नेपाली राजनीतिमा स्वच्छता कायम हुन नसक्नुमा यस्तै प्रवृत्ति कारक भएर आएका छन् । प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले संसद्मा आफ्नो पार्टी सरकारमा रहेको बेला सुशासन कायम गरेको थियो तर वर्तमान सरकार भने भ्रष्टाचारीलाई धुने र चोख्याउने डिटर्जिन र सुनपानी बनेको बताउनुभयो । तर, उहाँले पनि बद्नाम मानिसहरूलाई अँगालो हालेका अनेकौं सन्दर्भ जोडिन आउँछन् । यसले गर्दा सबैले म मात्र राम्रो हुँ र अरू सबै खराब छन् भन्ने ठानेका हुन्छन् भन्ने सिद्ध हुन आउँछ । यो सबै पार्टीमा विद्यमान दुर्गुण हो ।
यो पार्टी चाहिँ राम्रो छ र यसले मात्र देश चलाउन सक्छ अनि यी यी पार्टीहरू सही छैनन् र तिनको अक्षमताले देश बिगार्छ भन्ने होइन, सबै पार्टी सक्षम छन् र नेताहरू पनि योग्य छन् तर तिनमा लोभलालच छ र भ्रष्ट मानसिकता छ । तिनले आफ्नो प्रवृत्ति बिगार्ने गरेका छन् । उनीहरूले काखी च्यापेको र अँगालो हाल्ने गरेका मानिसहरू गलत मनोवृत्तिका छन् । त्यतिमात्र नहुने हो भने पार्टीहरू, नेताहरू र राजनीतिको गोरेटो निर्मल बन्न सक्छ । तर, कुरो यत्ति हो कि के नाताहरूले यस्ता कमजोरी हटाउन सक्लान् त ? सजिलै हटाउन मुस्किल छ तर उहाँहरूले त्यस्ता गलत मनोवृत्तिलाई हटाउन सक्नुपर्छ । होइन भने यो देश र यस देशका नागरिकले सधैंभरि आजकै जस्तो प्रतिकूल राजनीतिक परम्पराको शिकार भइरहनुपर्ने हुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच