
काठमाडौं । २७ वर्षपछि दिल्लीमा भारतीय जनता पार्टी (भाजपा)ले पुनरागमन गरेको छ । भारतको संघीय राजधानीबाट नयाँ शक्तिको रूपमा उदाएको आम आदमी पार्टी (आप)ले सर्मनाक हार व्यहोरेको छ । सन् २०१५ मा भएको दिल्ली चुनावमा ७० सिटमा ६७ स्थान र सन् २०२० कोे चुनावमा ६२ सिट ल्याएको आपले यसपटक ठूलो हार व्यहोर्नुपरेको हो । आपको लज्जास्पद हारमा धेरै शीर्ष नेताहरू पराजित भएका छन् । शनिबार सार्वजनिक भएको अन्तिम मत परिणामअनुसार बिजेपीले ७० मध्ये ४८ सिटमा जित हात पारेको छ भने आम आदमी पार्टी २२ सिटमै खुम्चिएको छ । भारतको दोस्रो ठूलो पार्टी कांग्रेस भने दिल्ली विधानसभामा एकपटक फेरि जितविहीन बनेको छ । उसले दिल्लीमा एक सिट पनि जित्न सकेन ।
तीन करोडभन्दा बढी जनसंख्या भएको विशाल दिल्लीका जनताले यसपटक भाजपालाई आफ्नो मत दिएका छन् । विगत एक दशकको अधिकांश समय ‘करिस्मेटिक’ अरविन्द केजरीवाल र उहाँको आम आदमी पार्टी (आप)को शासन रहृयो । पूर्वमुख्यमन्त्री केजरीवाल नयाँदिल्ली सिटबाट पराजित हुनुभयो भने पूर्वउपमुख्यमन्त्री मनिष सिसोदियाले जंगपुरा सिटबाट हार बेहोर्नुभयो । यस्तै, आपका अर्का प्रभावशाली नेता सत्यन्द्र जैनले पनि चुनाव हार्नुभयो । तर, मुख्यमन्त्री आतिशी मार्लेनाले कालकाजी सिटबाट चुनाव जित्नुभएको छ । दिल्लीमा भाजपमा मुख्यालयमा कार्यकर्ताले विजयी उत्सव मनाएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले पार्टी हेडक्वार्टर पुगेर कार्यकर्तालाई सम्बोधन गर्नुभएको छ ।
केजरीवाललाई हराएका भाजपाका उम्मेदवार प्रवेश वर्माले शनिबार दिउँसो केन्द्रीय गृहमन्त्री अमित साहसँग भेट गर्नुभएको थियो । पश्चिम दिल्ली चुनाव क्षेत्रबाट लोकसभा सदस्य भइसक्नु भएका वर्मा पूर्वमुख्यमन्त्री साहिवसिंह वर्माका छोरा हुनुहुन्छ । साहिव सन् १९९६ बाट १९९८ मा भाजपाबाट दिल्लीको मुख्यमन्त्री हुनुभएको थियो । अब मुख्यमन्त्रीका लागि नरेन्द्र मोदीले कसलाई अघि सार्नुहुन्छ त्यो सबैको चासोको विषय बनेको छ । सन् २०२० मा भाजपाले केवल आठ सिट जितेको थियो । २०२५ मा आइपुग्दा ६ गुणा बढी सिट आफ्नो पोल्टामा पार्न सफल भएको छ । अर्थात् ४८ सिट जितेर सत्तामा बहुमतसहित फर्किन लागेको छ । केजरीवालको आम आदमी पार्टीका २० जना उम्मेदवारले जमानतसमेत जोगाउन सकेनन् ।
केजरीवाल रक्सी घोटालामा मुद्दा खेपिरहँदा त्यसको असर पार्टीमा देखिएको छ । ७० सिटका लागि फेब्रुअरी ५ (बुधबार) मतदान भएको थियो । दिल्लीमा सरकार गठनका लागि ३६ सिट आवश्यक पर्छ । भाजपाका तर्फबाट दिल्लीमा पछिल्लोपटक सन् १९९८ मा सुस्मा स्वराज मुख्यमन्त्री बन्नुभएको थियो । सन् १९९८ डिसेम्बर ३ मा मुख्यमन्त्री बन्नुभएकी शिला दीक्षितले तीन कार्यकाल चलाउनुभएको थियो । त्यसपछि केजरीवालले दुई कार्यकाल शासन गर्नुभयो ।
विकास र सुशासनको जित : मोदी
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्ली प्रान्तमा विकासको जित सुरु भएको बताउनुभएको छ । दिल्लीमा भाजपाले जित सुनिश्चित गरेपछि शनिबार मोदीले भन्नुभयो- ‘यो जित विकासको हो, सुशासनको जित हो ।’ प्रधानमन्त्री मोदीले दिल्लीको समग्र विकास सुनिश्चित गर्न र त्यहाँका बासिन्दाहरूको जीवन राम्रो बनाउन कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ । ‘हामी दिल्लीको समग्र विकास सुनिश्चित गर्न र त्यहाँका बासिन्दाहरूको जीवन राम्रो बनाउन कुनै कसर छोड्ने छैनौँ’ मोदीले भन्नुभएको छ ।
झुटा वाचा टिक्दैनन् : अमित शाह
दिल्ली विधानसभा चुनावमा भारतीय जनता पार्टीले कमब्याक गरेपछि केन्द्रीय गृहमन्त्री अमित शाहले प्रतिक्रिया दिनुभएको छ । उहाँले आम आदमी पार्टीलाई लक्षित गर्दै दिल्लीवासीले जनतालाई पटक-पटक झुटा वाचा गरेर भ्रमित गर्न सकिन्न भन्ने सन्देश दिएको टिप्पणी गर्नुभएको छ । शाहले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ, ‘जनताले आफ्ना मतमार्फत फोहोर यमुना, दूषित खानेपानी, बिग्रिएका सडकहरू, ओभरफ्लो हुने ढलहरू र प्रत्येक गल्लीमा खुलेका मदिरा पसलहरूको जवाफ दिएका छन् ।’ यस्तै, अमित शाहले अर्को पोष्टमा लेख्नुभएको छ, ‘दिल्लीवासीले झुट, धोका र भ्रष्टाचारको शीशमहललाई ध्वस्त गर्दै दिल्लीलाई ‘आप-दा’ मुक्त बनाउने काम गरेका छन् ।’ उहाँले अघि लेख्नुभएको छ, ‘दिल्लीले वाचा पूरा नगर्नेलाई यस्तो पाठ सिकाएको छ, जुन देशभर जनतासँग झुटा वाचा गर्नेहरूका लागि उदाहरण बन्नेछ । यो दिल्लीमा विकास र विश्वासको नयाँ युगको सुरुवात हो ।’
पार्टीकै नीति जिम्मेवार : अन्ना हजारे
भारतका चर्चित सामाजिक अभियन्ता अन्ना हजारेले दिल्ली विधानसभामा आम आदमी पार्टी (आप)को शर्मनाक पराजयका लागि पार्टीकै नीति जिम्मेवार रहेको टिप्पणी गर्नुभएको छ । हजारेले दिल्लीको मदिरा नीतिमा भएको कथित् घोटाला पनि पराजयको एउटा प्रमुख कारण भएको जिकिर गर्नुभएको छ । न्युज एजेन्सी एएनआईसँगको कुराकानीमा उहाँले चुनाव लड्नेको आचरण शुद्ध हुनुपर्ने बताउनुभएको छ । ‘मैले पहिले नै भनेको थिएँ कि चुनाव लड्ने उम्मेदवारको आचरण शुद्ध हुनु आवश्यक छ, विचार शुद्ध हुनुपर्छ, जीवन निष्कलंक हुनुपर्छ’ उहाँले भन्नुभएको छ, ‘र, अपमान सहन सक्ने क्षमता हुनुपर्छ । यदि यी गुणहरू उम्मेदवारमा छन् भने मतदातालाई यो व्यक्ति जनताको लागि केही गर्नेछ भन्ने विश्वास हुन्छ ।’
सत्ताका लागि राजनीतिमा आएका थिएनौँ, जनताको सेवा गरिरहन्छौँ : केजरीवाल
निर्वाचन पराजयपछि केजरीवालले हार स्वीकार गर्दै शनिबार एक भिडिओ वक्तव्य जारी गर्नुभएको छ । उहाँले जनताको निर्णय शिरोपर भन्दै हार स्वीकार गर्नुभएको हो । ‘दिल्लीको निर्वाचनको नतिजा आएको छ । जनताका जे निर्णय आएको छ हामी त्यसलाई विनम्रताका साथ स्वीकार गर्दछौँ, जनताको निर्णय शिरोपर,’ केजरीवालले भन्नुभएको छ । यस्तै, उहाँले जितका लागि भाजपालाई बधाई पनि दिनुभएको छ । ‘भारतीय जनता पार्टीलाई यस जितका लागि धेरै धेरै बधाई दिन चाहन्छु । म उमिद राख्छु कि जुन आशाका साथ जनताले भाजपालाई बहुमत दिएको छ, त्यसमा भाजपा पूरा उत्रनेछ ।’ जनताले पछिल्लो १० वर्ष आपलाई दिएको मौकामा आफूले दिल्लीमा धेरै काम गरेको पनि उहाँले दाबी गर्नुभएको छ । केजरीवालले भन्नुभएको छ, ‘अब जनताले हामीलाई जो निर्णय दिएका छन्, केवल रचनात्मक प्रतिपक्षको भूमिका मात्र निभाउने छैनौँ, समाजसेवा, जनताको सुख दुःखमा काम लाग्नेछौँ, किनकि हामी राजनीतिमा सत्ताका लागि आएका थिएनौँ । राजनीतिलाई हामी एक माध्यम मात्रै मान्दछौँ, जसको माध्यमले जनताको सेवा गर्न सकियोस्, जनताको सुख दुःखमा साथ दिन सकियोस् । जुन काम हामी गरिरहन्छौँ ।’ (एजेन्सीको सहयोगमा) ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच