
पाल्पा । पाल्पा र स्याङ्जाको सिमाना क्षेत्रमा पर्ने गुुल्मीको सुदूरपूर्वका नागरिकहरू इलाका प्रशासन नहुुँदा मर्कामा परेका छन् । कालीगण्डकी, सत्यवती, रुरुक्षेत्र, चन्द्रकोट, छत्रकोट र गुल्मी दरबार क्षेत्रलाई पायक पर्नेगरी इलाका प्रशासन कार्यालय नहुँदा यहाँका हजारौँ सर्वसाधारणले सास्ती खेप्नुपरेको छ । इलाका प्रशासन नहुँदा नागरिकता, राहदानी र अन्य सिफारिश बनाउन चारदेखि सात घण्टा लगाएर ८० किलोमिटर टाढा सदरमुकाम तम्घास धाउनुपर्ने बाध्यता यहाँका नागरिकलाई रहेको छ । अझ त्यहाँ पुग्दा पुग्दै टोकन सकिने र सेवा लिनका लागि अर्को दिनसम्म कुर्नैपर्ने सेवाग्राहीको गुनासो छ । तम्घासस्थित जिल्ला प्रशासन कार्यालयमा भेटिनुुभएका कालीगण्डकी गाउँपालिका–७ का रमेश विश्वकर्माले राहदानी बनाउन दुई दिनदेखि सदरमुकाममा रहेको बताउनुुभयो । उहाँले भन्नुभयो, ‘बिहान झिसमिसेमै छापचौरबाट जिप चढेर कार्यालय समयमै प्रशासन आएको हुँ, घण्टौँ लाइनमा बसेँ तर दिउँसो १ नबज्दै आजको टोकन सकियो ।’ सोही दिन काम नभएपछि उहाँ सदरमुकाममै बास बस्नुपर्यो । ‘एक/दुई घण्टामै हुने कामका लागि पनि दुुई/तीन दिन कुुर्नुपर्ने बाध्यता छ,’ उहाँले भन्नुभयो ।
नागरिकता बनाउन आउँदा नै चार÷पाँच हजार खर्च भइसकेको अर्का सेवाग्राही सत्यवती गाउँपालिका हसराका विष्णु भण्डारीले बताउनुुभयो । नागरिकताको लागि प्रशासनको गेट नजिकैको लाइनमा भेटिनुभएका उहाँले गाडी भाडा, खाजाखर्च गरी चार÷पाँच हजार रुपैयाँ खर्च भएको बताउनुभयो । ‘समय खर्च भएको हिसाब छैन । गाडीभाडा, खाजाखर्च मात्र पाँच हजार रुपैयाँ भइसक्यो,’ भण्डारीले भन्नुभयो, ‘गाउँमै प्रशासन भइदिएको भए सामान्य खर्चमा काम बन्थ्यो ।’
इलाका प्रशासन कार्यालय पायक पर्ने स्थानमा नभएका कारण दुःख पाएको सेवाग्राहीको गुनासो आएपछि जिल्लाको सुदुरपूर्वमा पर्ने स्थानीय तहहरूले पहल थालेका छन् । संघीयताको मर्म र भावनाअनुरूप एकीकृत तथा विकेन्द्रीकृत सेवा प्रवाह गर्ने राज्यको नीति भए पनि स्थानीय तहमा रहनेगरी इलाका प्रशासन कार्यालय नहुँदा जनताले सास्ती व्यहोर्नुपरेको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘राज्यले जनताका समस्याहरू समाधान गर्ने र सेवा दिने कार्यालय पायक पर्ने ठाउँमा हुनुपर्छ । इलाका प्रशासन कार्यालय स्थापना अनिवार्य छ भन्ने महशुस गरी हामीहरूले रुरुक्षेत्रको रिडी बजारमा राख्न उपयुक्त हुनेगरी सिफारिश गरेका छौँ ।’ अध्यक्ष थापाले यो काम छिट्टै हुनुपर्ने बताउनुभयो । कालीगण्डकी गाउँपालिकाको जनसंख्या १५ हजार ४४ छ । जसमध्ये पुरुष सात हजार ७४ र महिला सात हजार ९७० रहेका छन् ।
यहाँका नागरिकलाई तम्घास पुगेर सेवा लिँदा गाह्रो भएकाले सत्यवतीको खैरेनीमा इलाका प्रशासन कार्यालय हुनुपर्छ भन्ने हाम्रो माग रहेको सत्यवती गाउँपालिकाका अध्यक्ष टीकाराम पाण्डेले बताउनुभयो । उहाँले सम्बन्धित निकायमा पुगेर इलाका प्रशासन स्थापनाका लागि प्रयास गरिरहेको बताउनुभयो । यहाँ २३ हजार ८०७ जनसंख्या रहेको छ । रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले पनि वडा नं. १ को रिडी बजारस्थित पिएससी भएको भवनमा इलाका प्रशासन कार्यालय स्थापनाका लागि कार्यपालिकाबाटै निर्णय गरेर माग गरिएको बताउनुभयो । भूगोल, सेवा सुविधा र जनघनत्वका हिसाबले यो अत्यन्तै महत्वपूूर्ण कार्य हुने उहाँले उल्लेख गर्नुभयो । रुरुक्षेत्रमा २३ हजार १५५ बसोवास गर्छन् । चन्द्रकोट गाउँपालिकाले भने मजुवामा इलाका प्रशासन कार्यालय स्थापना हुनुपर्ने बताएको छ । मजुवामा इलाका प्रशासन कार्यालय स्थापनाको कुनै पनि विकल्प नरहेको अध्यक्ष युवराज केसीले बताउनुभयो । उहाँले इलाका प्रशासन कार्यालय चन्द्रकोट, सत्यवती, कालीगण्डकीलाई पायक पर्नेगरी स्थापना हुनुपर्नेमा जोड दिनुभयो । चन्द्रकोटमा १८ हजार ६६२ जनसंख्या रहेको छ । यसैगरी, छत्रकोट गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डे, गुल्मी दरबार गाउँपालिकाका अध्यक्ष सरोज थापाले पनि पायक पर्ने स्थान सहमति गरेर इलाका प्रशासन कार्यालय स्थापनाको पहल आवश्यक भएको बताउनुभयो । इलाका प्रशासन कार्यालय स्थापनाका लागि सम्बन्धित निकायसँग पटक-पटक माग गरे पनि सुनुवाइ नभएको गुनासो उनीहरूको छ । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले भने सुदूरपूर्व गुल्मीको पायक पर्ने स्थानमा इलाका प्रशासन आवश्यक रहेको स्वीकार गर्नुभयो । उहाँले सुदूरपूर्वको दूरदराजबाट सदरमुकाम आउने हजारौँ सेवाग्राहीले दैनिकजसो सास्ती खेप्नुपरेका कारण सेवा प्रवाहमा समेत असहज महशुस भएको भन्दै त्यसका लागि आफूले आवश्यक पहल गर्ने बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच