
काठमाडौं । नेपालको राजनीतिमा कम्युनिष्ट पार्टीको स्थापनासँगै विभाजनको बिउ पनि सुरु भएको देखिन्छ । कम्युनिष्ट पार्टी फुटेसँगै सार्वजनिक रूपमै निम्नस्तरका गैरराजनीतिक अभिव्यक्ति परम्पराजस्तै भएका छन् । कम्युनिष्ट पार्टीका संस्थापन पुष्पलाल श्रेष्ठ र नेता केशरजंग रायमाझी बीचको फुट र आरोप-प्रत्यारोपबाट सुरु भएको आरोप-प्रत्यारोपको शृंखला हाल सक्रिय कम्युनिष्ट घटक र नेताहरूमा समेत जारी छ । आरोप-प्रत्यारोप र गैरराजनीतिक शब्दवाण पछिल्लो समय मुलुकका दुई ठूला कम्युनिष्ट पार्टीहरू नेकपा एमाले र माओवादी केन्द्रबीच बढी देखिन्छ । मुलुकका दुई ठूला दल एमाले र माओवादी केन्द्रले २०७४ सालको निर्वाचनमा कार्यगत एकता गरे । चुनावबाट मतदाताको मन जित्न सफल भएपछि २०७५ सालमा यी दुई पार्टीबीच एकता भएर नेकपा गठन भयो । तर, एकता लामो समय टिक्न सकेन । एकता भएको तीन वर्षमा नै विभाजन हुन पुगेका दुई दलका नेताहरूबीच लामो समयसम्म तल्लो स्तरको गैरराजनीतिक शब्द प्रयोग गरेर सार्वजनिक रूपमै आरोप-प्रत्यारोपको शृंखला चल्यो ।
२०७९ सालको चुनावपछि दुई पार्टीको सहकार्यमा पुनः दुईपटक सरकार बन्यो । तर, यो सत्ता सहकार्य पनि लामो समय टिकेन । दुई पार्टीबीच एकता र सहकार्य हुँदा नेताहरू एक-अर्काको प्रशंसा गर्न थाक्दैनन् । तर, जब कार्यगत एकता टुट्यो त्यसपछि तल्लो स्तरको गालीगलौज फेरि सुरु हुन्छ । पछिल्लो समय गत असार १६ गतेमध्ये राति कांग्रेस र एमालेबीच सात बुँदे सहमति भएसँगै एमाले र माओवादीको सत्ता सहकार्य टुट्यो र पुनः सुरु भएको आरोप-प्रत्यारोप अहिले पनि जारी छ । प्रधानमन्त्रीसमेत रहनुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र तीनपटक मुलुकको प्रधानमन्त्री भएर हाल वेटिङ प्राइमिनिस्टरको रूपमा रहनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको आरोप-प्रत्यारोप र शब्द चयन त नाक खुम्च्याउनुपर्ने अवस्थाका हुन्छन् ।
माघ २२ गते मंगलबार म्याग्दीमा आयोजित एक कार्यक्रममा प्रचण्डले प्रधानमन्त्री ओलीलाई जाली र फटाहाको संज्ञा दिनुभएको थियो । अहिले प्रधानमन्त्रीको कुर्सीमा बसेका एमालेका अध्यक्ष ढाँट, छल, जालीझेली र फटाहा भएको टिप्पणी गर्दै प्रचण्डले भन्नुभएको थियो, ‘एमालेको नेता जो अहिले प्रधानमन्त्रीको कुर्सीमा हुनुहुन्छ । उहाँले यति धेरै ढाँट, छल, जालझेल गर्नुभयो । मलाई त गर्नसम्म गर्नुभयो । स्वर्ग र नर्कका कुरा । यस्ता जालीझेली, यस्तो फटाहा मान्छे प्रधानमन्त्री भएपछि देशले सुख पाउँछ त ?’ नेकपा एमालेका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले पनि प्रचण्डमाथि विभिन्न आरोप लगाउँदै आउनुभएको छ । केही समयअघि एक सार्वजनिक समारोहमा ओलीले प्रचण्ड बार्गेनिङ गरेर खान पल्केको भनेर टिप्पणी गर्नुभएको थियो । कतिपय नेताहरू त कार्यगत एकताकै समयमा पनि एक-अर्का नेताहरूमाथि गम्भीर प्रकृतिका आरोप लगाउने गरेका छन् । शीर्ष नेताहरूले नै गैरराजनीतिक शब्द प्रयोग गरेर आरोप-प्रत्यारोपमा उत्रिने संस्कार नै निर्माण गरेसँगै त्यसपछिका नेताहरू पनि अग्रजहरूको पदचाप पच्छ्याइ रहेका छन् । केही समयअघि नेकपा एमालेका नेता महेश बस्नेतले प्रचण्डलाई राजनीतिमा वेश्यावृत्तिको संज्ञा दिनुभएको थियो । पार्टीले आयोजना गरेको एक सार्वजनिक कार्यक्रममा नेता बस्नेतको अभिव्यक्ति थियो, ‘हिजो केपी ओली कमरेडलाई लौन कमरेड बचाइदिनुपर्यो भन्नुभयो । केपी ओली क्षमादान दिन एकदम सिपालु, तथास्तु भनिदिनुभयो, सरकार बन्यो । तर, दुई महिनापछि फेरि प्रचण्डले धोका दिए । राजनीतिमा राम्रो शब्द त होइन तर राजनीतिमा वेश्यावृत्ति गर्ने प्रवृत्ति प्रचण्डले देखाएका छन् ।’
पार्टीका कार्यकर्ताबाट ताली पाउनकै लागि अर्मयादित शब्द प्रयोग गर्ने कम्युनिष्ट पार्टीका नेताहरूमा संस्कार जस्तै बन्न थालेको छ । नेपालको राजनीतिमा शालीन कम्युनिष्ट नेताको छवि बनाउनुभएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसमेत ओली र प्रचण्डसँगै गैरराजनीतिक आरोप-प्रत्यारोप गर्ने नेताहरूको रूपमा उभिन थाल्नुभएको छ ।
ओली दुनियाँलाई ठग्न प्रधानमन्त्री भएका हुन् : अध्यक्ष नेपाल
नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दुनियाँ ठग्नको लागि प्रधानमन्त्री बनेको आरोप लगाउनुभएको छ । शनिबार पार्टीको काठमाडौंमा प्रथम उपत्यका प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै नेपालले ओली देश चलाउनका लागि, जनताको समस्या समाधान गर्नको लागि नभई सत्तालाई आफ्नो स्वार्थमा प्रयोग गर्ने कुरामा केन्द्रित रहेको समेत आरोप लगाउनुभयो । अध्यक्ष नेपालले भन्नुभयो, ‘प्रधानमन्त्री बनेर दुनियाँ ठग्नको लागि संविधान संशोधन गर्नुछ भनेर गफै हाँक्ने हो भने त्यो गफको के काम ? अब संविधान संशोधनको विषय पनि ०८७ को विषय बन्यो । अब ०८४ देखि चुनाव हुने कुरा सुनेका छौँ । ०८४ मा चुनाव हुने अनि ०८७ मा संविधान संशोधन गर्ने भनेपछि यो बीचको अवधिमा को हुने हो प्रधानमन्त्री ? यसको केही छ जवाफ ? मुखबाट त्यो निस्किएको हो कि नबोल्नुपर्ने कुरा ।’
चितवनको स्वार्थले प्रचण्डको रविसँग हिमचिम : महासचिव भुसाल
नेकपा माओवादी केन्द्र नेतृत्वको समाजवादी मोर्चामै आबद्ध नेकपा एकीकृत समाजवादी (नेकपा एस) का महासचिव घनश्याम भुसालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भरपर्दो शक्ति नभएको टिप्पणी गर्नुभएको छ । माओवादी कुनै सिद्धान्तमा नचलेको समेत आरोप लगाउनुभएका भुसालले भन्नुभयो, ‘सिद्धान्तमा चल्यो भने तीनचोटी प्रधानमन्त्री भइसके, उनले आफ्नो पार्टीको नाम माओवादी राख्दैनथ्यो । अब चारचोटी प्रधानमन्त्री हुन कस्सिरहेका छन्, चारचोटि भए पाँच चोटी हुन कसिन्छन् । पाँचचोटी भए देउवाजी जस्तै ६ चोटी हुने होलान् । अहिले उहाँहरूको पछिल्लो रिलेसन हेर्नुस् कोको सँग छ ? उहाँले जसरी रविको मामलामा देखिनुभएको छ । रविमाथि सत्ताले बड्ता नगरोस् त्यो एउटा कुरा हो । तर, सहकारी पीडितले न्याय पाउनुपर्छ भन्ने भुलेर यदि भविष्यमा चितवनको टिकटको लागि मात्रै राजनीति गरेको हो भने त कम्युनिष्ट आन्दोलनमाथि ठूलो घात हुनेछ । वा के हो हेर्नुस्, किन हुँदै छ ?’ महासचिव भुसालले प्रचण्डको चञ्चलतालाई मात्रै हेरेर निर्णय गरेर फेरि कमी कमजोरी हुने भएकाले सचेत हुनुपर्ने जिकिर गर्नुभयो । अहिले प्रचण्डले वकालत गरिरहेको समाजवादी मोर्चा पनि व्यक्तिगत स्वार्थको विषय मात्रै रहेको टिप्पणी गर्दै भुसालले भन्नुभयो, ‘हिजो समाजवादी मोर्चा चाहिएको थिएन, आज चाहिएको छ, भोलि के हुन्छ ? थाहा छ तपाईंहरूलाई नै ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच