
काठमाडौं । पाथीभरामा केबलकार निर्माण हुँदा पर्यटन प्रवद्र्धन र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने दाबी कम्पनीले गरेको छ । पाथीभरा देवी केबलकार प्रालिले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै परियोजनाले धार्मिक पर्यटनलाई प्रवद्र्धन गर्दै स्थानीय रोजगारी सिर्जना गर्ने र समग्र आर्थिक गतिविधिलाई चलायमान बनाउने दाबी गरेको हो । कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकार निर्माणलाई लिएर विभिन्न तर्क-वितर्क भइरहे पनि परियोजनाले स्थानीय जीवनस्तर सुधार्ने, धार्मिक पर्यटनलाई सहज बनाउने र वातावरणमैत्री पूर्वाधार निर्माण गर्ने बताउनुभयो । उद्योग वाणिज्य महासंघका अध्यक्षसमेत रहनुभएका उहाँले परियोजनाले तीन सय जनालाई प्रत्यक्ष रोजगारी दिने र त्यसमा ८० प्रतिशत स्थानीयलाई प्राथमिकता दिइने बताउनुभयो । हाल पाथीभरा क्षेत्रमा भरियाका रूपमा काम गरिरहेका व्यक्तिहरूलाई वैकल्पिक रोजगारी उपलब्ध गराउने कम्पनीले प्रतिबद्धता जनाएको छ । ‘स्थानीयको रोजगार सुरक्षित राख्दै नयाँ अवसर सिर्जना गर्ने हाम्रो लक्ष्य हो,’ उहाँले भन्नुभयो ।
केबलकार लाइनमा ३६ यात्रुवाहक गोण्डोला र दुई वटा सामान बोक्ने गोण्डोला रहने उहाँले बताउनुभयो । तल्लो स्टेसनबाट माथिल्लो स्टेसनसम्म १० मिनेट ३१ सेकेण्ड मात्र लाग्ने उहाँको भनाइ छ । ‘केबलकारले पहिचानको प्रवद्र्धन गर्छ, नागरिकको जीवनस्तरमा सुधार ल्याउँछ’ उहाँले भन्नुभयो । पाथीभरामा केबलकार बनाउँदा मन्दिरको ऐतिहासिकता र पहिचान गुम्ने भन्दै सामाजिक सञ्जालमा दुष्प्रचार गरिएको उहाँले बताउनुभयो । ‘केबलकार निर्माणले बालबालिका, वृद्धवृद्धा, शारीरिक रूपमा अशक्त र उकालो ओरालो हिँड्न नसक्नेहरूका लागि सहज हुनुका साथै सम्पूर्ण तीर्थयात्री तथा पर्यटकलाई सुविधा पुग्नेछ । हिँडेर जान चाहनेहरूको लागि अहिले भइरहेको बाटोमा केबलकारले कुनै बाधा पुर्याउने छैन,’ उहाँले भन्नुभयो, ‘केबलकार केवल यातायातको साधन मात्र हो । जसले पाथीभरा देवीको दर्शनमा जाने तीर्थयात्रीलाई सहजता पुर्याउँछ । पाथीभरा देवी सबै नेपालीको आस्थाको धरोहर भएकाले यहाँ केबलकार निर्माणले कुनै धर्म र जाति विशेष या संस्कार संस्कृति एवं हाल भइरहेका संरचनामा केही असर गर्दैन बरु थप मजबुत बनाउन सहयोग पु¥याउँछ ।’ पाथीभरा केबलकारको अनुमानित लागत तीन अर्ब रुपैयाँ रहेको छ ।
काट्नुपर्ने एक रूख बराबर २५ का दरले वृक्षरोपण गरिने
पाथीभरा देवी दर्शन केबलकार प्रालिका अध्यक्ष ढकालले पाथीभरा मन्दिरसम्म पुग्न निर्माण गर्न लागिएको केबलकारले पहिचानको प्रवद्र्धन गर्ने बताउनुभयो । केबलकार बनाउँदा मन्दिरको ऐतिहासिकता र पहिचान गुम्ने दुष्प्रचार गरिएको दाबी पनि उहाँको थियो । वातावरणमा हुने प्रभावलाई कम गर्न केबलकारको एलाइनमेन्ट क्षेत्रभित्र काट्नुपर्ने एक रूख बराबर २५ रूखका दरले वृक्षरोपण गरिने उहाँले स्पष्ट पार्नुभयो । त्यसरी रोपिएका रूखलाई पाँच वर्षसम्म आयोजनाले नै स्याहार तथा संरक्षण गर्ने र सरकारलाई हस्तान्तरण गर्ने उहाँको भनाइ छ । ‘केबलकारको माथिल्लो स्टेसनमा तीर्थयात्रीको सुविधाको लागि पानी, शौचालय र अक्सिजनसहित सामान्य आधारभूत संरचना मात्र बनाइनेछ । यी आधारभूत आवश्यकताका संरचनाबाहेक यहाँ अरू केही नबन्ने भएकाले मन्दिर परिसर तथा यस वरपरको पर्यावरण, सौन्दर्य र सांस्कृतिक अवस्थितिमा कुनै असर पर्दैन,’ उहाँले भन्नुभयो । परियोजनामा हुने अवरोधले विश्वव्यापी रूपमै नकारात्मक सन्देश जाने चिन्ता व्यक्त गर्दै कुनै पनि बहानामा विकास निर्माणका काममा अवरोध नगर्न सबै सरोकारवालामा उहाँले आग्रह गर्नुभयो । ‘स्थानीयलाई आयोजनाको सेयर तथा लगानीको अवसर मिल्नेछ । आर्थिक गतिविधिको विकास र विस्तारसँगै मेची हाइवेको झापा तथा तमोर कोरिडरको सुनसरीको बराह क्षेत्रदेखि नै होटल, रेष्टुरेण्ट, यातायातलगायत थुप्रै क्षेत्रमा स्वरोजगार तथा व्यवसाय विस्तारमा उल्लेख्य वृद्धि हुनेछ,’ उहाँले भन्नुभयो ।
विकासका काममा वादविवाद हुनु नराम्रो
केबलकारको विरोधले सातवटै प्रदेशमा ठूलाठूला पर्यटकीय पूर्वाधारको विकास गरी धेरैभन्दा धेरै स्वदेशी तथा विदेशी पर्यटक आकर्षित गर्ने, लगानीका अनगिन्ती अवसरहरू सृजना गर्ने, रोजगारी सृजना गर्ने र समुन्नत नेपाल निर्माणमा हातेमालो गर्ने अभियानमा ठेस पुगेको उहाँले बताउनुभयो । ‘विकासका काममा यस्तो वादविवाद देखिनु राम्रो होइन । यस्ता कार्यहरूले देशमा आगामी दिनमा हुने निजी लगानीलाई नै दुरुत्साहन गर्ने काम गर्दछ,’ उहाँले भन्नुभयो, ‘राज्यका निकायबाट सबै कानुनी र नियामकीय प्रक्रिया पूरा गरिसकेपछि काम अगाडि बढ्न नदिने विषय अत्यन्त दुःखदायक छ । यसले मुलुकमा लगानी भित्र्याउन निजी क्षेत्रले गरिरहेको पहललाई निरर्थक तुल्याएको छ ।’
निजी लगानी दुरुत्साहन प्रयास
पाथीभरा केबलकार शिलान्यास भएसँगै केही व्यक्तिहरूले निर्माणका काममा अवरोध सृजना गर्ने र निजी लगानीलाई दुरुत्साहन गर्ने गतिविधि सुरु गरेको अध्यक्ष ढकालको भनाइ छ । त्यति मात्र नभएर निजी क्षेत्रलाई नै कलुषित गर्ने र उनीहरूका व्यवसाय, व्यक्तिगत प्रतिष्ठा र सम्मानमा आँच पुर्याउने खालका आक्षेपहरू लगाएको उहाँले बताउनुभयो । ‘केबलकार आयोजनाको विषयलाई लिएर समग्र निजी क्षेत्रमाथि प्रहार गर्नु र समाज, अर्थतन्त्र र मुलुककै समृद्धिमा उनीहरूको योगदानको अनादर गर्नु अत्यन्त दुःखद विषय हो,’ उहाँले भन्नुभयो, ‘आयोजना निर्माणस्थल तथा समग्र ताप्लेजुङ जिल्लावासीका भावना र आवश्यकताको नजिकमा छौँ । हामीलाई स्थानीयको आवश्यकताबारे जानकारी छ । विकासका काममा यस्तो वादविवाद देखिनु राम्रो होइन । यस्ता कार्यहरूले देशमा आगामी दिनमा हुने निजी लगानीलाई नै दुरुत्साहन गर्ने काम गर्दछ ।’
आन्दोलन पक्षद्वारा स्थायी समाधानको माग
यसअघि पाथीभरा क्षेत्रको केबलकार निर्माणको विषयमा देखिएको विवाद समाधानमा नेपाल सरकारका सहसचिव नेतृत्वको टोलीसँग माघ २२ गते राति ६ बुँदे सहमति गरेको आन्दोलनरत पक्षले मन्त्री स्तरीय वार्ता समिति गठनको माग गरेको छ । शुक्रबार आन्दोलनरत घटकहरूका तर्फबाट जारी विज्ञप्तिमा कर्मचारी स्तरको वार्ता टोलीबाट समस्या समाधान नहुने निष्कर्ष आफूहरूले निकालेको भनिएको छ । माघ २२ गते राति भएको सहमतिअनुसार पाथीभरा केबलकार निर्माणमा भएका असहमति लगायतका विषयमा माघ २७ गते आइतबार बस्ने वार्तामा छलफल गर्ने भनिएको छ ।
आन्दोलनरत घटकहरूले मुक्कुमलुङको संरक्षण तथा केबलकारको खारेजी जस्ता गम्भीर विषयहरूको दिगो स्थायी समाधानका लागि मन्त्रीस्तरीय वार्ता टोली गठन गरी माघ २७ गते सोही मन्त्रीस्तरीय वार्ता टोलीसँग वार्तामा बस्ने विज्ञप्तिमार्फत जनाएका छन् । आन्दोलनरत पक्षले केबलकार स्टेसनमा १० दिनसम्म काम रोक्ने मौखिक सहमति भए पनि यसको इमानदार कार्यान्वयन नभएको दाबीसमेत गरेको छ ।
पाथीभरामा केबलकार परियोजना चन्द्र ढकाल नेतृत्वको आइएमई ग्रुपले बनाइरहेको छ । सुरुमा यती समूह, त्यसपछि लक्ष्मी इन्टर्कन्टिनेन्टल हुँदै शिलान्यासको चरणमा आइपुग्दा आईएमई समूह परियोजनामा जोडिएको थियो । गएको नोभेम्बर महिनामा उक्त आयोजना शिलान्यास गरिएको हो । त्यसपछि लिम्बू समुदायले आफ्नो ‘मुन्धुम’ संस्कृतिमाथि अतिक्रमण गर्न खोजेको, स्थानीय प्राकृतिक स्रोत साधनलाई व्यापारिक स्वार्थपूर्तिका लागि दोहन गर्न खोजेको भन्दै आन्दोलन चर्काएका थिए । योजना सार्वजनिक भएसँगै विभिन्न पहिचानवादी समूहले ‘नो केबलकार’ आन्दोलन चलाउँदै कोशी प्रदेशको पूर्वीभेगका जिल्लाहरूमा अनिश्चितकालीन हड्ताल गरेका थिए ।
क्याप्सन ः पाथीभरा देवी केबलकार प्रालिका अध्यक्ष चन्द्र ढकाल शनिबार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच