
✍️ डा.चण्डिका भट्ट
नेपालमा कसैले कुनै पनि वस्तुजस्तै खाने कुरा भनौं या अन्य स्रोतमाथि अरूलाई वास्ता नगरी आफ्नोमात्र हित या स्वार्थमाथि मात्र ध्यान दिने प्रवृत्ति या देखाउने व्यवहारलाई कस्तो हाँडी घोप्टे जस्तो भनेर भानिन्छ । यो हाँडी घोप्टे शब्द जन जिब्रोमा झुण्डिएको छ । यसै परिप्रेक्ष्यमा एक प्रतिनिधिमूलक पात्र र परिवेशसँग जोडिएका विविध आयम र तीनले दिने सन्देश यो आलेख प्रस्तुत गरिएको छ ।यो २०२६/०२७ सालतिरको सत्य कथा हो । यस्तो सत्य कथा त समग्रमा नभई त्यसमध्ये केही पक्षमात्र प्रतिनिधि घटनामात्र हुनसक्छ । म त्यस सालतिर पब्लिक कमर्स कलेज काठमाडौंमा आई.कम.अध्यायन गर्दै थिएँ र मेरो दाजु कृष्ण भट्ट (हाल दिवांगत) बि.एड । हाम्रो बसाइ ठमेलमा थियो । क्षेत्रपाटी ठमेलबाट नजिकै छ । मेरो गाउँ हालको भीमसेन थापा गाउँपालिकामा पर्ने आमचौर र त्यस आसपासका कुबिण्डे, गैराथोक, दार्मे, अर्चले, डाँडापरि, पौवा, काउले, मसेल, बगुवा आदि गाउँतिरबाट त्यता किनमेलका लागि उपयुक्त बजार नभएको कारणलगायत अन्य कामले काठमाडौंसम्म आउनुपर्दथ्यो । त्यसताका यातायातको सुविधा नभएकाले गाउँबाट काठमाडौं आउन सरदर दुई-तीन दिन हिँड्नुपर्दथ्यो ।
गाउँलेहरू घ्यू घरेलु उत्पादन काठमाडौंमा लगेर बेच्ने र त्यहाँबाट आफूलाई चाहिने लत्ताकपडा, नुन-तेल किनमेल गर्न या अन्य जीविकोपार्जनका लागि काठमाडौं आउँथे । आउने प्रायः क्षेत्रपाटी, पकनाजोल, सोह्रखुट्टे ठमेल र आसपास बस्नुहुन्थ्यो र उहाँहरूलाई घियारे पनि भनिन्थ्यो । मेरो घरबाट हजुरबुबा तुलसीप्रसाद (हाल दिवांगत)या बुबा चूडामणि (हाल दिवांगत)ले गाउँलेहरूको साथमा हामीलाई अक्सर खाने खर्च (दाल, चामल, चिउरा र पैसा) सम्झाइ-बुझाई अर्ति उपदेशसहित आराम भएको चिठी पठाउनुहुन्थ्यो । साथै गाउँलेहरूले हाम्रो घरमा आवश्यक पर्ने नुन–तेल अलिअलि सबैले आफ्नो भारीमा थपेर लगि दिनु हुन्थ्यो । त्यसताका गाउँमा एकले अर्कोलाई सहयोग गर्ने चलन थियो हजुरबुबा, बुबाले गाउँलेलाई कुनै न कुनै रूपमा मद्दत गर्नुहुन्थ्यो । यस्तो सद्भाव र व्यवहार आज समाजमा स्खलित हुँदै गएको छ ।
उनीहरू जहिल्यै शान्त र सौम्य देखिन्थे । कहिलेकाहीँ केटाकेटीले उनीहरूलाई विभिन्न रूपबाट जिस्क्याउन खोज्थे । कसैकसैले कहिलेकाहीँ ए हाँडी घोप्टे ! हाँडी घोप्टे ! भनेर बोलाउँथे । मैले कहिल्यै उनीहरूमा रिसाएको देखिन । उनीहरूमा मानसिक असन्तुलन या पागलपन भए जस्तो लागेन ।
त्यसताका गाउँतिरबाट आउनेहरूको संख्या कम थियो । अहिले जस्तो सञ्चारको सुविधा थिएन । उमेरले कम र परिवारबाट टाढा रहेका कारण आफू जन्मे, हुर्केको ठाउँ र परिवारबाट टाढा हुँदा न्यास्रो लाग्नु स्वाभाविक थियो । त्यसैले क्षेत्रपाटी, पकनाजोल, सोह्रखुट्टे प्रायः गइरहन्थेँ । त्यतातिर जाँदा अक्सर देखिने अरूहरूभन्दा भिन्न पात्र हुनुहुन्थ्यो ‘हाँडी घोप्टे’ जोडी ।
हाँडी घोप्टे मैले राखेको नाम होइन तर टोलभरिका सबैको भन्ने शब्द थियो यो । जहिले ती दुई जोडी प्रायः पकनाजोल र क्षेत्रपाटीबीच पर्ने सडक किनारामा ओहोरदोहोर गरेको देखिनुहुन्थ्यो । पुरुष चाहिँ प्रायः मैलो कमिज, झुत्रे पाइण्ट, टोपीमा र महिला चाहिँ कहिले फरिया चोलो या ब्लाउज, स्कर्टमा देखिनुहुन्थ्यो । झण्डै ५५/५६ वर्षपछि आज यो विषय सम्झनामा आएको छ । दुवैको पहिरन सडकमा देखिने असहाय र गरिबभन्दा भिन्न थिएन । लाग्दछ उहाँहरूको त्यस बखतको परिवेश देख्दा बस्ने घर तथा सामान्य खेतीपाती गर्ने जमिन थिएन भन्न सकिन्छ ।
उनीहरूसँग सिलाबरको एउटामात्र थाल हुन्थ्यो त कहिलेकाहीँ दुवैको हातमा एक-एकवटा हुन्थे । थाल एउटै भएको बेला दुवैले सँगै एक-एक छेउमा होसियार साथ र दह्रो गरी समातेजस्तो लाग्दथ्यो । समाजमा खास गरी निमुखाप्रति सहयोग, करुणा, माया गर्नेभन्दा मज्जा मान्ने प्रवृत्ति देखिन्छ । अर्को रोचक कुरा ती जोडीले मागेको कहिल्यै देखिएन तर त्यो थालमा समोसा, भात, दाल, तरकारी, चिउरा, पाउरोटी आदि खानेकुरा हुन्थ्यो । मेरा पकनाजोल नै बस्ने साथीहरू हुनुहुन्थ्यो । उहाँहरू ती जोडीले मागेको कहिल्यै नदेखेको कुरा गर्नुहुन्थ्यो । क्षेत्रपाटीमा एउटा सानो चिया पसल थियो । त्यता पुग्दा त्यहीँ चिया पिउथ्यौँ ।
पसलेसँग सोद्धा पनि ती जोडीले मागेको थाहा छैन, हामीले नै यता देखिएको बेला बोलाएर दिन्छौं भन्नुहुन्थ्यो । एक-दिन एकजना हिलाले ए हाँडी घोप्टे भनेर बोलाएर उहाँहरूको थालमा अलिकति भात, दाल, तरकारी खन्याइदिनुभएको, अर्कोपटक एउटा करिब १० वर्ष जतिको भाइले महिलाले जसै गरी ए हाँडी घोप्टे भनेर बोलाएर पाउरोटी र चिउरा दिनुभएको देखेको थिएँ । यस्तो देखिनुमा प्रवृत्तिजन्य या सम्बन्धित व्यक्ति विशेशका स्वभाव सानै उमेरदेखिका आफ्ना हुर्काइका या हुक्र्याइएका परिवेश आदि होलान् जो भिन्नै अध्ययनका विषय हुन सक्छन् ।
यहाँ मनन् गर्नुपर्ने कुरा के आउँछ भने कसैको दुरावस्था देखेर मजाक गर्नेहरूले एकपटक आफूलाई हाँडीघोप्टेको अवस्थामा दर्ज गर्न र आफूले गरेका व्यवहारसँगै राखेर आत्मामूल्यांकन गरौं ता कि आफ्नो व्यवहारले अरूलाई कत्तिको छुँदो रहेछ भन्ने बोध होवोस् । जुत्ता लाउनेलाई जुत्ताले कहाँ र कसरी दुःखाएको छ भन्ने थाहा हुन्छ । अर्काको जुत्ता कस्तो छ भनेर थाहा पाउन आफ्ना गोडा अरूका जुत्तामा हालेर हेर्नुपर्छ । यहाँ हाँडीघोप्टे काल्पनिक पात्र होइन, उनीहरू वास्तविक हुन् । समाजमा विविधकारणले त्यस्ता पात्र कैयौं ठाउँमा भेटिएलान् । तसर्थ, समाजले त्यस्ता पात्रप्रति गर्ने व्यवहार, हेर्ने दृष्टिकोण, समसामयिक मनोविज्ञान आदि बारे विश्लेषण गरी समाजलाई कसरी सभ्य, सहयोगी, करुणामयी बनाउन सकिन्छ भनेर हाँडीघोप्टे र उनीहरूको परिवेश यस स्तम्भमा ल्याएको हुँ ।
उनीहरू जहिल्यै पनि शान्त र सौम्य देखिन्थे । कहिलेकाहीँ केटाकेटीहरूले उनीहरूलाई विभिन्न रूपबाट जिस्क्याउन खोज्थे । कसै कसैले कहिलेकाहीँ ए हाँडी घोप्टे ! हाँडी घोप्टे ! भनेर बोलाउँथे । तर मैले कहिल्यै पनि उनीहरूमा रिसाएको देखिन । उहनीहरूमा मानसिक असन्तुलन या पागलपन पनि भए जस्तो लागेन ।
उनीहरू बारे केही रोचक प्रसंग छन् । त्यसबाट सिक्न सिकाउन सकिने धेरै कुरा छन् । मैले करिब दुई वर्षजति उनीहरूलाई देखेँ । जतिपटक देखे, कहिल्यै निन्याउरो, दुःखित्, गलित आदि अवस्था देखिन । हिँड्दा दुवैले एकअर्काको हात समात्थे । हातमा थाल भए कहिल्यै हात पसारेर मागेको देखिन । सानासाना उमेरका केटाकेटी देख्ने बित्तिकै हाँडीघोप्टे भनेर जिस्क्याउथे तर उनीहरूले कहिल्यै प्रतिवाद गरेनन् । सधैं शान्त भएर गुनगुन गर्दै हिँडेकोमात्र देखिन्थ्यो । अहिलेको नेपाली समाजले सिकाउनुपर्ने यस्तै एकआपसको सद्भाव र सम्मान हो ।
खासगरी नेतृत्व वर्ग जसले आफूले प्रयोग गर्ने शब्द र शैलीले सीमित घेराभित्रकाले मज्जा मान्लान तर त्यसको प्रभाव समग्र समाजलाई कस्तो बनाउँदै छ भन्नेतिर गएको देखिँदैन । उल्टो कसले कति चर्को बोल्न र ताउरमाउर गर्न सक्दछ भन्ने व्यवहार बढ्दै गएको छ, त्यसको प्रभाव निःसन्धेह भावी पुस्तामा पर्दै गएको छ । त्यो जोडी मिलिजुली बस्ने र लालचविहीन थियो । एकदिनको कुरा हो । उनीहरू आफ्नै सुरमा क्षेत्रपटी चोकनजिकै पकनाजोलपट्टि हिँड्दै थिए म पनि पकनाजोलतिर जाँदैथिएँ । पुरुषले भन्यो, ‘मैयाँ ! तिमीले आज अलि कम खाएकी छ्यौ । यो तिमी खाऊ ।’ महिलाले जवाफमा भनिन्, ‘नाइँ मलाई पुगेको छ, हजुर खानुस्’ ।
उनीहरूको नाम र व्यवहारबीच कत्ति तादात्म्य देखिँदैन । समाजले हाँडीघोप्टे भनेर बोलाउँथ्यो तर उनीहरूमा त्यो लक्षण या लालचीपन देखिएन । अतः उनीहरू हाँडी घोप्टे होइन समाजले हेर्ने दृष्टिकोण पक्षपाती र दोषी हो भन्नु अनुपयुक्त नहोला । उनीहरूको त्यो अवस्था अनि बोलीको लय, प्रयोग भएका शब्द अहिले पनि मेरो कानमा गुञ्जिरहेको छ जुन कुनै पनि शिक्षित, सभ्य र कुलीन परिवारभन्दा कम थिएन । यदि आजको म थिएँ भने पक्कै उनीहरूसँग बसेर अरू थप जानकारी लिनेथिएँ । तर, मेरो त्यस बेलाको ज्ञान, अनुभव आदिको दायरा साँघुरो भएकोले देखेँ, हिँडेँ र वास्ता गरिन । यद्यपि उनीहरूको त्यो जोडी, परिवेशले नेपाली समाज र समाजशास्त्र, सामाजिक मनोविज्ञान, अर्थ, सामाजिक व्यवस्था आदि आयाम बारे थुप्रै कुरा सिक्न सिकाउन सक्दथे होलान् त्यो मैले गुमाएको अनुभूतिमात्र होइन पश्चाताप हो ।
बोलीमा सालीनता, परस्परमा आश्रित, लोभलालच नभएका÷नदेखिएका हाँडीघोप्टे जोडी अनुपम नै मान्न सकिन्छ । यदपि अर्को खड्केको भनौं या कमजोरीको पाटो चाँहि हुनसक्छ उनीहरूले त्यो बाटो रोज्नु भनेको काम गर्न अल्छी मानेर हुनसक्छ । देख्दा दुवै सग्लै देखिन्थे ।
नेपाली समाज पराबलम्बी, प्रत्येक उपदेशक र ढोंगी जस्तो बन्दै गएको अनुभव हुँदैछ । सीमित व्यक्ति झनै समृद्ध बन्दै जानुभएको र बाँकी ठूलो जनसंख्या हाँडीघोप्टेको अवस्था हँुदै गएको सूचकहरूले देखाइराखेका छन् । बास्तवमा ती ठूला ओहदामा रहनुभएका र उहाँहरूका निकटवालामा हाँडीघोप्टेका लक्षण देखिन्छन् ।
यदि त्यसो हो भने उनीहरूले त्यो ठीक गरेका हाइनन् र कसैको त्यस्तो सोच भए त्याग्नु पर्दछ । आफ्नो औकात, सीपनुसार कुनै काम गर्न सकिन्छ र कुनै काम आफैंमा सानो-ठूलो हुँदैन । हाम्रो त्यसप्रतिको हेराइ र दृष्टिकोणको दोषमात्रै भन्छु म । किनकि अध्ययन अध्यापनको अलाबा मैले हलो जोत्ने, खेतबारी खन्ने, घाँसदाउरा गर्ने, खाना पकाउने, भाडा माझ्ने आदि काम गरेँ अझै गर्दैछु ।
अहिले, यस अनुभवबाट म पाठक समक्ष के मात्र सम्प्रेषण गर्न सक्छु भने समाज आफ्नो नजरले देखेका कुनै पनि सूक्ष्म र सामान्य व्यक्ति, वस्तु परिवेशलाई जति सकिन्छ आफ्नो विषयक्षेत्र जस्तै शिक्षा, स्वास्थ्य, अर्थ आदि कोणबाट बुझ्न प्रयास गरौं, टिपोट गरी बुझ्ने, कुनै मध्यमबाट संप्रेषण गरौं । एक शिक्षकको नाताले मेरो जीवनकालमा यस्ता सानाठूला वस्तु, व्यक्ति, परिवेश देखेको थिएँ, देख्दैछु तर मैले त्यो बानी बसालिन, अहिले पश्चाताप लागेको छ । त्यस्ता कुरा मैलेमात्रै देखेको छैन हामी प्रत्येकले देखे सुनेका छौं, भोगेका छौं तर त्यसलाई सम्प्रेषण भने गरेका छैनौं या नितान्त कमले गरेका छौं ।
समय घर्किएपछिपश्चाताप गरेर के गर्ने । मेरो छिमेकी गाउँ मसेलका मेरो नाता पनि पर्ने चन्द्रप्रसाद भट्ट साहुबाट गाउँठाउँमा परिचित हुनुहुन्थ्यो । उहाँले भन्ने गर्नुहुन्थ्यो ‘अनि बेला आउँछ, अनि बेला जान्छ बेला बितेपछि अनि कहाँ पाउँछ’ । हाम्रो पालामा, नेपालमा नयाँ शिक्षा अर्थात राष्ट्रिय शिक्षा पद्धति (२०२८) लागू हुनुअघि जसलाई सरल भाषामा भन्दा पुरानो शिक्षा भनिन्थ्यो त्यसअन्तर्गत यसएलसी परीक्षामा अंग्रेजी विषयमा यस्तै खाले उखान या उक्ति दिइन्थ्यो र त्यसको व्याख्या गर्नुपर्दथ्यो । साना तथा सूक्ष्म विषयबाट धेरै सिक्न र सिकाउन सकिन्छ । हिजोका सन्देश आज र आजका सन्देश भोलिका पुस्तालाई सम्प्रेषण गर्दै लगियो भने आउने पुस्तालाई विषयक्षेत्र अनुसार अध्ययन गर्न, आफ्ना मार्ग प्रसस्त गर्न निश्चय सार्थक र उपयोगी हुन सक्छन् ।
नेपाली समाज पराबलम्बी, प्रत्येक उपदेशक र ढोंगीजस्तो बन्दै गएको अनुभव हुँदैछ । सीमित व्यक्ति झनै समृद्ध बन्दै जानुभएको र बाँकी ठूलो जनसंख्या हाँडीघोप्टेको अवस्था जस्तो हुँदै गएको सूचकहरूले देखाइराखेका छन् । वास्तवमा ती ठूला ओहदामा रहनुभएका र उहाँहरूका निकटवालामा हाँडीघोप्टेका लक्षण देखिन्छन् । विभिन्न काण्डमा मुछिनुभएका खबर सुन्न र पढ्न पाइन्छ । त्यो एकले अर्कालाई देखाएर । सिधा भन्नुपर्दा कुनै ठूला नेता र तिनका निकटका व्यक्ति वैभवशाली हुनुभयो, हुनुहुन्छ तर आमजनता पिल्साहटमा छट्पटिइरहनुभएको छ ।
यो मेरो आरोप होइन । केही मेरा अवलोकनका आधार हुन् भने कतिपय सञ्चारमाध्यम र कानुनी प्रक्रियामा चलिसकेका आधारमा उल्लेख गरेको हुँ । खास प्रकृतिको सूक्ष्मताभित्र विशाल ज्ञान लुकेको हुन्छ । त्यसलाई समयमै पहिचान गर्नुपर्ने रहेछ भन्ने अनुभवमात्र यस स्तम्भमा उल्लेख गरेको हुँ । यस प्रयोजनका लागि एक जमानाका पात्र ‘हाँडीघोप्टे’ जसका सतही, झल्याकझुलुकको देखाइ, संयोगबस कानमा ठोकिन आइपुगेका केही शब्द, अभिव्यक्तिलाई साभार मानी आफ्नो अनुभूति सम्प्रेषण गरेको हुँ । (नेल्टाका पूर्वअध्यक्ष तथा नेपाल शिक्षक संघका पूर्वकेन्द्रीय वरिष्ठ उपाध्यक्ष डा.भट्ट कोवेन्ट्री विश्वविद्यालय ग्रुप, बेलायतमा प्राध्यापन गर्नुहुन्छ ।)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच