अर्घाखाँची । पार्टी संगठनलाई सशक्त बनाउन एमाले जिल्ला कमिटी अर्घाखाँचीको बैठक सम्पन्न भएको छ । बैठकले पार्टी सचिवालय विस्तार गर्दै २१ सदस्यीय जिल्ला सचिवालय गठन गर्ने निर्णय गरेको छ । साथै, जिम्मेवारीमा नरहेका कमरेडहरूलाई क्षेत्रीय समन्वय कमिटी तथा जिल्ला कमिटीमा मनोनयन गरिएको छ ।
बैठकको उद्घाटन उपसचिव खगिश्वर पन्थीले स्वागत मन्तव्य राखेर गर्नुभएको थियो । बैठकमा पार्टी सचिव विधानले केन्द्रीय तथा प्रदेश समितिबाट प्राप्त सर्कुलर वाचन गर्नुका साथै वार्षिक कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । बैठकले प्रस्तावलाई निर्णयार्थ अनुमोदन गरेको छ ।
बैठकले तीनमहिने "बडाकेन्द्रित पार्टी निर्माण अभियान २०८१" सञ्चालन गर्ने निर्णय गरेको छ । अभियानको उद्देश्य पार्टी नीति, सिद्धान्त र नेतृत्वलाई जनतामाझ स्थापित गर्नु, पार्टीविरुद्ध फैलाइएका भ्रम चिर्नु, युवा नेतृत्व विकास गर्नु, प्रविधिमैत्री कार्यकर्ता तयार पार्नु, तथा विकास र समृद्धिसँग जनतालाई जोड्नु रहेको छ । बैठकमा अभियानलाई प्रभावकारी बनाउन सबै तहका कार्यकर्ताहरूलाई सक्रिय रुपमा संलग्न हुन आग्रह गरिएको छ ।
जिल्ला अध्यक्ष पिताम्बर भुसालले संगठन सुदृढीकरण र कार्यकर्ताको भूमिकालाई प्रभावकारी बनाउन कमिटी पुनर्गठन गरिएको बताउनुभयो । उहाँले भन्नुभयाे, "संगठन बलियो र जनमुखी नबनाएसम्म हाम्रो उद्देश्य पूरा हुँदैन । पार्टीको सिद्धान्त जनताको घरदैलोमा पुर्याउनु हाम्रो प्रमुख कर्तव्य हो । यसका लागि अनुशासित, लगनशील र जिम्मेवार कार्यकर्ताको आवश्यकता छ ।"
अध्यक्ष भुसालले थप्नुभयो, "पार्टी निर्माण अभियानले संगठनलाई एकीकृत गर्ने मात्र होइन, जनताको समस्यामा पार्टीको प्रत्यक्ष उपस्थितिलाई सुनिश्चित गर्नेछ । संगठन निर्माणमा कोही पनि पछाडि पर्ने छैन । सबै कार्यकर्ताले सक्रिय भूमिका निर्वाह गर्नुपर्छ।"
बैठकले प्रदेश कमिटी तथा भूमि आयोगमा मनोनित हुने नेताहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । बैठकले संगठनलाई अझ सबल बनाउने दिशामा जिम्मेवारी पाउने नेताहरूले प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ ।
बैठकले हालसालै दिवंगत भएका पार्टी सदस्य तथा पार्टीका निकट रहनुभएका महानुभावहरूको निधनप्रति गहिरो शोक व्यक्त गर्दै मृत आत्माप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । साथै, शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै उनीहरूसँग ऐक्यबद्धता जनाएको छ ।
बैठकमा पार्टीका केन्द्रीय, प्रदेश, जिल्ला तथा स्थानीय तहका नेताहरूको सक्रिय सहभागिता रहेको थियो । संगठन सुदृढीकरण तथा जनताको भावनासँग पार्टीलाई अझ बलियो रूपमा जोड्ने उद्देश्यसहित बैठकले विभिन्न रणनीतिक योजनाहरू अघि सारेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच