‘समाजवादी क्रान्तिका दुई चरण’बारे बहस

बाबुराम दाहाल
Read Time = 6 mins

भक्तपुर । नेपाल संवैधानिक रूपमै समाजवाद उन्मुख भएपनि समाजवादको स्पष्ट बाटो बन्न नसकेको नेता एवं अभियन्ताहरुले बताएका छन् ।

अर्थ राजनीतिका बिश्लेषक तथा लेखक डीपी ढकालको पुस्तक ‘समाजवादी क्रान्तिका दुई चरण’बारे राजधानीमा परिचर्चा गर्दै शनिबार समाजवादी नेता एवं अभियन्ताहरुले नेपाली विशेषतासहितको समाजवादको आधार निर्माण गर्नुपर्ने आवश्यकता औल्याए ।

शंखमुलको बर्गर क्लबमा ननस्टप मिडियाले आयोजना गरेको सो पुस्तक परिचर्चा कार्यक्रममा नेकपा(माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवं राजनीतिक विश्लेषक लेखनाथ न्यौपानेले आर्थिक आधारमा मात्र समाजवाद निर्माण गर्न नसकिने बताउनुभयाे ।

समाजवादमा कस्ता मानिस हुने र कस्ता बनाइने भन्ने प्रश्न महत्वपूर्ण भएको नेता न्यौपानेको भनाइ छ । उहाँले वर्तमान संसदीय प्रतिस्पर्धाबाट समाजवादमा पुग्न नसकिने भन्दै समाजवादको पहिलो चरणमै पुग्न भिडन्त अनिवार्य रहेको उल्लेख गर्नुभयाे ।

प्रा डा सूर्य थापाले समाजवादका दुई चरण थेसिसका रुपमा अघि बढ्नुपर्ने बताउनुभयाे । माओवादी केन्द्रकै केन्द्रीय सदस्य रामदीप आचार्यले समाजवादको एकल मार्ग नहुनेमा जोड दिदैँ दुई चरण बस्तुगत होकि होइन र अरु बाटोबाट पनि समाजवाद सम्भव छकि छैन भन्ने बारे व्यापक बहस हुनुपर्ने बताउनुभयाे ।

त्यस्तै, अर्का केन्द्रीय सदस्य अनिल शर्माले समाजवाद केन्द्रीत कार्यक्रममा जोड दिनुभयाे । पत्रकार दुर्गा खनालले नयाँ पुस्तालाई समाजवादका पर्याप्त खुराक दिन नसक्दा समाजवादमा पुग्न नसकिने प्रष्ट पार्नुभएकाे थियाे ।

राष्ट्रिय युवा परिषदका उपाध्यक्ष सुरेन्द्र बस्नेतले शिक्षा क्षेत्रबाट समाजवादको अभ्यास शुरु गर्नुपर्ने विचार ब्यक्त गर्नुभयाे भने पत्रकार नरेश रेग्मीले पुस्तकसंगै सामाजिक संजाल र सूचना प्रविधिको प्रयोगगरी समाजवादी ज्ञानलाई प्रचार गर्नुपर्नेमा जोड दिनुभयाे । युवा नेता बिजय गौतमले पुजीवादमा संकट देखापरेपनि पुँजीवादले सामाजवादको नीति चोरेर आफूलाई हाइब्रीड बनाई आफ्नो आयू लम्बाइ रहेको विचार ब्यक्त गर्नुभयाे ।

मार्क्सवादी अध्ययन प्रतिस्ठानका उपाध्यक्ष श्रीराम खाइजूले समाजवादबारे उपलब्ध सामाग्री बुद्धि बिलासको रुपमा मात्र रहेको र त्यसले आम जनमत आकर्षित गर्न नसकेको तर्क गर्नुभयाे । उहाँले समाजवादमा पुग्ने चरण सजिलो नभएको र त्यसका लागि बौद्धिक एकता प्रदर्शन गरि मार्गनिर्देश गर्नुपर्नेमा जोड दिनुभयाे ।

सो अवसरमा बागमती प्रदेश सभाकी सदस्य भुवनकेशरी श्रेष्ठ भावना, माओवादी केन्द्रका नेताहरु दीपक देवकोटा, तिलक मल्ल, सुनिल गोठे बासु, पत्रकार बबिन शर्मा, प्रकाशक ननस्टप मिडियाका निर्देशक संजीप शुभचिन्तकलगायतले यस्ता बहसले समाजवादको बाटो तय गर्न मद्दत मिल्ने विश्वास व्यक्त गर्नुभयाे ।

कार्यक्रममा ‘समाजवादी क्रान्तिका दुई चरण’का लेखक डीपी ढकालले समाजवाद आफैं आउँछ वा सचेत प्रयत्न आवश्यक छ भन्ने बारे समाजवादका यात्रीहरुमै अलमल र अस्पष्टता रहेको उल्लेख गर्दै पुस्तकमा समाजवादमा कसरी पुग्ने भन्ने बहस उठान गरिएको प्रष्ट पार्नुभयाे ।
समाजवादका लागि पहिलो चरणमा ‘समाजवादोन्मुख राज्य संरक्षित औद्योगिक पुँजीवाद’ को बाटोमा अघि बढ्नुपर्ने र दोस्रो चरणमा ‘समाजवादमा संक्रमणको महा अभियान आवश्यक हुने’ उहाँको तर्क छ ।

समाजवादको निर्माण, पुँजीवादी विश्व व्यवस्थाको विकास, समाजवादी अर्थराजनीतिको अन्तर्राष्ट्रिय अनुभव, समाजवादी क्रान्तिका दुई चरण, समाजवादमा संक्रमणको नेपालको मौलिक बाटोलगायतका आठ वटा शीर्षकमा तर्क र तथ्यहरू प्रस्तुत गरिएका पुस्तक ‘समाजवादी क्रान्तिका दुई चरण’ ननस्टप मिडियाले प्रकाशन गरेको हो ।

१ सय पृष्ठ रहेको पुस्तकको मूल्य २ सय ५० रुपैयाँ राखिएको छ । प्रकाशनको १ वर्ष नपुग्दै तेस्रो संस्करण प्रकाशन गर्नुपरेबाट पुस्तक पठनीय रहेको पुष्टि हुने प्रकाशकको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?