
काठमाडौं । धनुषा जिल्लास्थित धनुषाधामलाई विद्युत् चोरीमुक्त नगरपालिका घोषणा गरिएको छ । धनुषाधाम नगरपालिकाको आयोजना र नेपाल विद्युत् प्राधिकरणको संयोजकत्वमा नगरपालिका विद्युत् चोरीमुक्त क्षेत्र घोषणा गरिएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र नगरपालिका प्रमुख बालेश्वर मण्डलले शनिबार धनुषाधाममा आयोजित कार्यक्रममा नगरपालिकालाई विद्युत् चोरीमुक्त क्षेत्र घोषणा गर्नुभएको प्राधिकरणले जनाएको छ ।
कार्यक्रममा धनुषाधाम नगरपालिका क्षेत्रमा बसोबास गर्ने पिछडिएका तथा आर्थिकरूपमा विपन्न घरपरिवारलाई निःशुल्क विद्युत् मिटर वितरणसमेत गरिएको छ । ऊर्जामापक यन्त्र (मिटर)मार्फत् बाहेक विद्युत्को अन्य लाइनबाट प्रत्यक्ष वा अप्रत्यक्षरूपमा विद्युत् लाइन तानेमा वा जडान गर्ने (हुकिङ), मिटरलाई छली विद्युत् प्रयोग गर्ने, मिटर तोडी, नासी, बिगारी वा अन्य कुनै किसिमले क्षति पुर्याउने वा सामान्य परिचालन हुन नसक्ने गरी असक्षम बनाउनेलगायतका कार्य गरेमा विद्युत् चोरीको कसुर गरेको मानिने कानुनी व्यवस्था छ । चोरीमार्फत् अनधिकृत र असुरक्षितरूपमा विद्युत् प्रयोग गर्दा हरेक वर्ष धनजनको क्षति हुने गरेको छ ।
प्राधिकरणले विद्युत् पहुँच विस्तार र अनधिकृतरूपमा हुने विद्युत् प्रयोग रोक्न मिटर नै किन्न नसक्ने पिछडिएका तथा आर्थिकरूपमा विपन्न घरपरिवारलाई निःशुल्क विद्युत् मिटर वितरण गर्दै आएको छ । मुलुकभर रहेका आफ्ना वितरण केन्द्रमार्फत् प्राधिकरणले विपन्नलाई निः शुल्क मिटर उपलब्ध गराएर विद्युत् जडान गरिदिँदै आएको छ । विपन्नले प्राधिकरणको मापदण्डअनुसारको ५-३० एम्पियर क्षमताको बक्ससहितको सिंगल फेज इनर्जी मिटर, एमसिबी बक्स निःशुल्क पाउनेछन् । प्राधिकरणले मिटर जडानका लागि सेवा शुल्क लिँदैन । धनुषाधामले आफ्नै प्रयास र पहलमा विद्युत् चोरीमुक्त नगरपालिका घोषणा गरी ठूलो चुनौती लिएको उल्लेख गर्दै कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले विद्युत् चोरी सामाजिक अपराध भएकाले नियन्त्रणका लागि प्राधिकरणतर्फबाट गर्नुपर्ने प्राविधिक कामलाई उच्च प्राथमिकतामा राखी अघि बढाइएको बताउनुभयो ।
उहाँले विद्युत् नै नपुगेका ठाउँ खोजी गरी अहिले त्यस्ता ठाउँमा बसोबास गरिरहेका नागरिकलाई विद्युत् पुर्याउन पहाडको टुप्पोदेखि मधेसका फाँट, कर्णाली र सुदूरपश्चिमका विकट बस्तीमा विद्युतीकरणको अन्तिम चरणको काम चलिरहेको बताउनुभयो । घिसिङले भन्नुभयो, ‘उज्यालो अभियानअन्तर्गत देशभित्र विद्युत् खपत बढाउन विद्युत् पुगेका ठाउँमा आपूर्ति भरपर्दोे र गुणस्तरीय बनाउन र नपुगेका विकट ठाउँमा विद्युत् पुर्याउन प्राथमिकतासाथ काम गरिरहेका छौं, कर्मचारीलाई तलब नखुवाएरै भए पनि घर-घरमा विद्युत् पु¥याउनेछौं । नेपालको खाद्यान्न भण्डारका रूपमा रहेको तराईका खेत-खेतमा विद्युत् पुर्याएर सिँचाइमार्फत् उब्जनी र उत्पादकत्व बढाउनुपर्छ, यसका लागि स्थानीय तहसँगको सहकार्यमा सिँचाइको विद्युतीकरण अघि बढाएका छौं ।’
घिसिङले कृषि र औद्योगिक क्षेत्र विस्तारको प्रचुर सम्भावना रहेको मधेस प्रदेशका जिल्लामा विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन प्रसारण तथा वितरणतर्फका पूर्वाधार संरचना विस्तार र सुदृढीकरणका लागि करिब ४० अर्ब रुपैयाँ लगानीका विभिन्न आयोजनाको काम भइरहेको उल्लेख गर्नुभयो ।
सिँचाइ र गार्हस्थतर्फको विद्युतीकरणमा धेरै काम भएको उल्लेख गर्दै नगरपालिका प्रमुख मण्डलले खाना पकाउने ग्याँसलाई विस्थापित गर्न विद्युतीय चुलोमा अनुदानको व्यवस्था गरिनुपर्ने बताउनुभयो । कार्यक्रममा विद्युत् चोरी सामाजिक अपराध भएको सन्देश दिने नाटक पनि प्रस्तुत गरिएको थियो । प्राधिकरणका अनुसार मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८१÷८२ को पुससम्ममा वितरणतर्फको विद्युत् चुहावट १४.२० प्रतिशत छ । चालु आवमा मधेस प्रदेशको विद्युत् चुहावट ११.९ प्रतिशतमा झार्ने लक्ष्य तय गरिएको छ । प्राधिकरणले गैरप्राविधिक चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण, महसुल बक्यौता असुलीमा कडाइ, मिटर बाइपास तथा हुकिङ गरी चोरी गर्नेलाई कडा कारबाही गर्र्नेे, बन्द मिटर फेर्ने, मिटर लिन प्रोत्साहित गर्ने, मिटर रिडिङ नभएको (स्टक युनिट) ग्राहकको पहिचान गरी रिडिङ गर्ने काम अभियानकै रूपमा चलाइरहेको छ ।
प्राधिकरणले आफ्ना हरेक वितरण केन्द्रलाई प्रत्येक वर्ष चुहावट नियन्त्रणको लक्ष्य दिई सोहीअनुसार क्रियाकलापहरू सञ्चालन गरिरहेको छ । प्राधिकरणले गत आवमा प्रणालीको विद्युत् चुहावट करिब १२.७३ प्रतिशतमा झारेको थियो । आठ वर्षअघिसम्म प्रणालीबाट २५.७८ प्रतिशत विद्युत् चुहावट भइरहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच