
काठमाडौं । प्राडा तीर्थप्रसाद मिश्रका एक साथ दुई कृतिको विमोचन छ । काठमाडौंमा एक विशेष कार्यक्रमबीच शनिबार मिश्रका नेपाल भोट विवाद, ग्याल्बु (ग्याल्पो) काण्ड र नेपालको इतिहासमा केही रोचक प्रसंग शीर्षकका पुस्तक विमोचन गरिएको हो।
लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.त्रिरत्न मानन्धरले उक्त पुस्तकहरूले नेपाल-भोटसँग सम्बन्धमा विगतमा आएका आरोह, अवरोहबारे स्पष्ट हुन सकिने बताउनुभयो । उहाँले इतिहास भनेको विज्ञान, कला दुवै हो भन्नुहुँदै लेखक प्राडा.तीर्थप्रसाद मिश्रका इतिहासबारे अध्ययन, विश्लेषण गरी प्रमाणसहित लेख्ने रुचिले नेपालले इतिहासबारेका नयाँ नयाँ पुस्तक र दस्ताबेज प्राप्त गर्न सफल भएको बताउनुभयो । बानेश्वर क्याम्पस प्रमुख प्राडा. घमानसिंह खड्काले केही वर्षका अन्तरालमा लेखक प्राडा.मिश्रका कृतिहरू प्रकाशित हुने क्रम निरन्तर चलिरहेको भन्दै खुशी व्यक्त गर्नुभयो ।
सहप्राडा. विनयप्रसाद मिश्रले पुस्तक नेपाल भोट विवाद, ग्याल्बु (ग्याल्पो) काण्ड पुस्तकबारे समीक्षा गर्दै यस पुस्तकले इतिहास भनेको तत्कालीन राजा, महाराजाको बेलिविस्तार मात्र लेख्ने होइन, नागरिक पनि इतिहास लेखिने विषय बन्न सक्ने कुरा प्रस्ट भएको बताउनुभयो । उहाँले ग्याल्पो शेर्पा भन्ने व्यक्ति भोटको हिरासतमा मृत्यु हुँदा नेपाल र भोटबीच दुवै देशले शेर्पा आ-आफ्नो देशको भन्ने विवाद बढेर युद्धको तयारीसमेत भएको प्रसंगलाई प्राडा तीर्थप्रसाद मिश्रले नेपालको परराष्ट्र मन्त्रालयमा सुरक्षित दस्ताबेजको अध्ययनगरी नेपाल भोट विवाद, ग्याल्बु (ग्याल्पो) काण्ड पुस्तक नै तयार गरी ऐतिहासिक प्रमाणसहित पाठकमाझ आउनुभएको बताउनुभयो ।
यस्तै, सहप्राडा.निरञ्जन ओझाले नेपालको इतिहासमा केही रोचक प्रसंगहरू पुस्तकबारे समीक्षा गर्दै इतिहास विज्ञान हो भन्दै इतिहासले कारण, प्रभावबीचको सम्बन्ध स्थापित गर्ने बताउनुभयो । सो पुस्तकले नेपालको रोचक र तथ्यपरक इतिहासबारे पाठक तथा भावी पुस्तालाई यथेष्ट जानकारी दिने विचार व्यक्त गर्नुभयो । बानेश्वर क्याम्पस सञ्चालक समितिका उपाध्यक्षसमेत रहनुभएका लेखक तीर्थप्रसाद मिश्रले अवकाश प्राप्त समयको सदुपयोग गर्दै विगतमा हेमन्त शमशेर राणाको सहयोगमा परराष्ट्र मन्त्रालयमा सुरक्षित ऐतिहासिक दस्ताबेजको अध्ययनको सदुपयोग गरी उक्त पुस्तकहरू तयार भएको सुनाउनुभयो । बानेश्वर क्याम्पस सञ्चालक समितिका अध्यक्ष हरिबोल भट्टराईले सार्वजनिक भएका पुस्तकले नेपाल, भोट सम्बन्धको इतिहासलाई पुस्तान्तरण गर्न योगदान पुग्ने जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच