
काठमाडौं । मधुमेह (डाइबेटिज) सम्बन्धी एकदिने अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । सम्मेलन आउँदो फागुन १७ गते द म्यासिफ होटलमा हुन लागेको हो । धन-योग फाउण्डेसन अमेरिकाले डायबिटिज एण्ड इन्डोक्राइनोलोजी सोसाइटीसँगको सहकार्यमा काठमाडौंमा उक्त सम्मेलन गर्न लागेको हो । नेपाललगायत दक्षिण एसियामा मधुमेहका बिरामीको समस्या बढेकाले त्यसको निराकरणका लागि सम्मेलन गर्न लागिएको बताइएको छ ।
आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरेर नेपाल एनसिडी अलायन्सका डा. प्रज्ज्वल प्याकुरेलले सम्मेलनबारे जानकारी दिनुभएको हो । सम्मेलनमा विभिन्न राष्ट्रहरूको छाता संगठनमा आबद्ध इण्डोक्राइनो लोजिष्टसहित अध्ययन अनुसन्धानकर्ताहरू सहभागी रहने बताइएको छ । सम्मेलनमा नेपाल, अमेरिका, भारतलगायत देशका विज्ञहरूसमेतको सहभागिता रहनेछ । सम्मेलनमा विभिन्न देशका विज्ञहरूबाट विश्वमा मधुमेहको उपचार र रोकथामका लागि भइरहेका प्रयास, अनुसन्धान र त्यसका निष्कर्षका साथै प्रविधि र प्रयोगका विषयमा समेत छलफल हुने आयोजक संस्थाले पत्रकार सम्मेलनमार्फत् जानकारी दिएको छ । सम्मेलनमा हुने उच्चस्तरीय छलफल र त्यसबाट निस्किएका निष्कर्ष मधुमेहको रोकथाम र उपचारका लागि सरकारले बनाउने नीतिका लागि सहयोगी हुने विश्वास आयोजकको छ ।
सम्मेलनमा प्रशिक्षकहरू, सम्बन्धित चिकित्सकहरू, मेडिकल चिकित्सकहरू, विभिन्न विश्वविद्यालयका रिसर्जरहरू, देशविदेशमा रहेका प्रोफेसरहरूलगायत दुई सय बढीको सहभागिता रहने बताइएको छ । भारतको भेलोरस्थित क्रिस्चियन मेडिकल कलेजको इण्डोक्राइनोलोजी विभाग (युनिट १) प्रमुख डा. नितिन कपुर, बेइस्टेट मेडिकल सेन्टरमा कार्यरत डा. राजु पन्त, अमेरिकाबाटै डा. अजय चौधरी, प्राडा मेरेडिथ हकिन्स, डा. राल्फ डेफरेन्जो, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. रोबिन मास्के, भारतका डा. निहाल थोमस, विश्व स्वास्थ्य संगठनबाट डा. ग्याम्पो दोर्जी, नेपाल एनसिडी अलायन्सका डा. प्रज्ज्वल प्याकुरेल र नेपाल विकास समाजका डा. श्वेता कोइराला सहभागी हुने पक्का भइसकेको छ ।
सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, युनिभर्सिटी अफ म्यास्सचुसेट्स, डायबिटिज एण्ड इण्डोक्राइनोलोजी एसोसिएसन नेपाल र नेपाल हेल्थ क्रप्सले सहकार्य गर्नेछन् । मुख्य आयोजक संस्था धन-योग फाउण्डेसन अमेरिकामा दर्ता भएको संस्था हो । यसले सीमान्तकृत समुदायको आँखा स्वास्थ्य, मधुमेह हेरचाह तथा शिक्षामा काम गरिरहेको छ । मधुमेह र मोटोपनको अन्योन्याश्रित सम्बन्धका बारेमा अन्तर्राष्ट्रियरूपमा जनचेतना जगाउने उद्देश्यले यो सम्मेलनको आयोजना गरिएको डा. प्याकुरेलले बताउनुभयो ।
सुर्तीजन्य पदार्थविरुद्ध अभियान
नेपाल हेल्थ कोप्र्सले वल्र्ड फेडेरेसन अफ पब्लिक हेल्थ एसोसिएसन्सको सहयोगमा सुर्तीजन्य पदार्थविरुद्ध अभियानको सुरुवात गरेको छ । माघ १९ बाट सुरु भएको अभियान सुर्तीजन्य पदार्थ सेवन निरुत्साहित, आमजनमानसमा यसको हानिबारे शिक्षा र स्वास्थ्य प्रवद्र्धन गराउनु रहेको सोही पत्रकार सम्मेलनमा डा. आयुष विष्टले बताउनुभयो । नेपाल हेल्थ कोर्स युवाहरूद्वारा सञ्चालित एक गैरराजनीतिक, गैरनाफामुखी सामाजिक संस्था हो । जसले जनस्वास्थ्यका समस्याहरूलाई सम्बोधन गरेर रोकथाम र समानता प्रवद्र्धनमा काम गर्दछ । यस संस्थाको एम्बासडर प्रोग्रामले स्वस्थ्य क्षेत्रमा अध्ययनरत युवायुवतीहरूलाई सार्वजनिक स्वास्थ्यबारे वकालत, शिक्षा र कार्यमा संलग्न गराउँदछ ।
पत्रकार सम्मेलनमा डा. आयुषले भन्नुभयो, ‘हामीले प्रायः विभिन्न स्वास्थ्य संस्थाहरूबाट एक–एक एम्बासडरहरू चुनेका छौं । उहाँहरूलाई स्वास्थ्य अभियानहरू आयोजना गर्न, चेतना फैलाउन र विभिन्न अनुभव गराएपछि समाजमा अभियानमार्फत् कार्यक्रम गर्न पठाउँछौं । यो वर्ष हामीसँग ३३ जना एम्बासडरहरू रहेका छन् जसले विभिन्न किसिमका सामुदायिक गतिविधि सञ्चालन गर्नेछन्, जसमध्ये एउटा महत्वपूर्ण कार्यक्रम भनेको विद्यार्थी वर्गमा धूमपानविरोधी अभियान हो । एम्बासडरहरूले यस अभियानको पहिलो चरणमा १० हजार विद्यालयका विद्यार्थीहरूको डाटा संकलन गर्नेछन् । एक एम्बासडरले आफ्नो समूह बनाई ३५० देखि ४०० जना विद्यार्थीलाई शिक्षा प्रदान गर्नुहुनेछ ।’
रोक्न सकिने मृत्युहरूको प्रमुख कारणमध्ये एक सुर्तीजन्य पदार्थको सेवन हो, जुन वार्षिक ८.७ मिलियन व्यक्तिको मृत्युको कारण मानिएको छ । दक्षिण एसियाका सन्दर्भमा सुर्तीजन्य पदार्थ सेवन ८.७ मिलियन मृत्युहरूको कारण बनेको छ र २०२३ मा यो नसर्ने रोगहरूको प्रमुख जोखिम कारकका रूपमा रहेको छ । नेपालमा सन् २०२३ मा सुर्तीजन्य पदार्थ नसर्ने रोगको प्रमुख कारण बनेको छ, जसले २७ हजार पाँच सय मृत्यु (कुल मृत्युको १५.५ प्रतिशत) निम्त्याएको संस्थाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
विद्यार्थीहरूमा सुर्तीजन्य पदार्थको प्रयोगबारे जनचेतना कार्यक्रम गर्दा परिवार र समुदायमा पनि यसको प्रभाव पर्ने विश्वास गरिएको छ । अभियानमा डा. प्रज्ज्वल प्याकुरेल, डा. आयुष विष्ट, कमल विश्वकर्मा, निरूपा शर्मा, डा. धिरज शाह, डा. दीपिका लामिछाने, निशान्त पाण्डे, प्रवेश बास्तोलालगायतले नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच