आफ्नो मातृभाषा, राष्ट्र, राष्ट्रियभाषा शुद्ध बोल्नु, लेख्नु राष्ट्रप्रेम, राष्ट्रधर्म मात्रै नभएर नागरिक धर्म र कर्तव्य हो । जुन देशमा जन्मन्छ, बस्छ त्यो देशको भाषा शुद्ध लेख्न, बोल्न जसले जान्दैन ऊ कसरी आदर्श नागरिक हुन्छ ? आदर्श नागरिक हुनुको नाताले देशको प्रचलित भाषा शुद्ध लेख्ने, बोल्ने धर्म निर्वाह गर्ने काममा चुक्ने छुट कसैलाई छैन । शुद्ध लेख्न, बोल्न जान्दिन, सक्दिन भनेर झुक्ने छुट भाषिक अशुद्धताका सन्दर्भमा पाइँदैन । भाषिक शुद्धताप्रति गैरजिम्मेवार र गैरजवाफदेही किमार्थ स्वीकार्य विषय होइनन् । यहाँ खासगरी बौद्धिक वर्गका नेपालीहरूको लेखनमात्रै होइन पठन शुद्धतामा प्रश्नवाचक चिहृन लाग्ने विषय वास्तवमा लज्जास्पद भन्नुपर्छ ।
जुनसुकै विषयका भए पनि एउटा सक्कली प्राध्यापकलाई प्राथमिक विद्यालयमा सिकाइने नेपाली भाषाको ह्रस्वदीर्घ जस्तो आत्मालाई चिन्दिन र जान्दिन भन्ने गल्ती गर्न पाइँदैन । नजान्जेहरूले सिक्नुको विकल्प छैन । जानीजानी गल्ती यदि गरेका हुन् भने त्यो लापरबाही किमार्थ क्षम्य हुँदैन । भाषिक शुद्धता सभ्य नागरिकको चिनारी हो । विश्वविद्यालयबाट, नेपाल सरकारबाट र अन्य संघसंस्थाबाट उच्च पदबाट सेवा निवृत्त धेरै शुभचिन्तक, विद्यार्थी, संस्कृतका धुरन्धर विद्वानसँग म सामाजिक सञ्जालमा जोडिएको छु । उनीहरूका विचार, लेख, कथा, कविता, गजल आदि रचना पढ्ने माध्यम अहिले सामाजिक सञ्जाल भएको छ ।
देशको परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपाली पढ्न र बोल्न नजानेको सामाजिक सञ्जालमा छरपष्ट भयो । मातृभाषा शुद्ध बोल्न नजान्ने व्यक्ति किन र कसरी परराष्ट्रमन्त्री जस्तो पदमा योग्य भइन् ? नेपालको सुशासन, विकास र समृद्धिको बाधक नै नातावाद र कृपावादका आधारमा हुने राजनीतिक नियुक्ति हुन् ।
ती विचारहरू हेर्दा, पढ्दा र सुन्दा जान्नेहरू समेतबाट गल्ती भएको विषयमा कतिपयलाई सच्याउँन भनेको छु । कति जनासँग त मेरो वादविवाद नै भएको छ । आफू पनि विश्वविद्यालयबाट रिटायर्ड भएको तर टायर्ड नभएकोले होला विगत पाँच वर्षदेखि हिमालय टाइम्स दैनिकमा मंगलबारको दिन मेरा लेख नियमित निस्कन्छन् । म अर्थशास्त्रको विद्यार्थी हुँ भनेर भाषिक अशुद्धताबाट छुट्कारा पाउने छुट मलाई हँुदैन भन्ने दृष्टिकोणबाट म प्रभावितमात्रै छैन निष्ठा र लगनशीलताका साथ भाषा शुद्ध लेख्नुपर्छ भन्ने सचेतना सवार छ । अहिले जमाना फेरिएको छ । कम्प्युटर, मोबाइल, ल्यापटपमा शब्दकोष राख्न र हेर्न मिल्ने भएकाले अहिलेका लेखक, विचारक, कवि लगायत आमपाठक सबैले शब्दकोष हेरेर शुद्ध लेख्ने किन नगर्ने ? भाषिक अशुद्धता लेखनमा प्रयोग गर्ने छुट किमार्थ हुनुहुन्न । अझ शिक्षण, प्राध्यापन र कर्मचारी क्षेत्रबाट सेवा निवृत्तहरूको योग्यताको जाँचसमेत आफ्ना विद्यार्थीहरूले र विद्वान पाठकले जीवनभर निरन्तर लिने हुँदा अहिले ऊसँग पेन्सन खाने योग्यता छ कि छैन भनेर जाँच्ने भाषिक शुद्धता हो भन्ने विषयलाई ख्याल गरेर शिक्षक, प्राध्यापक र कर्मचारी वर्गले नेपाली भाषा लेख्दा र बोल्दा शुद्ध लेख्नु र बोल्नुको विकल्प छैन । नजान्ने विषयभन्दा जान्न नचाहने र लापरबाही ठूलो हो ।
लेख्ने तर शुद्ध लेख्न सिक्न नचाहने र लापरबाही गर्नेहरूका प्रति सामाजिक दण्डको व्यवस्था गर्नुपर्छ । अंग्रेजीको प्रभावका कारण म नेपाली जान्दिन भन्दा प्रतिष्ठित हुने बोर्डिङे मनोविज्ञानको सिकार नेपाली भाषा भएको छ । देशको परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपाली पढ्न र बोल्न नजानेको सामाजिक सञ्जालमा छरपष्ट भयो । मातृभाषा शुद्ध बोल्न नजान्ने व्यक्ति किन र कसरी परराष्ट्रमन्त्री जस्तो पदमा योग्य भइन् ? नेपालको सुशासन, विकास र समृद्धिको बाधक नै नातावाद र कृपावाद र नजरानावादका आधारमा हुने राजनीतिक र संवैधानिक नियुक्ति हुन् । आरजु देउवाको कांग्रेसमा लगानी शेरबहादुरकी श्रीमती बन्नुबाहेक अन्य योगदान के छ ? उनी कांग्रेसहरू मध्येबाट प्रतिस्पर्धामा परराष्ट्रमन्त्री हुने योग्यता एकातिर राख्दिनन् भने नेपाली शुद्धसँग पढ्नसम्म नसक्दा उनले आफैंले आफूलाई अयोग्य प्रमाणित गरेकी छन् ।
कांग्रेसमा परराष्ट्रमन्त्री बन्ने लगानी, योग्यता, क्षमता हुनेहरूको कमी छैन । त्यसो हुँदाहुँदै पनि आरजु कसरी र किन परराष्ट्रमन्त्री भइन् ? यसको रहस्य र गर्भभित्र सुशासन, विकास, नेपालीको समृद्धि र पार्टीको प्रतिष्ठा बन्दीमात्रै छैन लिलाम छ । यो रोग अन्य पार्टीहरूमा अझ चर्को छ । भाषाको विषय जहाँ आउँछ त्यहाँ भाषिक शुद्धताको विषय स्वतः उपस्थित हुन्छ । बोलाइ, लेखाइमा भाषिक शुद्धताको धर्म निर्वाह गर्न लापरबाही गर्नु र शुद्धताका विषयमा बेवास्ता गर्ने विषय आफैंमा आपराधिक क्रियाकलाप हुन् । भाषाको आधारभूत जग व्याकरण हो ।
व्याकरणलाई राज्यले निश्चित मापदण्ड, नियम आदिका माध्यमले व्यवस्थित गर्ने दायित्व, कर्तव्यलाई आफूले पनि पालना गर्ने, आमनागरिकले पनि पालना गर्न नियम, कानुनलाई कडाइका साथ लागू गर्ने, गराउने व्यवस्था गर्नुपर्छ । मानिसबाट निस्कने आवाज ईश्वरीय स्वर हो । तसर्थ मानिसको लेखन र बोलीको सर्वमान्य अर्थ हुनुपर्छ । लेखनमा, बोलीमा भाषागत शुद्धता भएन भने उसले भन्न खोजेको, बोलिएको, लेखिएको विषयको अर्थ भिन्न हुन्छ । अनर्थ र अर्थहीन भाषा असभ्यताको सूचक हो । सामान्य लाग्ने भाषिक शुद्धताको विषय सभ्य समाज निर्माणमा सर्वाधिक महत्व राख्छ ।
शुद्ध नेपाली लेख्न, बोल्न नजान्नेको रजगज जताततै हुने परिस्थितिबाट मुलुकलाई मुक्त बनाउँदै नेपाली भाषाको सम्मान राज्यले गर्ने अवस्था र परिस्थिति सिर्जना गर्नै पर्दछ । अंग्रेजी शुद्ध हुनुपर्दछ तर नेपाली बुझे पुग्छ भन्ने सोच, मान्यताबाट नेपाली समाज, राज्य दुवै मुक्त हुनैपर्छ । आफ्नो मातृभाषा शुद्ध बोल्न र लेख्न नजान्नेले गर्व गर्ने कि हीनताबोध ? आफ्नो भाषा शुद्ध लेख्न नजान्दा हिनताबोध नगर्ने किमार्थ सच्चा नागरिक होइनन् । विश्वविद्यालयका उच्चपदबाट अनिवार्य अवकाश लिनेले पनि मातृभाषालाई शुद्ध नलेखेको देख्दा र पढ्दा हाम्रो पाठ्यक्रम र सिकाइ व्यवस्थामा अविलम्ब पुनर्विचार गर्नु अपरिहार्य देखियो ।
नेपाली भाषा शुद्ध हुनुपर्छ भन्ने नियम र दबाब सिर्जना गर्न अनिवार्य छ । आफ्नो भाषा, संस्कृति र सभ्यताप्रति गर्व गर्नु भनेको आफ्नो भाषामा शुद्ध लेख्ने, बोल्ने कला र क्षमतालाई बिस्तारै सुधार गर्न प्रयत्नरत रहनु हो । सबैले मातृभाषा शुद्ध बोल्न-लेख्न सिक्नुपर्छ ।
आफ्नो मातृभाषा र राष्ट्र राष्ट्रियभाषासम्म उच्चारण गर्न नजान्ने, शुद्ध लेख्ने बनाउन नसक्ने शिक्षा पद्धतिमा अविलम्ब सुधार किन नगर्ने ? जान्नेहरूमा पनि सकेसम्म शुद्ध लेख्नुपर्छ भन्ने सोच, चिन्तन र व्यवहार नहुनु दुःखद् पक्ष हो । जान्ने बुझ्नेहरूबाट बोल्ने, लेख्ने भाषाका सन्दर्भमा हुँदै आएको हेलचेक्र्याइँ, अज्ञानतालाई चिर्ने अभियान अनिवार्य देखिन्छ । विकास, मुद्रा, सिकाइ आदिको अन्त्य, पूर्णता हुँदैन । यी विषयमा समाज, मानवले सन्तुष्टि लियो भने विकासको गति रोकिन्छ ।
नेपाली विषयका शिक्षक, प्राध्यापकहरू समेतले भाषिक शुद्धतामा ध्यान नदिएको देख्दा र सुन्दा भने उराठ लाग्छ । आफ्नो मातृभाषा जुनसुकै विषयसँग सम्बन्धित भए पनि शुद्ध बोल्न र लेख्न जान्दैन, सक्दैन र चाहँदैन भने उसले नेपाली हुँ भन्ने गर्व कसरी गर्ने ? संस्थाको बोर्ड, विज्ञानपन वा जानकारी सार्वजनिक गर्दा, कार्यालयले नेपालीमा पत्राचार गर्दा शुद्ध नलेख्नेहरूलाई खबरदारी वा दण्डित गर्ने कानुन बन्नुपर्छ ।
भाषिक अशुद्धताले लेखनको अर्थ अनर्थ लाग्छ । दीर्घायुको कामना गर्नेले ‘दी’ यदि ह्रस्व लेख्यो भने त्यो शब्द नेपाली शब्दकोशमै छैन । त्यस्तो अक्षम्य गल्तीलाई किमार्थ छुट दिनुहुँदैन । नेपाली भाषा शुद्ध हुनुपर्छ भन्ने नियम र दबाब सिर्जना गर्न अनिवार्य छ ।
यसैबीच २०८१ पुस १२ को हिमालय टाइम्समा ‘फैसलामा भाषिक शुद्धता खोज्दै सर्वोच्च’ भन्ने शीर्षकको समाचारले मेरो विचारलाई प्रतिनिधित्व गरेको पाएँ । अदालती भाषा एकातिर सर्वसाधारणले बुझ्न र व्याख्या गर्न त्यसै त कठिन छ भने अब भाषिक अशुद्धताले झन् समस्या उत्पन्न गर्ने विषयलाई ढिलै भए पनि कानुनका विद्वानहरूले आत्मसात गरेको विषयले उत्साहित बनायो ।
भाषिक शुद्धताको विषय न्यायलयका फैसलामा मात्रै सीमित हुनुहँुदैन । यसले भाषिक अशुद्धतालाई सम्बोधन गर्न राज्यलाई घच्घच्याएको छ । भाषिक शुद्धतालाई कठोरताका साथ पालन गर्ने र गराउने वास्तविक सहजकर्ता भनेका स्कुल र विश्वविद्यालय जस्ता शैक्षिक संस्था हुन् । स्कुल र विश्वविद्यालयरुले व्याकरणको गुणस्तरीय पठनपाठनलाई यदि उच्च प्राथमिकता दिए भने भाषा शुद्ध लेख्ने र बोल्ने जनशक्ति उत्पादन हुन्छ ।
त्यस जनशक्तिको आपूर्ति नै समस्याको दीर्घकालीन समाधान हो । अन्त्यमा बालकृष्ण पोख्रेलको भाषाको महत्व वर्णित कविताबाट यो आलेखको बिट मार्ने अनुमति माग्छु ।
‘भाषा हो सभ्यता हाम्रो सारा उदय उन्नति
जीत वैभव भाषामै बाँच्दछन् पछिसम्म यी ।’







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच