
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा फागुन ५ गते सोमबारदेखि काठमाडौंमा अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप–२०२५ हुँदैछ । एन्फाले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फागुन ५ गतेदेखि १४ गतेसम्म काठमाडौंको दशरथ रंगशालामा अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आयोजना हुने खेलको सबै तयारी भएको जनाएको हो ।
प्रतियोगितामा नेपालका साथै कीर्गिस्तान, म्यानमार र लेबनानको सहभागिता रहने एन्फा प्रवक्ता सुरेश शाहले जानकारी गराउनुभयो । नेपालमा पहिलोपटक चार राष्ट्र सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आयोजना हुन लागेको हो ।
प्रतियोगिताको तयारीका लागि हाल ३० सदस्यीय नेपाली राष्ट्रिय टोली मुख्य प्रशिक्षक राजेन्द्र तामाङको नेतृत्वमा बन्द प्रशिक्षणमा रहेको छ । प्रतियोगिताका खेलहरू राउण्ड रोबिन आधारमा खेली शीर्ष दुई टोलीबीच फाइनल खेल हुने प्रवक्ता शाहले बताउनुभयो ।
नेपाली राष्ट्रिय टिमकी कप्तान एञ्जिला तुम्बाप्पो सुब्बा अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप-२०२५ खेल्न स्वदेश फर्किनुभएको छ । व्यावसायिक फुटबल खेल्न ग्रिसमा रहनुभएकी गोल रक्षक एञ्जिला एयर अरेबियाको विमानमार्फत् बुधबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नुभएको हो ।
एञ्जिलाले ग्रिसको शीर्ष डिभिजनमा यही महिना डेब्यु गर्नुभएको थियो । फिफा विन्डोमा हुने च्याम्पियनसिप खेल्न उहाँ फर्किनुभएको हो । यसबीचमा क्लबका खेलहरू हुने छैनन् । उहाँ ग्रिसको नीस अट्रोमिटौमा आबद्ध हुनुहुन्छ ।
व्यावसायिक फुटबल खेल्न फ्रान्समा रहनुभएकी फरवाड सावित्रा भण्डारी साम्बा र साउदीमा रहनुभएकी रेखा पौडेल पनि फर्किने हुनुभएको छ । साम्बा सोमबार बिहान ९ बजे काठमाडौं आइपुग्नुहुनेछ । उहाँ एयर इण्डियाको विमानमार्फत् काठमाडौं आउने तालिका रहेको छ । रेखा भने शनिबाार काठमाडौं आउनुहुनेछ ।
एएफसी महिला एसिया कप र फिफा महिला विश्वकपको तयारीस्वरूप हुन लागेको प्रतियोगिताका लागि यसै साता तीन देशका टोली नेपाल आउने भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले दिएको जानकारीअनुसार फागुन १ गते (आज) किर्गिस्तान तथा २ गते म्यानमार र लेबनानका खेलाडी काठमाडौं आइपुग्नेछन् ।
सहभागी टोलीलाई अभ्यासका लागि एन्फा कम्प्लेक्सको मैदान र नेपाली सेनाको मुख्यालय भद्रकालीस्थित खेल मैदानमा प्रशिक्षण गर्ने व्यवस्था मिलाइएको छ ।
नेपालमा पहिलोपटक चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताको टिकट दर साधारणतर्फ ५०० र भिआइपीतर्फ एक हजार रुपैयाँ तोकिएको छ । प्रतियोगिताको अनुमानित बजेट दुई करोड ५० लाख ५६ हजार रहेको एन्फाले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच