
काठमाडौं । मुलकको सबैभन्दा पुरानो प्रजातान्त्रिक दल नेपाली कांग्रेसमा अहिले पार्टीको १५औँ महाधिवेशनको चहलपहल हुनुपर्ने हो । कांग्रेसले १४औँ महाधिवेशन २०७८ पुसमा सम्पन्न गरेको थियो । कांग्रेस विधानअनुसार चार वर्षको अन्तरालमा महाधिवेशन गर्नुपर्ने हुन्छ । २०७८ मंसिरमा महाधिवेशन भएकाले अर्को महाधिवेशन २०८२ मंसिरमा गर्नुपर्छ । तर, नियमित महाधिवेशन हुने सम्भावना छैन । पार्टीको आसन्न १५औँ महाधिवेशन निश्चित नहुँदै कांग्रेसमा गुट परिवर्तन, नयाँ गुट निर्माण र पार्टीको नेतृत्व लिन कसरत सुरु भइसकेको छ । नेताहरूको राजनीतिक भविष्य सुनिश्चितताको लागि गुट परिवर्तन गर्नेक्रम तीव्र भइरहेको छ । हुन त कांग्रेसमा गुटगत राजनीतिक र आन्तरिक संघर्ष नयाँ भने होइन । कांग्रेसलाई गुटगत राजनीतिले यसरी गाँजेको छ कि आवधिक निर्वाचनमा आफ्नै पार्टीका उम्मेदवारलाई हराउने प्रवृत्ति संस्थागत भएको छ । बाहिरी आवरणमा मुख्यगरी कांग्रेसमा संस्थापक र संस्थापक इतर गरी दुई गुट देखिन्छ । तर, कांग्रेसभित्र अहिले नेतापिच्छे गुटहरू सक्रिय छन् । नेपाली कांग्रेसमा गुटगत राजनीति यतिसम्म छताछुल्ल छ कि आफ्नै पार्टी सहभागी सरकारबारे समेत फरक–फरक धारणा छन् । संस्थापन पक्ष सरकारप्रति नरम देखिँदा इतर पक्षले निरन्तर प्रश्न उठाइरहेको छ । सस्तो लोकप्रियताको लागि मात्र पनि नेताहरूले गुट निर्माण गर्ने संस्कृति जस्तै बनेको छ कांग्रेसमा ।
सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेमा बाहिर देखिने गरी गुटगत राजनीतिक अन्य दलको तुलनामा कम छ । गुटगत राजनीति छताछुल्ल नहुनुको कारण पार्टी अध्यक्ष केपी शर्मा ओलीको शैली र चरित्रले भूमिका खेलेको छ । तर, एमालेमा पनि गुटगत राजनीति भुसको आगोजस्तै देखिएको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः एमालेको राजनीतिमा ल्याउन नेताहरुको ठूलै समूह लागिपरेको छ । पूर्वराष्ट्रपति भण्डारीको पछिल्लो राजनीतिक सक्रियताले एमालेमा गुटगट राजनीति थप फैलिने संकेत देखिन्छ । शीर्ष तहमा गुट नभए पनि एमालेमा दोस्रो र तेस्रो पुस्ताका दलहरूबीच गुटगत प्रतिस्पर्धा बढी छ । नेकपा एमालेमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलबीचको गुटगत प्रतिस्पर्धा स्थानीय समितिसम्मै देखिन्छ । पूर्व १० भाइको रूपमा चिनिने नेताहरूको गुट पनि एमालेका सक्रिय नै देखन्छ । प्रादेशिक गुटबन्दीले त एमालेलाई पनि उत्तिकै गाँजेको छ ।
१० वर्षे सशस्त्र द्वन्द्व गरेर शान्तिपूर्ण राजनीतिमा आएको संसद्को तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्र तीव्र रूपमा गुटबन्दी विकसित हुने राजनीतिक दल हो । सशस्त्र युद्धताका नै माओवादीमा गुट थिए । तर, ती गुट सार्वजनिक हुने गरेका थिएनन् । शान्तिपूर्ण राजनीतिमा आएपछि गुटबन्दी तीव्र मात्रै भएन माओवादीको क्षयीकरणसमेत तीव्र रूपमा बढ्यो । गुटगत राजनीतिकै जालोले माओवादी केन्द्र पटक–पटक विभाजन हुन पुग्यो । अहिले माओवादी केन्द्रमा मुख्यगरी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिवद्वय जनार्दन शर्मा र वर्षमान पुनको गुट सक्रिय छन् । हार्ड लाइनर गुटको नेतृत्व महासचिव देव गुरुङले गरिरहनु भएको छ । यसका अलावा निर्णायक नभए पनि दोस्रो र तेस्रो पुस्ताका गुटहरू पनि माओवादीमा सक्रिय छन् ।
२०७९ सालको प्रतिनिधि सभाको निर्वाचनबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र पनि विस्तारै स्वार्थ समूह हावी हुन थालेका छन् । पुराना र स्थापित राजनीतिक दलहरूलाई गाली गरेर नयाँ शक्तिको रूपमा जन्मिएको रास्वपामा गुटगत राजनीति तीव्र रूपले विकसित हुन थालेको छ । सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछानेमाथि मुद्दा लागेपछि रास्वपाभित्र गुटगत राजनीतिले थप मलजल पुगेको छ । गुटगत राजनीतिकै कारण रास्वपाले संस्थापक महामन्त्री डा.मुकुल ढकाललाई पार्टीबाटै निष्कासन ग¥यो । रास्वपाका उपसभापतीय डिपी अर्याल, डा. स्वर्णिम वाग्ले र रवि लामिछाने समूहबीच विस्तारै द्वन्द्व बढ्दै गएको छ । यीबाहेक अन्य नेताहरूले पनि आफ्नौ हैसियत अनुसारको गुट निर्माण गर्दै गएका छन् ।
नेकपा एमालेबाट छुट्टिएर स्थापना भएको नेकपा एकीकृत समाजवादी (नेकपा एस) मा त नेताहरूभन्दा बढी गुट छन् । २०७८ भदौ ९ गते अध्यादेशबाट जन्मिएको नेकपा एसमा त्रिपक्षीय गुट देखिन्छ । गत असारमा सम्पन्न महाधिवेशनमा अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालको गुट प्रष्टै देखियो । त्यसबाहेक वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, युवा नेत्री रामकुमारी झाँकी र सांसदहरू कृष्णकुमार श्रेष्ठ, प्रेम आलेको गुट पनि सक्रिय छ ।
२०४६ सालको राजनीतिक परिवर्तनपछि जन्मिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको राजनीतिक इतिहासमै सबैभन्दा धेरै फुट्ने दलको अग्रस्थानमा पुग्छ । स्थापनादेखि अहिलेसम्म राप्रपा दर्जनपटक विभाजन भइसकेको छ । राप्रपामा अहिले अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवलशमशेर राणाको गुटगत टकराव बलियो देखिएको छ । हालै सम्पन्न केन्द्रीय समिति बैठकमा अध्यक्ष लिङ्देनको राजनीतिक प्रतिवेदनलाई चुनौती दिँदै महामन्त्री राणाले छुट्टै राजनीतिक प्रस्ताव पेस गर्नुभएको थियो । पूर्वअध्यक्ष पशुपति शमशेर जबरा, डा.प्रकाशचन्द्र लोहनी र विवेकशील साँझबाट प्रवेश गर्नुभएको वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रको पनि छुट्टाछुट्टै गुट छ ।
२०६४ सालको मधेस विद्रोहबाट जन्मिएका मधेसी जनअधिकार फोरम, तराई मधेस लोकतान्त्रिक पार्टी र २०४८ सालको निर्वाचनमा समेत भाग लिएर ६ सिट जितेको नेपाल सद्भावना पार्टी अहिले छिन्नभिन्न अवस्थामा छन् । मधेसको सबैभन्दा पुरानो दल सद्भावना पार्टीको भने अस्तित्व नै छैन । नेतापिच्छेका गुट र उपगुट र विभाजनले सबैभन्दा बढी मधेस केन्द्रित दल प्रभावित देखिएका छन् । मधेसी दलहरू सत्ता र गुटगत राजनीतिक खेलकै कारण पटक–पटक विभाजन भएका छन् ।
कार्य विभाजनप्रति जनार्दन रुष्ट
नेताहरूको कार्यविभाजनमा काखा र पाखा गरेको भन्दै नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा असन्तुष्ट बन्नुभएको छ । यसले शर्मा अध्यक्ष प्रचण्डप्रति रुष्ट भएको निकट नेताहरूको भनाइ छ । अध्यक्ष प्रचण्डले आफ्नो गुट बलियो बनाउने गरी निकटस्थहरूलाई जिम्मेवारी दिएको आरोप शर्माले लगाउनुभएको छ । आफ्ना पक्षमा लागेकालाई छानीछानी दोहोरो, तेहोरो जिम्मेवारी दिएको भन्दै शर्माले विरोधमा उत्रनुपर्ने अवस्था आएको चेतावनीसमेत दिनुभएको छ । पुस २१-२३ सम्म काठमाडौंमा बसेको केन्द्रीय समितिको बैठकको निर्णयअनुसार कार्यविभाजन नभएको शर्मा पक्षको आरोप छ । केन्द्रीय विभागदेखि प्रदेश र जिल्लासम्म एकलौटी कार्यविभाजन भएको शर्मा पक्षको जिकिर छ । पार्टीभित्र बहस गर्नेलाई जिम्मेवारी मुक्त गरिएको प्रचण्डमाथि आरोप छ ।
एनपी साउदले छोडे देउवा गुट
नेपाली कांग्रेसका नेता एनपी साउद सभापति शेरबहादुर देउवा क्याम्पबाट बाहिरिनुभएको छ । लामो समय सभापति देउवानिकट रहेर राजनीति गर्नुभएका साउद पछिल्लो समय खुलेरै डा. शेखर कोइरालानिकट देखिन थाल्नुभएको हो । औपचारिक रूपमा साउदले गुट परिवर्तन गरेको घोषणा त गर्नुभएको छैन तर पछिल्लोपटक परराष्ट्रमन्त्रीबाट हटेयता शेखरसँग बढी नजिक हुन थाल्नुभएको छ । देउवासँग असन्तुष्ट केन्द्रीय सदस्यहरू डा. डिला संग्रौला सहितका केही नेतालाई लिएर साउद जिल्ला भ्रमणमा समेत जानुभएको छ । विधानतः १५औँ महाधिवेशनमा सभापतिमा देउवाको दाबी नरहने भएपछि एनपीले शेखर टिमबाटै आफ्नो राजनीतिक भविष्य बलियो हुने देखेको कांग्रेस वृत्तमा चर्चा छ । नेता साउद मात्र नभई केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना पनि गुट परिवर्तन गरेर डा. शेखरसँग नजिकिएको नेताहरूको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच