
पोखरा । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा (भोलि) शनिबार १९औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन हुँदैछ । मञ्चले यसपल्ट ‘पोखरामा नियमित अन्तर्राष्ट्रिय हवाई उडानका लागि दौडौं’ भन्ने नारालाई अघि सारेको छ । हरेक वर्ष फागुनको पहिलो साताको शनिबार पोखरा म्याराथन आयोजना हुने तालिकाबमोजिम यो वर्ष फागुन ३ मा अर्थात् भोलि शनिबार हुन लागेको हो ।
मञ्चले बिहीबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दिलबहादुर गुरुङले म्याराथनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्ष म्याराथनमा विभिन्न १४ श्रेणीमा दौड हुनेछन् ।
खुला म्याराथन ४२.१९५ किमी, गण्डकी प्रदेशस्तरीय खुला म्याराथन ४२.१९५ किमी, हाफ म्याराथन महिला/पुरुष २१.०९७ किमी, महिला/पुरुष १० किमी, विद्यालयस्तरीय छात्र/छात्रा ५ किमी, ५० वर्षभन्दा माथि पाँच किमी भेट्रान्स महिला/पुरुष दौड हुनेछन् । सबै सहभागी हुन मिल्ने गरी दौडिनुपर्ने सन्देश दिन ‘रन फर फन’ विधा पनि समावेश छ ।
पोखरा म्याराथनअन्तर्गत नै गत माघ २६ मा महिला/पुरुष हिृवलचियर तथा दृष्टिविहीन महिला÷पुरुष दौड सम्पन्न भइसकेको छ । खुला ४२.१९५ किमी म्याराथनमा पहिलो हुने धावकले पाँच, दोस्रोले तीन र तेस्रोले दुई लाख रुपैयाँ पाउनेछन् । सान्त्वनास्वरूप चौथोले ३० हजार, पाँचौंले २५, छैटौंले २०, सातौंले १५ र आठौंले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
आयोजकले खुला म्याराथनतर्फ गण्डकी प्रदेशका धावकलाई प्रोत्साहन गर्न छुट्टै पुरस्कारको व्यवस्था गरेको छ । प्रतियोगिताको पुरस्कार राशिमा मात्रै २१ लाख ३४ हजार रुपैयाँ खर्च हुने र म्याराथनको सम्पूर्ण खर्च एक करोड ८९ हजार रुपैयाँ अनुमान गरिएको अध्यक्ष गुरुङले जानकारी गराउनुभयो ।
नेपालमा आयोजना हुने विभिन्न म्याराथनमध्ये पोखरा अन्तर्राष्ट्रिय म्याराथन म्याराथनको अन्तर्राष्ट्रिय छाता संस्था एम्समा दर्ता रहेको छ । पोखरा म्याराथनको रुटसमेत एम्सबाट प्रमाणीकरण भएको म्याराथन संयोजक खेम गुरुङले बताउनुभयो । पोखरा अन्तर्राष्ट्रिय म्याराथन नेपाली म्याराथनको एकमात्र प्रविधिमैत्री म्याराथन रहेको उहाँको भनाइ थियो ।
धरान रनका परिकल्पनाकार तथा नेपाल रन युकेका अध्यक्ष सन्तोष राईले चिप्स जडानपश्चात् पोखरा म्याराथनको वेबसाइटमा धावक रहेको स्थान र परिणाम तत्कालै हेर्न सकिने बताउनुभयो ।
खुला म्याराथनमा २१ देशका ८० विदेशीसहित १५० धावक सहभागी हुँदैछन् । तीमध्ये आठजना महिला छन् । हाफ म्याराथनमा महिलातर्फ १० देशका ४० जना, पुरुषतर्फ १० विदेशीसहित ११० जना, १० किमी पुरुषतर्फ ११ देशका सहित २११ जना, १० किमी महिलातर्फ ११ विदेशीसहित १०९ जना, पाँच किमी भेट्रान्स (५० वर्ष) पुरुष र महिलातर्फ गरी ६० जना, पाँच किमी छात्रतर्फ एक हजार ४७० तथा छात्रातर्फ एक हजार २५ जना गरी कुल तीन हजार १७५ जना दर्ता भएको आयोजकले जनाएकोे छ । ‘रन फर फन’मा सात हजार गरी १० हजारको सहभागिता पोखरा म्याराथनमा हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच