
हिजो फागुन १ गते नेपालको इतिहासको एउटा यस्तो दिन थियो जसलाई कसैले गौरवपूर्ण र महान् दिनका रूपमा मनाउँदै आएका छन् भने कतिका लागि यो दिन घोर अभिशापको दिनका रूपमा चित्रण हुँदै आएको छ । वास्तवमा फागुन महिना नेपालको इतिहासमा धेरै पहिलेदेखि नै महान् छ । यसको कारण फागुन ७ गतेको प्रजातन्त्र आगमनको दिन भएकाले हो । यो महिना गौरवको महिना हो भन्ने प्रमुख आधार चाहिँ यही हो । माओवादीको सशस्त्र विद्रोह विवादको घेरामा हालसम्म पनि चर्चामै छ । यो विवाद अरूले त गर्ने नै भए कम्युनिष्ट विचारधार राख्न, नीति र सिद्धान्त मिल्ने दलहरूले समेत गर्दै आएका छन् ।
त्यतिमात्र होइन हिजोका दिनमा माओवादीको सशस्त्र विद्रोहमा जिम्मेवारी भूमिकामा रहेको र हालका दिनमा पार्टी बदलेर राजनीतिक सक्रियता देखाइरहेका नेताहरूले समेत माओवादीले एक दशकसम्म सञ्चालन गरेको विद्रोहलाई हिंसात्मक विद्रोह हो भन्नुभएको छ । क्रान्ति आफ्नै देशको हावापानी र माटोले मागेअनुसार हुनुपर्ने थियो । २००७ सालको क्रान्ति यस्तै महान् क्रान्ति थियो । त्यसभन्दा पहिले १०४ वर्ष राणाहरूले निरंकुश ढंगले जहानियाँ शासन चलाएका थिए । संसारमा प्रजातान्त्रिक लहर चलिसकेको थियो । अन्य देशहरू खुला भइसकेका थिए तर नेपाल भने बन्द देशका रूपमा थियो । नेपालबारे केही सीमित देशहरूले मात्र जानकारी पाएका थिए । प्रजातन्त्रको अपरिहार्यता महसुस गरी नेपालीहरूले नै उक्त क्रान्ति गरेका थिए ।
त्यसकारण उक्त क्रान्ति वास्तविक रूपमा क्रान्ति थियो । जनताको क्रान्तिले प्राप्त प्रजातन्त्र भएको उक्त प्रजातन्त्र आएको दिन भएकाले फागुन ७ गते मनाउने गरेको प्रजान्तत्र दिवस त्यसपछिको पञ्चायत, हालका प्रजातन्त्र लोकतन्त्र र गणतन्त्रमा पनि उत्तिकै सान्दर्भिक रहँदै आएको छ । तर, माओवादीहरूले जनयुद्ध भनेर सुरु गरेको उक्त सशस्त्र विद्रोह विना कुनै प्रयोजनमा सुरु गरिएको थियो । देशमा प्रजातन्त्र छँदैथियो । प्रजातन्त्र आएको केही वर्षमात्र भएको थियो । हाम्रो लक्ष त जनगणतन्त्र पो हो त यस्तो प्रजातन्त्र हाम्रो साध्य होइन साधनमात्र हो भनेर उक्त विद्रोह सुरु भएको थियो ।
त्यस विद्रोहले नेपाली भाषाको जननी भाषा संस्कृतको गलो निमठ्यो । संस्कृतका पण्डितहरूको हत्या ग¥यो र नेपाली परम्परागत संस्कार, संस्कृति, रीतिरिवाजहरू क्रमशः मास्ने प्रयास भयो । दशैँमा टीका लगाउने र चलिआएका सनातन कर्मकाण्ड गर्नेहरू पनि मारिनुप¥यो । किरियापुत्रीहरूको समेत हत्या गरियो । व्यक्तिहत्याको अभियान चलाइएका कारण देश भयग्रस्त भयो र पढाइरहेका शिक्षक, समाचारदाता पत्रकार र सामान्य खेतीकिसानी गर्ने व्यक्तिहरूको समेत हत्याको अभियान चलाइयो । दोहोरो भिडन्तमा मारिएको भनेर खाना खाँदै गरेका साना नानी र गृहिणीहरूको संरक्षक अभिभावकहरू तिनकै आँखा सामु मारिए । यस्ता हजारौं दृष्टान्त छन् । ती सबै हत्यालाई महान् क्रान्ति भनियो र नारा लगाउँदै विजयको घोषणा गर्ने काम भयो ।
हाल आएर यस्ता कार्य हिंसा हुन् कि होइनन् भन्ने निरर्थक बहस गरिँदैछ । विनाहिंसा १७ हजार मानिसको हत्या कसरी हुनसक्छ ? त्यस अर्थमा यस्ता बहसहरू अब औचित्यविहीन बनिसकेका छन् । यस्तो घोर हिंसात्मक विद्रोहको थालनी भएको दिन हो फागुन १ गते । यसले गर्दा महान् प्रजातन्त्र दिवस फागुन ७ गतेलाई समेत यसले प्रभावित पार्न खोजेको छ । माओवादी सत्तामा रहेका बेला उसले उक्त विद्रोहको थालनी भएको दिन फागुन १ गतेलाई जनयुद्ध दिवस भनेर बिदा दिने र दिवस नै मनाउने घोषणा गर्यो तर आममानिसले बरू कार्यालयमा गएर काम गर्न नै तत्परता देखाए, बिदा लिन चाहेनन् ।
यस्तो दिवस मनाएर त्यस्तो हिंसाको थालनी भएको दिनको स्मरण गर्नुभन्दा यसलाई विस्मृत बनाउँदै लानु नै नेपाली जनताले उचित ठानेका छन् । माओवादीले विद्रोहको सुरुवात गर्नुभन्दा पहिले पनि डा.बाबुराम भट्टराई सांसद विजयी बन्नुभएको थियो । त्यही अहिंसात्मक राजनीतिलाई निरन्तरता दिइरहनुभएको भए पनि निश्चिय नै उहाँ आफ्नो बौद्धिकता र सामथ्र्यका कारण प्रधानमन्त्री बन्न सक्नुहुन्थ्यो होला । प्रचण्डले पनि खुला राजनीतिको बाटो अँगालेर राजनीति गर्नुभएको भए उहाँ पनि प्रधानमन्त्रीको पदमा पुग्न सक्ने सम्भावना हालको उहाँको बौद्धिक र राजनीतिक कौशललाई हेरेर भन्न सकिन्छ । गणतन्त्रपछि उहाँहरूले प्राप्त गरेको पदहरूको प्राप्तिकै लागि नेपाली जनताको त्यत्रो ठूलो संख्याले बलिदानी दिनुपरेको हो त ? प्रश्न विचारणीय छ ।
फागुन १ गते हजारौं नेपालीहरूको सुखी खोसिएको र आफन्त लुटिएको दिन हो । संसद्भित्र यो हिंसा होइन भनेर जति नै तर्क गरे पनि विनाहिंसा व्यक्तिहत्या कसरी हुनसक्छ भन्ने प्रश्न त उठी हाल्छ । अरूले भन्नै पर्दैन माओवादीको जिम्मेवार तहमा रहेर सशस्त्र विद्रोह हाँकेका, गणतन्त्रपछि उच्चस्तरीय मन्त्री पदको पटकपटक जिम्मेवारी लिनुभएका र हाल एमालेको उपाध्यक्ष रहनुभएको रामबहादुर थापा बादलले नै माओवादी विद्रोह हिंसा नै हो भन्नुभएको छ । त्यसो भएपछि यसमा कुनै विवाद गरिरहनु औचित्य विनाको बहस हो र फागुन १ गते नेपाली जनताका लागि एउटा अभिशापपूर्ण दिनको आरम्भ हो जसले यति धेरै नेपालीलाई अनेकौं स्वरूपको मृत्युका डोबहरू छोडेर अहिले अगाडि बढिरहेका छन् ।
त्यसैले यसलाई आमनेपाली नागरिक तहबाट महान् दिवसका रूपमा स्वीकार गर्न सकिएको छैन र माओवादीले सार्वजनिक बिदा दिएर दिवस मनाउने गरेको भए पनि सर्वोच्च अदालतले नै यसलाई अस्वीकार गरिदिनुका साथै सरकारले परिपत्रै गरेर यसलाई खारेज गर्नुपरेको छ । अब पटकपटक यसलाई चर्चामा ल्याइरहनु भनेको पीडित नागरिकहरूको खाटा बस्तै गएको घाउमा नुनचुक लगाएर बल्झाइरहनुमात्र हो । तत्कालीन प्रभावित र पीडितका लागि मात्र होइन यस्ता कार्यले त्यस बेलाको विद्रोहमा संलग्न हुनेहरूलाई समेत झस्काउने गरिरहन्छ । न्यायका लागि लडिरहेका र लासघरमा आफन्तको लास राखेर आमरण अनशन गरिरहेका व्यक्तिहरूलाई सोध्ने हो भनेमात्र यस्ता सवालको सही जवाफ आउन सक्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच