
✍️ डा. सुनिल पोखरेल
विद्यालयमा विद्यार्थीलाई सिकाउने शिक्षकको गुणस्तर उक्त शिक्षकले प्राप्त गरेको शिक्षक तयारी कार्यक्रमको गुणस्तरसँग प्रत्यक्ष रूपमा जोडिएको हुन्छ । शिक्षक तयारी कार्यक्रमका सन्दर्भमा महत्वपूर्ण अनुसन्धान गरी शिक्षक तयारी र शिक्षकको पेशागत तालिममा विश्वव्यापी सुधार गराउन सफल अमेरिकी अनुसन्धानकर्ता लिण्डा डार्लिङ-हृयामण्डका अनुसार, कुनै राष्ट्रको विकास त्यस देशका शिक्षकहरूको गुणस्तरमा निर्भर गर्छ । उनका अनुसार शिक्षक शिक्षण वा तयारी कार्यक्रमले शिक्षकहरूको गुणस्तर निर्धारण गर्छन् । हृयामण्डको अनुसन्धानको मुख्यतर्क फिनल्याण्ड, सिंगापुर जस्ता राष्ट्रहरूको आर्थिक, सामाजिक र नागरिक नैतिक विकासको मुख्य कारण उच्च गुणस्तरको शिक्षक तयारी प्रणाली हो ।
लिण्डा डार्लिङ-हृयामण्ड र अन्य अनुसन्धानकर्ताका अनुसार उच्च गुणस्तरका शिक्षक तयारी कार्यक्रमबाट उत्तीर्ण हुने शिक्षकमा मात्र विषयगत जानकारी हुँदैन । उनीहरू विद्यार्थीलाई गर्ने सबल शिक्षणको माध्यमबाट शिक्षा विकासका रूपान्तरणकारी नेतृत्वकर्ता पनि हुन्छन् । त्यस्ता शिक्षकहरू विद्यार्थीहरू कसरी सिक्छन् भन्ने गहिरो बुझाइ राख्छन् र समावेशी तथा प्रभावकारी सिकाइ वातावरण सिर्जना गर्छन् । यस्ता शिक्षक विद्यार्थीको भिन्न सिकाइ आवश्यकतालाई बुझेर विद्यार्थी-अनुकूल शिक्षण गर्न, नवीन शिक्षण रणनीति प्रयोग गर्न र प्रविधिलाई सहज रूपमा एकीकृत गर्न दक्ष हुन्छन् । प्रविधिगत क्षमतामा पोख्त हुनुको साथै, उनीहरू सामाजिक उत्तरदायित्वको बलियो भावना राख्छन्, जसले विद्यार्थीको शैक्षिक सफलतामात्र होइन, विद्यार्थीहरूको व्यक्तिगत वृद्धि, उनीहरूलाई नागरिक जिम्मेवारी पूरा गर्न उत्प्रेरितसमेत गर्छ । यस्ता शिक्षक शिक्षण विधि निरन्तर परिमार्जन गर्छन्, सहकार्यलाई अँगाल्छन्, शैक्षिक समानताको पक्षमा वकालत गर्छन् । यी शिक्षकले सबै पृष्ठभूमिका विद्यार्थीलाई अर्थपूर्ण सिकाइ अवसर प्रदान गर्छन् ।
सामान्यतया, क्याम्पसका कक्षाहरू फोहर र शौचालय प्रयोग गर्नै नसकिने गरी अस्वस्थकर रहने गरेका छन् । शिक्षकहरूले पुरानो विधि र प्रविधि प्रयोग गरेर मात्र पढाउँछन् । उनीहरू व्याख्यान विधिबाट पढाउने, नोट टिपाउने प्रवृत्ति व्याप्त छ । प्रयोगात्मक कक्षाहरूमा आवश्यक सामग्रीको अभाव छ, जसका कारण विद्यार्थीहरूले व्यावहारिकभन्दा सैद्धान्तिक ज्ञानलाई बढी महत्व दिनुपर्ने बाध्यता छ ।
नेपालमा उच्च शिक्षामा शिक्षक तयारी कार्यक्रम अध्ययन गर्ने विद्यार्थीको संख्या एक लाख २४ हजार ८०० को हाराहारीमा छ । यो संख्या नेपालमा स्नातक र सोभन्दा माथिको उच्च शिक्षामा भर्ना भएका विद्यार्थीहरूको २१.५ प्रतिशत हो । शिक्षक तयारी कार्यक्रममा भर्ना भएका सबै विद्यार्थी शिक्षक बन्दैनन्, तर जो बन्नेछन्, तिनको शैक्षिक गतिविधिको गुणस्तर शिक्षक तयारी कार्यक्रमद्वारा गहिरो रूपमा प्रभावित हुने अनुसन्धानले देखाएका छन् ।
नेपालका शिक्षक विकास कार्यक्रमले सबल शिक्षक तयार गर्न निरन्तर कोसिस गरेका छन् वा छैनन् भन्न मुस्किल छ । विश्वविद्यालय अनुदान आयोगको २०७८ को रिपोर्ट अनुसार, शिक्षा संकायमा भर्ना हुने ९० प्रतिशत विद्यार्थीहरूले त्रिभुवन विश्वविद्यालय (त्रिवि) रोज्ने गरेका छन् । बाँकी १० प्रतिशत विद्यार्थी पूर्वाञ्चल विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, नेपाल खुला विश्वविद्यालयमा भर्ना हुन्छन् । त्रिविलगायत अन्य विश्वविद्यालयले शिक्षक तयारीमा कस्तो गुणस्तर कायम गरेका छन् भन्ने विषयमा व्यापक अनुसन्धान गरिएको पाइँदैन । शैक्षिक संस्था, तिनको भौतिक वातावरण, शिक्षकको गुणस्तरबारे यदाकदा चर्चा हुने गरे पनि शिक्षक तयार गर्ने उच्च शिक्षाका शिक्षक वा प्रोफेसरहरूको गुणस्तर, शिक्षक तयारी कार्यक्रममा उपलब्ध भौतिक पूर्वाधार, तिनको प्रभावकारिता सम्बन्धी छलफल नेपालमा अझै सतही देखिन्छ ।
नेपालको कुनै एउटा शिक्षक तयारी कार्यक्रम सञ्चालन गरेको क्याम्पसको उदाहरण लिऔं । सामान्यतया, क्याम्पसका कक्षाहरू फोहर र शौचालय प्रयोग गर्नै नसकिने गरी अस्वस्थकर रहने गरेका छन् । शिक्षकहरूले पुरानो विधि र प्रविधि प्रयोग गरेरमात्र पढाउँछन् । उनीहरू व्याख्यान विधिबाट पढाउने, नोट टिपाउने प्रवृत्ति व्याप्त छ । प्रयोगात्मक कक्षाहरूमा आवश्यक सामग्रीको अभाव छ, जसका कारण विद्यार्थीहरूले व्यावहारिकभन्दा सैद्धान्तिक ज्ञानलाई बढी महत्व दिनुपर्ने बाध्यता छ । शिक्षक बन्न आवश्यक सीप सिक्न कक्षा कोठाको अनुभव प्राप्त गर्न विद्यार्थीले चौथो वर्षसम्म कुर्नुपर्छ । २२ वटा पाठ्यक्रम मध्ये शिक्षण-सिकाइसम्बन्धी एउटामात्र कोर्ष समावेश गरिएको छ, जुन व्यावहारिकभन्दा कर्मकाण्डी देखिन्छ । क्याम्पसको भौतिक संरचना, शैक्षिक वातावरण, शिक्षण शैली र शिक्षकको व्यवहार विद्यार्थीको सिकाइमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा असर पार्छ भन्ने मान्ने हो भने, शिक्षक तयारी कार्यक्रमको वातावरण र शैक्षणिक तौरतरिकाले भविष्यका शिक्षकमा सकारात्मक प्रभाव पारेको छ भन्न सकिने अवस्था छैन ।
अनुसन्धानले देखाएको छ कि नयाँ शिक्षकहरूले शिक्षण गर्दा आफूलाई पढाइएका तरिकालाई व्यापक रूपमा अनुकरण गर्छन् । यस विचारलाई केन्द्रमा राखेर हेर्दा, नेपालका शिक्षकको शिक्षण विधि कमजोर हुनुमा तिनलाई पढाउन वा सिकाउन तयार गरिएका भौतिक र मानव संरचनाको ठूलो कमजोरी देखिन्छ । केही वर्षअघि, यस लेखका लेखकले डडेल्धुरामा एक प्रधानाध्यापकसँगको छलफलमा उक्त प्रधानाध्यापकलाई दलित विद्यार्थीप्रति निकै अनुदार पाएका थिए । प्रधानाध्यापकका अनुसार, ‘सबै दलित विद्यार्थी पढाइमा कमजोर हुन्छन् किनभने तिनीहरूका परिवारमा शिक्षाको महत्व बुझ्ने संस्कृति छैन ।’ नतिजा हेर्दा, ती विद्यार्थीहरू कमजोर देखिन्थे, तर प्रधानाध्यापकले तिनको शैक्षिक विकासका लागि दलित विद्यार्थी लक्षित कुनै उपाय अपनाएका थिएनन् ।
आजको आधुनिक बजारले विद्यार्थीहरूमा २१औं शताब्दीका आवश्यक सीपहरू माग गरिरहेको छ । यस्तो अवस्थामा, शिक्षकहरूमा आवश्यक सक्षमता के-के हुन् जसले विद्यार्थीहरूमा ती सीपको विकास गर्न सहयोग पुगोस् ? र, ती सक्षमता शिक्षकलाई प्रदान गर्ने प्रशिक्षकहरूमा छ वा छैन भन्ने विषयमा बहस गर्नु आवश्यक छ ।
काठमाडौंमा एम.एड.अध्ययनगरेका प्रधानाध्यापकको तर्क थियो- ‘हामीले सबै विद्यार्थीहरूलाई एउटै पाठ्यक्रम, एउटै समय र एउटै परीक्षा प्रणालीअनुसार मूल्यांकन गरेका छौं, त्यसैले दलित विद्यार्थीहरू कमजोर हुनुमा उनीहरूकै दोष छ ।’ प्रधानाध्यापकको यो सोच गलत थियो । उनको सोचभन्दा ठूलो समस्या शिक्षक तयारी कार्यक्रममा थियो, जसले आर्थिक-सामाजिक पृष्ठभूमिका आधारमा विद्यार्थीहरूका भिन्न आवश्यकतालाई सम्बोधन गर्ने सुधारात्मक शिक्षण प्रविधि सिकाउने आवश्यकतालाई बेवास्ता गर्यो ।
आजको आधुनिक बजारले विद्यार्थीमा २१औं शताब्दीका आवश्यक सीपहरू माग गरिरहेको छ । यस्तो अवस्थामा, शिक्षकमा आवश्यक सक्षमता के-के हुन् जसले विद्यार्थीहरूमा ती सीपको विकास गर्न सहयोग पुगोस् ? र ती सक्षमता शिक्षकलाई प्रदान गर्ने प्रशिक्षकमा छ वा छैन भन्ने विषयमा बहस गर्नु आवश्यक छ । शिक्षक पेशागत विकास प्रारूप २०८० अनुसार, शिक्षकहरूले आठ प्रमुख सक्षमता हासिल गर्नुपर्ने बताइएको छः
१. विषयवस्तुको ज्ञान
२. शिक्षण–सिकाइका तौरतरिका
३. बालबालिका/सिकारुको ज्ञान
४. सिकाइ वातावरण तथा कक्षा व्यवस्थापन
५. सञ्चार तथा सहकार्य
६. निरन्तर सिकाइ तथा पेशागत विकास
७. कानुनी आधार तथा पेशागत आचारसंहिता
८. सूचना तथा सञ्चार प्रविधिको प्रयोग
यी सक्षमताले मात्र सबल र सफल शिक्षक बन्न सम्भव छैन किनभने यी सक्षमताहरूमा शिक्षकको बानी, व्यवहार, विश्वास, उत्प्रेरणा आदि उल्लेख छैनन् । उल्लेखित सक्षमतामात्र हासिल गर्न पनि शिक्षकहरूले शिक्षक तयारी कार्यक्रममा प्रभावकारी सिक्ने वातावरण पाउनुपर्छ । सूचना तथा सञ्चार प्रविधिलाई शिक्षामा कसरी एकीकृत गर्ने भनेर सिक्ने अवसर पाउनुपर्छ । शिक्षक तयारी कार्यक्रमको विषयमा पर्याप्त छलफल भएको पाइँदैन । यसर्थ, नेपालका शिक्षक तयारी कार्यक्रमले शिक्षक सक्षमताको विकासमा कति प्रभावकारी भूमिका खेलेका छन् र के-के गर्न आवश्यक छ भन्ने विषयमा गहन छलफल आवश्यक छ ।
एकदमै यथार्थ!