
भ्यालेन्टाइन्स डे, जसलाई प्रणय दिवसको रूपमा चिनिन्छ, पछिल्लो समय नेपाली समाजमा लोकप्रिय हुँदै गएको एक विदेशी पर्व हो । प्रेम दिवसलाई विशेष गरी युवायुवतीहरूले आफ्ना भावना प्रकट गर्ने अवसरको रूपमा लिइरहेका छन् । यसको उद्गम इतिहास, नेपालमा यसको प्रवेश, सामाजिक तथा सांस्कृतिक प्रभाव, वर्तमान स्थिति, र भविष्यमा यस पर्वले पाउने स्थानका बारेमा विस्तृत अध्ययन गर्नु आवश्यक छ ।
नेपाल जस्तो सांस्कृतिक रूपमा समृद्ध देशमा भ्यालेन्टाइन्डे कसरी भित्रियो ? यसको मौलिकता पश्चिमी संस्कृतिसँग जोडिए पनि, के यसले नेपाली परम्परामा टकराव सिर्जना गरेको छ वा कुनै नयाँ सामाजिक चेतनाको विकास गरेको छ ?
के यो पर्व नेपाली समाजले सहज रूपमा आत्मसात गरिरहेको छकि यो केवल आधुनिक जीवनशैलीसँगै आएको अस्थायी प्रवृत्ति मात्र हो ? यस्ता प्रश्नहरूको खोजी गर्दै यस लेखमा भ्यालेन्टाइन्डेको विस्तृत ऐतिहासिक अध्ययन, नेपालमा यसको प्रवेश, यसको स्वीकृति तथा बहस, र नेपाली परिप्रेक्ष्यमा यस पर्वको प्रभावलाई गहन रूपमा मूल्यांकन गरिन्छ ।
भ्यालेन्टाइन्डेको सुरुवात प्राचीन रोममा भएको मानिन्छ । तीसरी शताब्दीको अन्त्यतिर रोमका एक धार्मिक व्यक्तित्व, सेंट भ्यालेन्टाइन, प्रेम र विवाहका हिमायती थिएँ । त्यस समयमा रोमन सम्राट क्लाउडियस द्वितीयले आफ्ना सैनिकहरूको विवाहमा प्रतिबन्ध लगाएका थिएँ ।
उनको विश्वास थियो कि अविवाहित पुरुषहरू युद्धमा अधिक सक्षम हुन्छन् । तर, सेंट भ्यालेन्टाइनले गुपचुप रूपमा प्रेमीहरूको विवाह गराउने कार्य गरे । जब यो कुरा सम्राटलाई थाहा भयो, उनले भ्यालेन्टाइनलाई पक्राउ गरी मृत्युदण्डको सजाय सुनाए । भनिन्छ, जेलमा रहेका बेला उनले जेलरकी छोरीलाई प्रेमपत्र लेखेका थिएँ, जुन ‘फ्रम योर भ्यालेन्टाइन’ भनेर हस्ताक्षर गरिएको थियो । यहीँ पत्रलाई पछि प्रेम पत्र लेख्ने परम्परासँग जोडेर हेरिएको पाइन्छ ।
भ्यालेन्टाइनलाई फेब्रुअरी १४ का दिन मृत्युदण्ड दिइएको थियो, त्यसैले यो दिन प्रेम दिवसका रूपमा मनाइन्छ । यस पर्वले समयक्रमसँगै नयाँ रूप लिँदै गयो । मध्ययुगमा यो प्रेमपत्रहरू आदानप्रदान गर्ने अवसरका रूपमा विकसित भयो । औद्योगिक क्रान्तिपछि कार्डहरू, फूलहरू, चकलेटहरू उपहार दिने चलन बढ्दै गयो । २० औं शताब्दीमा यो विशेषगरी अमेरिकामा अत्यधिक व्यापारिक बन्दै गयो, जहाँ यो प्रेमका लागि विशेष दिन मात्र नभई उपभोक्तावादी पर्वका रूपमा समेत विकसित भयो ।
नेपाल जस्तो परम्परागत समाजमा भ्यालेन्टाइन्डे कसरी भित्रियो ? यसको मुख्य कारक भनेको सन् १९९० को दशकपछि नेपालमा खुलेर आएको प्रविधि, सञ्चार, र विश्वीकरण हो । जब इन्टरनेट, मोबाइल फोन, टेलिभिजन, तथा सामाजिक सञ्जालको प्रभाव नेपालमा विस्तार हुन थाल्यो, तब पश्चिमी पर्वहरू, जस्तै- क्रिसमस, नयाँ वर्ष, हलोविन जस्तै भ्यालेन्टाइन्डे पनि नेपालमा लोकप्रिय हुन थाल्यो ।
विशेष गरी सहरमा बस्ने युवायुवतीहरू, जसले पश्चिमी जीवनशैलीसँग नजिकिने अवसर पाएँ, उनीहरूबीच भ्यालेन्टाइन्डे लोकप्रिय बन्न थाल्यो । विशेषगरी फेसबुक, इन्स्टाग्राम, र टिकटक जस्ता सामाजिक सञ्जालका कारण यस पर्वको प्रचार नेपालमा झन् व्यापक भयो ।
व्यवसायिक दृष्टिकोणले पनि भ्यालेन्टाइन्डे उपहार, प्रेमपत्र, चकलेट, तथा रेष्टुरेन्ट उद्योगका लागि फाइदाजनक हुने भएकाले, व्यवसायिक संस्थाहरूले पनि यस पर्वलाई प्रवद्र्धन गरे । हाल नेपालका मुख्य सहरहरूमा यो दिवस व्यापक रूपमा मनाइन्छ ।
विशेष गरी कलेज तथा विश्वविद्यालयका विद्यार्थीहरू यस दिनलाई विशेष रूपमा लिन्छन् । प्रेम प्रस्ताव गर्ने, उपहार दिने, रेष्टुरेन्टमा विशेष डिनर गर्ने जस्ता गतिविधिहरू प्रचलित छन् । कतिपय स्थानहरूमा त प्रेम दिवसका अवसरमा विशेष कार्यक्रमसमेत आयोजना गरिन्छ ।
नेपालको सांस्कृतिक परिवेशमा भ्यालेन्टाइन्डेको स्वीकार्यता मिश्रित छ । केही व्यक्तिहरू यसलाई प्रेम व्यक्त गर्ने सुन्दर अवसरका रूपमा लिन्छन् भने केहीले यो नेपाली परम्परा र मूल्यप्रति खतरा भएको ठान्छन् । परम्परागत रूपमा, नेपाली समाजमा प्रेम विवाहभन्दा बढी परिवारद्वारा तय गरिने विवाह प्रणाली लोकप्रिय थियो । प्रेम व्यक्त गर्ने अवसरहरू सीमित थिएँ, र प्रेम सार्वजनिक रूपमा अभिव्यक्त गर्न सहज थिएन ।
भ्यालेन्टाइन्डे जस्ता पर्वहरू बढ्दै जाँदा नेपाली समाजमा प्रेम सम्बन्धप्रति खुलेर सोच्ने प्रवृत्ति पनि बढेको देखिन्छ । तर, नेपालमा अझै पनि कतिपय रूढीवादी वर्गहरूले यस पर्वलाई स्वीकार्न गाह्रो मानेका छन् । कतिपय धार्मिक समूहहरूले यसलाई नेपाली संस्कृति विरोधी भनेर विरोध जनाएका छन् । केही ठाउँमा त भ्यालेन्टाइन्डेका दिन सार्वजनिक पार्कहरूमा बसेका प्रेमी जोडीहरूलाई प्रहरीद्वारा धम्क्याउने वा दुर्व्यवहार गर्ने घटनासमेत भएका छन् ।
के भ्यालेन्टाइन्डे नेपाली संस्कृति विपरीत छ ? यस विषयमा फरक-फरक विचार पाइन्छ । नेपालमा पहिले नै ‘माघे संक्रान्ति’ जस्ता पर्वहरूमा प्रेमीहरूले एकअर्कालाई मिष्ठान्न दिने चलन थियो । लोककथाहरूमा पनि प्रेमलाई महत्वपूर्ण स्थान दिइएको पाइन्छ । यस सन्दर्भमा, भ्यालेन्टाइन्डे नयाँ अवधारणा नभई प्रेम व्यक्त गर्ने अर्को आधुनिक माध्यम मात्र हो भन्न सकिन्छ ।
नेपाली समाजमा राम-सिता, कृष्ण-राधा, शिव-पार्वतीको प्रेम कथा लोकसंस्कृतिसँगै जोडिएको पाइन्छ । महाकवि लक्ष्मीप्रसाद देवकोटादेखि लिएर आधुनिक कविहरूले प्रेमलाई प्रमुख विषय बनाएका छन् । यदि नेपाली समाजले भ्यालेन्टाइन्डे स्वीकार गर्दैछ भने, त्यसले प्रेम व्यक्त गर्ने नयाँ तरिका मात्र ल्याएको हो भन्न सकिन्छ ।
नेपालमा भ्यालेन्टाइन्डे केवल व्यक्तिगत प्रेम उत्सव मात्र नभई व्यवसायिक रूपमा पनि प्रभावशाली बनेको छ । फूल, उपहार, र चकलेटको व्यापार, होटल तथा रेस्टुरेन्ट व्यवसाय, तथा अनलाइन मार्केटमा यस पर्वको असर देख्न सकिन्छ । काठमाडौं, पोखरा, विराटनगर जस्ता सहरहरूमा फेब्रुअरी १४ नजिकिँदै जाँदा फूल तथा उपहार पसलहरूमा भीड लाग्ने गर्छ । क्याफे र होटलहरूले यस दिन विशेष अफर राखेर व्यवसाय बढाउने गरेका छन् । इ-कमर्स कम्पनीहरूले भ्यालेन्टाइन्डेका अवसरमा विशेष छुट तथा अफर दिने गर्छन् ।
भ्यालेन्टाइन्डेको भविष्य नेपालमा झन् व्यापक हुँदै जाने देखिन्छ । प्रविधि, सामाजिक सञ्जाल, तथा खुला विचारधाराका कारण नेपाली युवायुवतीहरू यस पर्वमा झन् आकर्षित हुने सम्भावना छ । समयसँगै यो नेपाली संस्कृतिमा कुनै न कुनै रूपमा समाहित हुनेछ, जस्तै अन्य विदेशी पर्वहरू (जस्तै, न्यू इयर, क्रिसमस) नेपालमा गाभिएका छन् ।
यसको मूल मर्म भने प्रेम, आत्मीयता, र सम्बन्धको महत्व दर्शाउनु हो, जुन कुनै पनि समाजका लागि महत्वपूर्ण कुरा हो । समग्रमा, भ्यालेन्टाइन्डे नेपाली समाजका लागि सकारात्मक र नकारात्मक दुबै प्रभाव पार्ने पर्व बन्न सक्छ । यसलाई प्रेम अभिव्यक्त गर्ने एउटा अवसरका रूपमा हेर्नु सकारात्मक हुनसक्छ, तर यसलाई केवल व्यापारिक उद्देश्यका लागि मात्र प्रयोग गर्नु भने गलत हुनेछ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच