
आङले खदा नओडेको निकैभो
काँधमा कसैको हात नपरेको
र, कसैले धाप नमारेको थुप्रैभो
स्याबास शब्द नसुनेको पनि ।
माला, अविर र दोसल्ला
नपहिरिएको त
कतिभो कति
धन्यवाद नसुनेको
बधाई नपाएको वर्षौं बित्यो ।
तर पनि
मन विचलित छैन
मथिंगल हल्लिएको छैन
झन् आनन्द भएको छ
थप खुशी बढेको छ
हिम्मत, जोश र जाँगर
थपिएको छ ।
अचेल
खदा, माला र सम्मानको
झुत्रो ल्याप्टो थन्क्याउने
झन्झट हटेको छ
विषाक्त हातहरूबाट
अनुहारमा रातो नदलिँदा
रुप बिग्रनबाट बचेको छ
स्वरूप कुरूप हुनबाट जोगिएको छ ।
कलुसित तिम्रा हातहरू
मेरो काँधमा
अब कहिल्यै नपरून्
विष लाग्ने तिम्रा पञ्जाहरूले
मेरो ढाडमा धाप कहिल्यै नमारुन्
किनकि,
मलाई अहिले हाइसञ्चो छ ।
विषाक्त मन, मस्तिष्क
र, सोच भएको
तिमीले मलाई नछुँदा
मलाई आराम भएको छ
धेरै पटक मैले सुनेको
जे हुन्छ, राम्रैका लागि हुन्छ भने जस्तै
मलाई राम्रो भएको छ
हल्का भएको छ ।
मेरो माग हो
तिम्रा हातले नछोए जस्तै
तिम्रो कुदृष्टिले
तिम्रो कुभावनाले पनि
नछोओस् र नदेखोस्
किनकि
तिमीले नछुँदा
तिम्रो पापी नजर नपर्दा
मलाई सञ्चो भएको छ
सुखानुभूति भएको छ ।
जे भइरहेको छ
राम्रो भइरहेको छ
आजभोलि
न मन जलेको छ
न शरीर गलेको छ
दिमाग पोलेको छैन
तिम्रा दाह्रा र नंग्राहरूको
विष पनि लागेको छैन ।
मेरो कामना
भुस्याहा कुकुरका दाह्रा
र, बोक्सी बिरालाका नंग्राहरू
मेरो शरीरमा नपरुन्
मेरो दिमाग चुस्ने
तिम्रा विषाक्त चुच्चाहरूले
मलाई कहिल्यै नघोचुन् ।
दिनचर्या सुखद् छ
भविष्य शान्त छ
प्रत्येक दिन मनोरम
र, माधुर्य छ
जीवन सार्थक छ
त्यसैले
जे हुन्छ, राम्रैका लागि हुन्छ । धुलाबारी, झापा
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच