
काठमाडौं । नेपाल र भारतबीच विद्युत् पूर्वाधार विकासमा महत्वपूर्ण सहमति भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको भारत भ्रमणका क्रममा दुई देशबीच विद्युत् पूर्वाधार विकास र विद्युत् व्यापारबारे महत्वपूर्ण सहमति भएको हो । ‘इण्डिया इनर्जी विक-२०२५’ मा भाग लिन भारत जानुभएका मन्त्री खड्काले भारतका विद्युत्मन्त्री मनोहरलाल खट्टर, जलशक्तिमन्त्री सिआर पाटिल र पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री हरदीपसिंह पुरीसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो । भेटमा दुई देशबीच ऊर्जा सहकार्य अझ सशक्त बनाउने सहमति भएको मन्त्री खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार पञ्चेश्वर बहुउद्देश्यीय आयोजना अगाडि बढाउने विषयमा छलफल भएको थियो । पञ्चेश्वर बहुउद्देश्यीय आयोजनालाई प्रधानमन्त्रीस्तरीय बैठकबाट टुंग्याउने सहमति भएको उहाँले बताउनुभयो । त्यसैगरी, ठूला जलविद्युत् परियोजनालाई समयमै सम्पन्न गर्ने सहमति भएको उहाँको भनाइ थियो ।
अन्तरदेशीय प्रसारण लाइन निर्माणको मोडालिटीबारे सचिवस्तरीय बैठकमा सहमति जुटेको छ । ऊर्जा विकास मार्गचित्र, २०८१ अनुसार २८ हजार ५०० मेगावाट विद्युत् उत्पादनको लक्ष्य पूरा गर्न सहमति महत्वपूर्ण मानिएको छ । १० वर्षभित्र भारतमा १० हजार मेगावाट र बंगलादेशमा पाँच हजार मेगावाट विद्युत् निर्यात गर्ने योजनाअनुसार आवश्यक प्रसारण लाइन निर्माणबारे सहमति जुटेको मन्त्री खड्काले जानकारी दिनुभयो । प्रसारण लाइन निर्माण सम्पन्न भएपछि नेपालले भारत र बंगलादेशमा १७-१८ हजार मेगावाट विद्युत् निर्यात गर्नसक्ने उहाँको भनाइ छ ।
दुई वर्षदेखि टुंगोमा पुग्न नसकेको नेपाल-भारत अन्तरदेशीय प्रसारण लाइन गत कात्तिकमा नेपाल-भारत ऊर्जा मन्त्रीस्तरीय भेटपछि सम्भव भएको ऊर्जा सचिव सुरेश आचार्यले बताउनुभयो । नेपाल–भारत सचिवस्तरीय बैठकले ढल्केवर-मुजफ्फरपुर ४०० केभी प्रसारण लाइनको क्षमता ८०० मेगावाटबाट १,००० मेगावाट पु¥याउने निर्णय गरेको थियो । चमेलिया-जौलजीवी २२० केभी डबल सर्किट प्रसारण लाइनको विस्तृत परियोजना प्रतिवेदन आगामी मार्चसम्म तयार पार्ने र सन् २०२७ भित्र निर्माण सम्पन्न गर्ने सहमति भएको छ । इनरुवा-पूर्णिया र दोदोधारा-बरेली ४०० केभी प्रसारण लाइन २०३० भित्र सम्पन्न गर्ने सहमति भएको छ । यी प्रसारण लाइन नेपाल विद्युत् प्राधिकरण र भारतको पावर ग्रिड कर्पोरेसन बीचको संयुक्त कम्पनीमार्फत निर्माण गरिनेछ । २०३५ सम्म निजगढ-मोतिहारी र कोहलपुर-लखनउ ४०० केभी प्रसारण लाइन निर्माण गरिनेछ । ढल्केवर-मुजफ्फरपुरमा थप ४०० केभी प्रसारण लाइन निर्माण गर्ने विषयमा पनि सहमति जुटेको छ ।
उच्च क्षमताका थप प्रसारण लाइन निर्माण गरिने
अन्तरदेशीय विद्युत् व्यापारका लागि उच्च क्षमताका प्रसारण लाइन निर्माण गर्ने विषयमा नेपाल र भारतबीच सहमति भएको छ । प्रसारण सञ्जालको विस्तारमार्फत विद्युत् व्यापारमा थप सहजता प्रदान गर्न पछिल्लो सहमतिले महत्वपूर्ण अर्थ राख्ने विश्वास लिइएको छ । ऊर्जा मन्त्रालयका अनुसार सन् २०३४–३५ सम्म निर्माण गर्नेगरी दुईवटा नयाँ र एक हाल सञ्चालनमा रहेको प्रसारण लाइनको क्षमता वृद्धिका सन्दर्भमा महत्वपूर्ण सहमति भएको हो । नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकले निजगढ/हरनैया-मोतीहारी चार सय केभी क्षमताको प्रसारण लाइन निर्माणमा सहमति भएको छ । यस्तै, कोहलपुर-लखनउबीच पनि चार सय केभी क्षमताको प्रसारण लाइन निर्माण हुनेछ । हाल सञ्चालनमा रहेको ढल्केबर-मुजफ्फपुर चार सय केभी क्षमताको प्रसारण लाइनमा उच्च क्षमताको कन्डक्टरद्वारा प्रतिस्थापन गरिनेछ । सो प्रसारण लाइनमार्फत हाल आठ सय मेगावाट बिजुली आयात निर्यात भइरहेको छ । सो प्रसारण लाइनमार्फत एक हजार मेगावाटसम्म बिजुली आयात-निर्यातका बारेमा समेत पछिल्लो बैठकमा सहमति भएको छ । दुई देशबीच यसअघि नै इनरुवा-पूर्णिया र दोदोधारा-बेरेली प्रसारण लाइन निर्माणमा सहमति भएको छ । ती दुवै प्रसारण लाइनको क्षमता चार सय केभी रहने छ । यसैगरी, हाल न्यु बुटवल-गोरखपुर चार सय केभी क्षमताको प्रसारण लाइन निर्माण कार्य जारी छ । बिजुली उत्पादन गरेर मात्र नहुने र त्यसलाई क्षेत्रीय बजारमा पुर्याउनका लागि उच्च क्षमताको प्रसारण लाइन आवश्यक पर्ने भएकाले दुई देशले त्यसलाई प्राथमिकताका साथ अगाडि बढाएका छन् ।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा १० हजार मेगावाट बिजुली भारत निर्यातका लागि सहमति भएको थियो । हाल विभिन्न क्षमताका प्रसारण लाइनमार्फत दुई देशबीच विद्युत् आदानप्रदान भइरहेको छ । सरकारले अगाडि सारेको दीर्घकालीन योजनाअनुसार कुल २८ हजार पाँच सय मेगावाटमध्ये १५ हजार मेगावाट बिजुली निर्यात गरिनेछ । त्यसमा १० हजार मेगावाट भारत र पाँच हजार मेगावाट बंगलादेश निर्यात गरिनेछ । यस्तै, १३ हजार मेगावाट बिजुली भने आन्तरिक खपतका लागि प्रयोग गरिनेछ ।
पञ्चेश्वरको डिपिआर चाँडो सक्ने सहमति
नेपाल-भारतबीच पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको (विस्तृत परियोजना प्रतिवेदन) डिपिआर चाँडो सकेर आयोजना अघि बढाउने सहमति भएको छ । यसैगरी, सप्तकोशी बहुउद्देश्यीय आयोजनाको डिपिआर सम्बन्धमा पनि दुईपक्षीय बैठकमार्फत छलफल अगाडि बढाउने सहमति भएको छ । भेटमा भारतका जलशक्तिमन्त्री पाटिलले पञ्चेश्वर आयोजनाको डिपिआरलाई चाँडो अन्तिम रूप दिन र उक्त आयोजनालाई चाँडो अगाडि बढाउन भारत सरकार सकारात्मक रहेको बताउनुभएको थियो । ऊर्जामन्त्री खड्काले भारत भ्रमण उपलब्धिमूलक रहेको बताउनुभयो । ‘भारत भ्रमणका क्रममा भारतका विद्युतमन्त्री मनोहरलाल खट्टर, जलशक्तिमन्त्री सिआर पाटिल र पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री हरदीपसिंह पुरीसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने अवसर मिल्यो, उक्त भेटले दुई देशबीचको सम्बन्ध अझ प्रगाढ भएको महसुस भएको छ,’ मन्त्री खड्काले भन्नुभयो । भारत भ्रमणका क्रममा बंगलादेशका ऊर्जामन्त्रीसँग पनि आफ्नो महत्वपूर्ण भेट र छलफल भएको मन्त्री खड्काले बताउनुभयो । ‘हामीले जे उद्देश्यका साथ बंगलादेशसँग पनि विद्युत् व्यापार गर्ने उद्देश्य राखेका छौँ, त्यसलाई अगाडि बढाउने संकेत मिलेको छ, चाँडै नै यसले पनि मूर्तरूप लिन्छ,’ मन्त्री खड्काले भन्नुभयो ।
भारतका विद्युत्मन्त्री मनोहरलाल खट्टर फेब्रुअरी अन्तिममा नेपाल आउने
भारतका विद्युत्मन्त्री मनोहरलाल खट्टर नेपाल आउनुहुने भएको छ । आफ्नो देशको लगानीका जलविद्युत् आयोजना हेर्न उहाँ फेब्रुअरीको अन्तिम साता नेपाल आउन लाग्नुभएको हो । इण्डिया इनर्जी विकमा सहभागी हुन जानुभएका ऊर्जामन्त्री खड्काको आग्रहपछि विद्युतमन्त्री खट्टर नेपाल आउन लाग्नुभएको हो । उहाँको भ्रमणका बेलामा नेपाल-भारतको द्विपक्षीय लगानीका बारेमा छलफल हुने अपेक्षा गरिएको छ । ऊर्जा विकास मार्गचित्रअनुसार सन् २०३५ भित्र विद्युत् जडित क्षमता २८ हजार ५०० मेगावाट पुर्याउनुपर्ने लक्ष्य लिइएको अवस्थामा उहाँको भ्रमण राम्रो अवसर हुने ऊर्जा विज्ञहरू बताउँछन् । भारतीय कम्पनीसँग अहिले चार हजार मेगावाट क्षमताका आधा दर्जन नेपाली जलविद्युत् परियोजना छन् । नेपाल–भारत सचिवस्तरीय बैठकमा भएको सहमतिले नेपालमा भारतीय लगानीकर्तालाई आकर्षित गर्ने विश्वास लिइएको छ ।
भारतीय ऊर्जामन्त्रीको भ्रमणपछि मात्रै ओलीले भारत भ्रमण तय हुने
प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण भारतीय ऊर्जामन्त्री मनोहरलाल खट्टरको नेपाल भ्रमणपछि मात्रै हुने भएको छ । भारतको भ्रमण सकेर स्वदेश फर्किनुभएका ऊर्जामन्त्री दीपक खड्काले चाँडै प्रधानमन्त्री ओलीले भारत भ्रमण गर्ने बताउनुभयो । छिट्टै नै भारतीय ऊर्जामन्त्री नेपाल आउने र त्यसपछि मात्रै प्रधानमन्त्री ओलीको भारत भ्रमण तय हुने उहाँले बताउनुभयो । ‘ऊर्जामन्त्री भारतबाट आइसकेपछि सम्माननीय प्रधानमन्त्रीको पनि भिजिट हुने कुरा छ । त्यसपछि सम्माननीय प्रधानमन्त्रीको पनि भिजिटको मिति तय हुन्छ भन्ने हाम्रो अनुमान छ,’ उहाँले भन्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच