
काठमाडौं । नेपालको राजनीतिक परिदृश्यमा, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लगायतका वामपन्थीबीच पार्टी एकताको विषयमा विभिन्न दाबीहरू प्रस्तुत भइरहेका छन् । पछिल्ला दिनमा समाजवादी मोर्चामा आबद्ध केही नेताहरूले यस कुरालाई जोडदार रूपमा उठाएका मात्रै छैनन् छिट्टै पार्टी एकता हुने उद्घोषसमेत गरेका छन् । गत मंगलबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही कम्युनिष्ट पार्टीहरूसँग एकताको लागि छलफल भइरहेको बताउनुभएको थियो । सुर्खेतमा पुगेर प्रचण्डले पत्रकाहरूसँग कुराकानी गर्दै नेकपा (एकीकृत समाजवादी) र नेपाल कम्युनिष्ट पार्टीसँग एकता गर्नेबारे कुराकानी भइरहेको बताउनुभएको थियो । पार्टी एकताबारे एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सँग कुराकानी भएको उहाँको भनाइ थियो । उहाँले पार्टी एकताकै लागि समाजवादी मोर्चा बनाएर छलफल गरेको पनि दाबी गर्नुभएको थियो । ‘पार्टी एकताका लागि नै समाजवादी मोर्चा बनेको हो, मोर्चाभित्र विश्वासको वातावरण बनाएर पार्टी एकतामा जाने योजना रहेको छ,’ उहाँले भन्नुभएको थियो ।
यस्तै, नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले पनि माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग पार्टी एकता हुनसक्ने दाबी गर्नुभएको छ । ३०औँ जनयुद्ध दिवसका अवसरमा बिहीबार खोटाङ सदरमुकाम दिक्तेलमा आयोजित कार्यक्रममा बोल्दै पुनले समाजवादीसँग आफूहरूको कार्यदिशामा समानता रहेको बताउनुभएको थियो । यस्तै, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेकपासहित माओवादी धारका सबै घटकसँग पनि सहकार्य र एकताको नीतिमा आफूहरू रहेको उहाँको भनाइ थियो । उहाँले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को वरिपरि कम्युनिष्ट ध्रुवीकरणको प्रक्रिया अघि बढिसकेको दाबी गर्नुभयो ।
नेत्रविक्रम चन्दको पार्टी त माओवादीसँग एकताका लागि तयार नै छ । बरु उसले माओवादी केन्द्रकै कारण एकता प्रक्रियामा ढिलाइ भइरहेको बताइरहेको छ । केही संगठनात्मक तथा केही प्राविधिक विषय मात्रै मिल्न बाँकी देखिन्छ । वैचारिक तथा सैद्धान्तिक रूपमा नेपाल कम्युनिष्ट पार्टी र माओवादीका बीचमा एकताको सहमति नै भइसकेको हो । तर, नेपालको एकीकृत समाजवादीसँग भने माओवादीले कुनै त्यस्तो सहमति गरेको छैन । न त एकीकृत समाजवादी आफैँ एकताका लागि तयार छ । तर, प्रचण्डले भने बारम्बार एकता हुने दाबी गरिरहनु भएको छ । प्रचण्डले यसअघि गत माघ १९ गते पनि चितवनमा सोही दाबी गर्नुभएको थियो । एकीकृत समाजवादीका स्थानीय नेतालाई पार्टी प्रवेश गराउँदै उहाँले भन्नुभएको थियो, ‘यो प्रवेशले माधवजीसँगको सम्बन्धलाई कुनै असर पर्ने छैन । उहाँहरूलाई भित्र्याउन मेरो कुनै भूमिका छैन । चितवनकै साथीहरूको भूमिका छ । अहिले माधवजी र हामी मिलेर समाजवादी मोर्चामा नयाँ ढंगले काम गर्न खोजिरहेका छौँ । अहिलेको पार्टी प्रवेशले माओवादी र एकीकृत समाजवादी बीचको पार्टी एकताको आधार बन्दै छ भन्ने मेरो बुझाइ छ ।’
तर, एकीकृत समाजवादीभित्र भने यस विषयमा विभाजित धारणा देखिन्छ । अध्यक्ष माधव नेपालले पनि कम्युनिष्ट पार्टी एक हुन पहिला विचार मिल्नुपर्ने धारणा राख्नुपर्ने बताउँदै आउनुभएको छ । केही दिनअघि भएको समाजवादी मोर्चाको कार्यक्रममा बोल्दै उहाँले विचार मिलेन र साझा सहमतिमा नपुगी भएको एकता काँचो हुने तर्क राख्नुभएको थियो । तर, एउटै पार्टी बनाउन नसके पनि समाजवादी मोर्चा बनाएर जानुपर्ने धारणा उहाँको थियो । मोर्चामा रहेका तीन पार्टी (माओवादी, एकीकृत समाजवादी र नेकपा) मिलेर अगाडि बढे देश तथा विदेशमा तरंग ल्याउने नेपालको दाबी थियो । एकीकृत समाजवादी भित्रका केही नेताहरू, जस्तै रामकुमारी झाँक्री, किसान श्रेष्ठ, जीवनराम श्रेष्ठ, प्रेम आलेलगायत, माओवादीसँग एकता गर्दा पार्टीको पहिचान र अस्तित्वमा असर पर्ने भन्दै असहमति जनाइरहेका छन् । उनीहरूको तर्क छ कि ठूलो दलसँगको एकता विलयमा परिणत हुनसक्छ, जसले पार्टीको स्वायत्ततालाई कमजोर बनाउँछ ।
यसैबीच, माओवादी केन्द्र, एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपा लगायतका अन्य वामपन्थी पार्टीबीचको सहकार्यलाई प्रोत्साहन गर्न समाजवादी मोर्चा गठन गरिएको छ । यो मोर्चाले पार्टीहरूबीचको संवाद र सहकार्यलाई सहज बनाउने उद्देश्य राखेको छ । तर, मोर्चाको सक्रियता र प्रभावकारितासम्बन्धी प्रश्नहरू उठिरहेका छन्, किनभने मोर्चाको बैठकहरू नियमित रूपमा सञ्चालन हुन सकेका छैनन् । उसो त साना पार्टीहरू अस्तित्व रक्षाका लागि मिल्नुपर्ने बाध्यात्मक परिस्थितिका कारण एकता नभइहाल्ला भन्न पनि सकिँदैन । तथापि, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पार्टी एकताको सम्भावना तत्कालका लागि स्पष्ट छैन । दुवै पार्टीभित्र आन्तरिक बहस र छलफल जारी रहेकाले, एकताको प्रक्रिया समयसापेक्ष रूपमा अघि बढ्न सक्ने देखिन्छ । यसका लागि दुवै पक्षबीच विश्वासको वातावरण निर्माण, साझा उद्देश्यहरूको पहिचान, र कार्यकर्ताहरूको भावनालाई सम्मान गर्ने पहल आवश्यक हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच