
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी सञ्चालन, आगामी महाधिवेशन र भावी नेतृत्वबारे आफूनिकट नेताहरूसँग छलफल गर्नुभएको छ । १४औँ महाधिवेशनमा सभापतिमा देउवालाई सघाएका प्रभावशाली नेताहरू शुक्रबार बूढानीलकण्ठ पुगेका थिए । ती नेताहरूलाई सभापति देउवाले पार्टीभित्रको गतिविधि र समग्र राजनीतिबारे सोधपुछ गर्नुभएको थियो । सभापति देउवाले विगतमा आफूलाई सहयोग गरेका नेताहरूबीच एकता कायम राख्न नेताहरूलाई अनुरोध पनि गर्नुभएको थियो ।
कांग्रेसको नेतृत्वमा सभापतिका रूपमा देउवाको यो अन्तिम कार्यकाल हो । नियमित चार वर्षे कार्यकाल आगामी मंसिरमा सकिने भए पनि विधानले दिएको सुविधाअनुसार एक वर्ष कार्यकाल लम्ब्याउने देउवाको तयारी छ । सभापति देउवाले आफ्नो गुटमा रहेका नेताहरूसँग साढे दुई घण्टाजति समसामयिक राजनीति र महाधिवेशनबारे छलफल गर्नुभएको हो । पार्टीको महाधिवेशनका विषयमा नेताहरूका फरक धारणा आउन थालेको र संस्थापन इतर पक्षले आफ्नो गतिविधि बढाएको चर्चाका बीच देउवाले आफ्नो गुटका नेताहरूसँग छलफल गर्नुभएको हो । देउवाको साथ छाडेर डा. शेखर कोइराला नेतृत्वको समूहमा जाने चर्चा सुनिएका नेताहरू समेतलाई छलफलमा बोलाइएको थियो ।
छलफलमा राष्ट्रियसभा संसदीय दलका नेता कृष्ण सिटौला पनि सहभागी हुनुहुन्थ्यो । सिटौला १४औँ महाधिवेशनमा देउवाको प्रस्तावक हुनुहुन्थ्यो । १४औँ महाधिवेशनमा प्रतिस्पर्धा गरे पनि दोस्रो चरणमा देउवालाई नै सघाउनुहुने पूर्वउपसभापति विमलेन्द्र निधि र पूर्वउपसभापति एवं वर्तमान उपप्रधानमन्त्री प्रकाशमान सिंह पनि बैठकमा हुनुहुन्थ्यो । त्यस्तै, उपसभापति पूर्णबहादुर खड्कासहित पूर्वउपसभापतिहरू गोपालमान श्रेष्ठ, विजयकुमार गच्छदार, सहमहामन्त्री उमाकान्त चौधरी, प्रवक्ता डा.प्रकाशशरण महत, नेताहरू बालकृष्ण खाण, एनपी साउदलगायत देउवा निवास पुग्नुभएको थियो ।
शशांक पनि देउवातिर
१४औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएर तटस्थ रहेको घोषणा गर्नुभएका पूर्वमहामन्त्री डा.शशांक कोइराला पनि सभापति देउवाकै गुटमा खुल्नुभएको छ । लामो समय कुनै पनि गुटका बैठकमा नदेखिनुभएका कोइराला शुक्रबार भने देउवा गुटको बैठकमा पुग्नुभएको हो । कोइरालाले आफूलाई १५औँ महाधिवेशनमा सभापतिको स्वाभाविक दाबेदार रहेको बताउँदै आउनुभएको छ । दाजु शेखरले सभापति देउवाविरुद्ध उम्मेदवारी दिए पनि शशांक गत महाधिवेशनमा तटस्थ रहनुभएका थियो । यद्यपि, सभापतिमा शशांकनिकट प्रतिनिधिहरूले देउवालाई नै मत दिएको बताइन्छ ।
भावी सभापतिको खोजी
सभापति देउवाले आफूनिकट नेताहरूसँग छलफल गर्न बोलाएको बैठकमा अधिकांश समय आगामी महाधिवेशन र भावी नेतृत्वबारे नै छलफल भयो । पूर्वमहामन्त्री कृष्ण सिटौलाले आफू पनि सभापतिको आकांक्षी रहेको संकेत गर्दै पार्टीभित्र शेखर र गगनबाहेक कोही नभएको सन्देश जान नहुने बताउनुभयो । पूर्वउपसभापति विमलेन्द्र निधिले अघिल्लो महाधिवेशमा आफूले दोस्रो चरणमा देउवालाई साथ दिएको प्रसंग सुनाउँदै १५औँ महाधिवेशनमा पनि देउवा नेतृत्वको टिम एकढिक्का हुनुपर्नेमा जोड दिनुभयो । बैठकमा नेताहरूले संस्थापन पक्ष रक्षात्मकजस्तो देखिँदा संस्थापन समूहमा रहेका कार्यकर्ताहरू तितरवितर हुन लागेको तर्फ देउवाको ध्यानाकर्षण गराएका थिए ।
बेला आएपछि सबै कुरा भन्छु : देउवा
छलफलका क्रममा अधिकांश नेताहरूले संस्थापन पक्षबाट देउवापछि कसले नेतृत्व गर्ने भन्ने चासो व्यक्त गरेका थिए । विधानका कारण १५औँ महाधिवेशनमा देउवा सभापतिको उम्मेदवार नरहने निश्चित भएको भन्दै नेताहरूले संस्थापन पक्षको एकता जोगाउने गरी भावी नेतृत्वबारे विचार गर्न देउवालाई अनुरोध गरेका थिए । जवाफमा सभापति देउवाले अहिलेलाई टिमको स्पिरिटअनुसार काम गर्न निर्देशन दिनुभयो । भावी सभापति वा पदाधिकारीबारे अहिले नै निर्णय गर्ने बेला नभएको भन्दै देउवाले बेला आएपछि आफूले सबै कुरा बताउने उल्लेख गर्नुभयो । ‘तपाईंहरूको सहयोगले नै मैले कांग्रेसको नेतृत्व गरेको हुँ । कांग्रेसलाई हाम्रो एकता चाहिन्छ । अहिले यो टिमको स्पिरिटमा काम गर्नू । भावी नेतृत्वबारे बेला आएसी भनौँला’, देउवालाई उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भन्नुभयो ।
महाधिवेशन सार्ने तयारी
आगामी महाधिवेशन र भावी नेतृत्वबारे छलफल भए पनि सभापति देउवाले भने केन्द्रीय कार्यसमितिको म्याद थप गर्नेबारे परामर्श लिन नेताहरूलाई बोलाएको बुझिन्छ । बैठकमा प्रवक्ता डा.प्रकाशशरण महतले नै २०८२ मंसिरमा महाधिवेशन हुने आधार तयार नभएकाले विधानको व्यवस्थाअनुसार नै एक वर्ष केन्द्रीय कार्यसमितिको म्याद थप गर्नुपर्ने हुनसक्ने बताउनुभएको थियो । प्रवक्ता महतले पार्टी महाधिवेशन र भावी नेतृत्व सहितका समसामयिक विषयमा केन्द्रित रहेर सभापतिसँग सबै नेताहरूले कुरा राखेको बताउनुभयो ।
अध्यादेश पारित गर्न एकीकृत समाजवादीसँग छलफल
कांग्रेसले राष्ट्रिय सभाबाट अध्यादेश पारित गर्ने विकल्पका रूपमा नेकपा एकीकृत समाजवादीसँग छलफल थालेको छ । पार्टी सभापति देउवा निवास बूढानीलकण्ठमा भएको छलफलमा यसबारेमा कुरा उठेको हो । जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले सरकारले ल्याएका अध्यादेश अस्वीकार गर्ने निर्णयपछि देखिएको समस्या समाधानबारे कांग्रेसले एकीकृत समाजवादीलाई विकल्पको रूपमा अगाडि सारेको छ । बैठकमा सहभागी एक नेताका अनुसार नेकपा (एकीकृत समाजवादी) लाई मनाएर राष्ट्रिय सभाबाट अध्यादेश स्वीकृत गराउन पहल गर्ने निर्णय भएको छ । राष्ट्रिय सभामा नेकपा एसको आठ सिट छ । कांग्रेस संस्थापनका नेताहरूको छलफलमा अध्यादेश ल्याएर नेकपा एस विघटन गराउने प्रधानमन्त्री ओलीको प्रयासमा कांग्रेसले साथ नदिएर माधव नेपालको आग्रह मानेको भन्दै त्यसको बदलामा अब नेकपा एसले कांग्रेसको प्रस्ताव मान्नुपर्ने तर्कसमेत उठेको ती नेताले बताउनुभयो । सत्तामा रहेको लोसपा र गठबन्धन सरकारलाई समर्थन गरेको जसपा नेपालले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश-२०८१ अस्वीकार गर्ने निर्णय गरेका थिए ।
जसपा नेपालको मंगलबार बसेको संसदीय दलको बैठकले अस्वीकार गर्ने निर्णय गरेको थियो भने लोसपाका अध्यक्ष महन्थ ठाकुरले बुधबार विज्ञप्ति जारी गर्दै पार्टीले भूमिसम्बन्धी अध्यादेश अस्वीकार गर्ने बताउनुभएको थियो । ५९ सदस्यीय राष्ट्रिय सभामा अध्यक्षसहित माओवादी १८, कांग्रेस १६, एमाले ११, नेकपा एस आठ, जसपा नेपाल तीन, लोसपा एक र जनमोर्चाको एक सिट छ । त्यस्तै, राष्ट्रपतिबाट मनोनीत वामदेव गौतमले अध्यादेशको पक्षमा उभिने निर्णय गर्नुभएको छ । बैठकमा सरकार निर्माणका बेला भएको सात बुँदे सहमति कार्यान्वयनको सन्दर्भमा पनि छलफल भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच