
✍️ प्रा.डा.गणेश क्षेत्री
गद्यमा होस् वा पद्यमा होस् कविता-सिर्जन भनेको कविको कुरा कथुर्याइँबाटै सुरु हुन्छ र सिर्जना सृजित हुन्छ । कुरा कथुर्नलाई सीप त चाहिन्छ चाहिन्छ त्यसमा कविले आफ्नो सीपको प्रयोग पनि कुशल तरिकाले गर्न सक्नुपर्दछ । त्यतिमात्र होइन कविले आफ्नो सीपको प्रयोग गर्दा ऊसित भएको ज्ञान, विवेक र चेतनाको बहुआयामिक प्रक्षेपण गर्न सक्नुपर्दछ । नत्र कविको सिर्जनाले समाजलाई अत्यावश्यक ज्ञान र चेत दिन असमर्थ हुन्छ । त्यसो गर्न सकेन भने कविको जस्तोसुकै पोख्ततायुक्त, सीपयुक्त कविता पनि समाजका लागि अर्थहीन हुन्छ ।
यस अर्थमा कविको सिर्जना ज्ञान विवेक र चेतनाबाट प्रादुर्भाव भएर मानव समाजलाई चेतना प्रवाह गर्न सक्ने हुनुपर्दछ । कुनै पनि कविताबाट यो अवस्था सिर्जना हुन सकेन भने जतिसुकै सीपले निखारे पनि वा लयले चम्काए पनि त्यस्ता कविताहरू निस्सार हुने गर्दछन् । यस्ता कविताहरू गुदीबिनाका फल जस्ता हुनजान्छन् । अभिव्यक्ति कौशलले मात्र कविताको पूर्णाङ्क सिर्जना हुन सक्दैन ।
उपर्युक्त दृष्टिकोणबाट कवि हरि कट्टेलको दिप्तदृष्टि नामक कवितासङ्ग्रहलाई हेर्दा र विश्लेषण गर्दा यो चेतमुखी प्रेरणामुखी एवम् अन्तरदृष्टि प्रदायक प्रमाणित हुन्छ । कतिपय सूक्ष्मरूपमा रहेका कमीकमजोरीहरूका बाबजुद यो कवितासङ्ग्रहरूपी साहित्यिक कृति सर्वोत्तम साहित्यिक कृतिका लहरमा उभिन सक्षम देखापरेको छ । अध्ययनका सिलसिलामा मैले अङ्ग्रेजी कवि जेम्स सरलीको कविता ‘डेथ द लेभ्लर’ को निष्कर्ष वाक्य न्यायपूर्ण दायित्व निर्वाहरूपी कर्म नै आफ््नो शेषपछि आफ्नै खरानीमा सदासर्वदा वासनामयी फूल भएर सदा फुलिरहनेछ झैँ कविको यो कवितासङ्ग्रह पनि नेपाली साहित्यको अस्तित्व रहेसम्म कविको सुवास छर्न लागिपर्ने देखेको छु ।
कवि हरि कट्टेलका कविताहरूमा देखापरेको योे शिल्प समयसापेक्ष नेपाली परिवेशसित सम्बन्धितमात्र नभएर मुलुकी हक र नेपाली पर्यावरणलाई छर्लङ्ग देख्न सकिने दर्पण पनि हो । यस अर्थमा कवि हरि कट्टेल मुरीमुरी बधाईका पात्र हुन् ।
खासगरी हरि कट्टेलका माटो र म, के हुन्न यो मुलुकमा, आमा, जपेर राष्ट्र बाँच्दछु, छोरी आवाज, टोपीलगायत धेरैजसो कविताहरू चेत, प्रेरणा र विवेकबोधक छन् । यसमा कवि हरि कट्टेलका यो जिन्दगी जस्ता वैराग्यप्रधान कविता पनि देखिन्छन् । यी कविता हेर्दा कवि कट्टेलको वैराग्य अभिव्यक्ति सीप विश्व प्रख्यात अङ्ग्रेजी कविता ग्लुमी सन डे अथवा उराठिलो आइतबारको समकक्षी जस्तो देखिन्छ । उनको देशप्रेम र राष्ट्रप्रेमको भाव भएका घेरौँ सिमाना अब, नगाऊँ प्रीतिका गीत जस्ता कविताहरू सबै नेपालीहरूका निम्ति परन्तुसम्म प्रेरणदायी रहिरहने छन् ।
समग्रमा कवि हरि कट्टेलका कविताहरूमा देखापरेको योे शिल्प समयसापेक्ष नेपाली परिवेशसित सम्बन्धित मात्र नभएर मुलुकी हक र नेपाली पर्यावरणलाई छर्लङ्ग देख्न सकिने दर्पण पनि हो । यस अर्थमा कवि हरि कट्टेल मुरीमुरी बधाईका पात्र त हुन् नै यसका साथै सम्पूर्ण नेपाली साहित्यलाई आफ्नो अभिव्यक्ति कौशलबाट बढीभन्दा बढी परिमार्जित गरेर औचित्यमुखी तुल्याउँदै भावि कविहरूका पुस्तालाई समेत कविताको माध्यमबाट विश्लेषणात्मक चेत र विवेकयुक्त सिर्जनात्मक आभाको भाखा सार्न सफल कवि पनि हुन पुगेका छन् । यस्तो हुन सकेकोमा उनी साहित्यप्रेमी सबैका निमित्त प्रशंसाका पात्र हुन पुगेका छन् ।
उनी मानसिक श्रम साधनाका निमित्त एउटा महारथी हुन पुगेका छन् जसले कविताका अमोध अस्त्रहरू हानेर समाजका कतिपय समस्याहरूलाई भेदन गर्ने र निकाशमार्ग प्रशस्त गर्ने काम गरेका छन् । फरक फरक छन्दले बद्घकविताहरूमा फरक भाव र फरक–फरक रसका स्वाद सिर्जना गरेर कवि बहुआयामिक जागृतिलाई समाजका निमित्त अन्माउन समर्थ हुन पुगेका छन् । किनकि उनका कविताहरू राष्ट्रिक राज्यवाचक नभएर सिंगो र अखण्ड एकतामा जमेको राष्ट्रवाचक हुनुका साथै अधमता, अराजकता, असमानता एवम् असक्षमता तथा समग्र राष्ट्रिय हित एवम् स्वार्थहरू बारे सचेतना, विवेक र ज्ञान दिन, सक्षम छन् । कवि हरि कट्टेलका कविताका केही उदाहरणहरू यहाँ उल्लेख गर्न चाहन्छु ।
१.
उँभो लेक राम्रो उँधो औल राम्रो
जुरेली चरी तुल्य नेपाल हाम्रो ।
२.
छाती ढक्क भयो ढली दिन गयो प्यारा तिमी छौ कता
हे छोरा घरतर्फ फर्क न छिटो मैले मुछेँ अक्षता ।
३.
माटो रिझाउँन सकूँ अझ पाखुरीले
धर्ती भिजाउँन सकूँ श्रमका नदीले ।
४.
घरी दायाँ घरी बायाँ फर्किदिन्छु सरोबरी
मुखमा रजनीगन्धा पान हुन्छन् परी परी
मातेको मस्त साँडे झैँ आँखा खोल्छु गरी बल
नछोऊन् शत्रुले कुर्सी रक्षे ! मा चल मा चल ।
कवि हरि कट्टेलका प्रायः सबैजसो कविताहरू यस्तै–यस्तैगरी संकेतात्मक र प्रतीकात्मक तवरबाट नै लेखिएका छन् । यस सङ्ग्रहका कविताहरू सबैजसो पाठकहरूको मन छुन सक्षम पनि छन् । यही विश्वास राख्दै म कवि हरि कट्टेल र उनका कविताप्रतिको धारणा टुङ्ग्याउँछु ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच