
✍️ सुरेशकुमार भट्ट
मसिल सुरुमा गोरखाका राजा पृथ्वीपति शाहबाट बरामहरूलाई नरभुपाल शाहलाई तनहुँको दरबारबाट चोरी ल्याएर गोरखाको खाली हुन लागेको राजसिंहासनको उत्तराधिकार जोगाए थामेबापत प्रदान गरिएको किपट १३ थुमका १३ मिजारमध्येको मसेल चार थुमका चार बराम जातिको किपट हो । सुरुका चार काशीहारा, काशीदूरा, कालीकोटे, सूर्यवंशी र कालीकोटे चन्द्रवंशी यी चार थरका चार मिजार थिए ।
जब प्रधानमन्त्री जंगबहादुरबाट आफ्ना राजवैद्य गंगानाथ जोशीलाई कटहरवनमा टुरमुकाम हँुदा लालमोहर जलेकोले ताम्रपत्र सदर भयो त्यतिखेरको सिमाना डाँडागाउँका मिजारहरूको साँधसिमाना उत्तरमा मिचेर, पूर्वमा जहरसिंह बानियाँको विर्ता साँध, दक्षिणमा गुणवन्तको विर्ता साँध, बल्खुका बरामको किपट साँध, पश्चिममा गोरखकाली गुठी र विष्टको विर्ता साँध गरी सदर भएपछि मसेलका बरामहरूको किपट मिच्ने काम भयो ।
जब मसेलका चार मिजार, डाँडागाउँका दुई मिजारले यो कुरा थाहा पाए । तब तेरो मेरोमा मुद्दा मसेलको चल्यो भने डाँडा गाउँका दुई मिजारले साँध मिच्यो भनेर गंगानाथ जोशी वैद्यका नाममा मुद्दा हाले । डाँडागाउँको सीमा मुद्दा मिलापत्र गरेर मिलाएपछि मसेलका मिजारहरूलाई एकल्याएर अलग्याएर जाल प्रपञ्च गर्न सुरु गरे । सोझा र इमानदार बरामहरूको श्री ३ महाराजका आड पाएका झेला कुमाईहरूको अगाडि केही लागेन र अन्त्यमा पोलाहा घलेलाई सर्किनी मु्द्दामा पारेर पन्छाएपछि तीन मिजारबाट ताम्रपत्र सार्ने निहँुमा लुकाएर बराम मिजारहरूलाई किपटबाट नांगै विमुखै पारिदिए ।
पाटनका गाबहालका नेवार जोशीहरू उपत्यकाबाट मनकामना जानेआउने क्रममा ताक्लकुग बाटोमा पर्ने र माईस्थानको नजिक भएकाले व्यापार हुने ठाउँ मन पर्यो । ताक्लकुगमा र मनकामना दुवैतर्फ बस्ने गरे । तिनै जोशीहरू मनकामनाका गुठियार पनि रहेका थिए ।
किपटको ताम्रपत्र माग्दा उल्टै मुद्दा लाएर थुनाउने धम्की दिएपछि प्रमाण पेश गर्नुअघि नै भागेर गोर्खातिर बराम मिजार लागेपछि मुद्दा एकलौटी बनाएर आफ्नो हक हैकममा मसेलको किपटलाई विर्तामा रूपान्तरण गरी आफ्नो हक कायम गरेपछि यसको नियमित रेखदेख र सुरक्षाका लागि एक कटुवाल एक थरी र एकद्वारे राख्ने व्यवस्था गरे । अब जोशीको विर्तामा भएको बन्दोबस्त हेरौँ ।
गणेशकुमार जोशी को थिए ? के भए ? किन मुहुडीमा परे ?
विर्तावाल गंगानाथ जोशी वैद्यका विर्ता मसेलका द्वारे/राणा सरकारका ‘ढुकुटी तोषाखाना’का जागिरे÷भ्रष्ट्राचार लागेर मृत्युदण्डमा परेका–गणेशकुमार जोशी को थिए ? अब भनेको सुनेको र बुझेको कुराको चर्चा गरौँ :
पाटनका गाबहालका नेवार जोशीहरू उपत्यकाबाट मनकामना जानेआउने क्रममा ताक्लकुग बाटोमा पर्ने र माईस्थानको नजिक भएकाले व्यापार हुने ठाउँ मन पर्यो । ताक्लकुगमा र मनकामना दुवैतर्फ बस्ने गरे । तिनै जोशीहरू मनकामनाका गुठियार पनि रहेका थिए । विर्तावाल जोशी/बाहुन काठमाडौंका भएकाले जोशी नेवार पनि ललितपुरका हुनाले विर्तावालले थरी कटुवाल स्थानीयबाट राखे पनि सुरुमा आफ्ना हिसाब किताबका लागि कर्कन्दास स्थानीयहरूलाई पहिले विश्वास गरिहाल्न सकेनन् । दोस्रो तुरुन्तै लिन बराममा लिने कुरै भएन झगडिया भए । क्षेत्रीबाहुनलाई पनि विश्वास गरिहालेनन् । केही नेवार परिवारमा पाटनेबाट बहिदारमा लालबहादुर श्रेष्ठ, भादगाउँलेबाट द्वारेमा भाननारायण श्रेष्ठलाई नियुक्ति गरे पनि लामो समय राखेनन् ।
चित्तबुझ्दो काम नहुँदा हटाइदिए । काठमाडौं खाल्डाकालाई नजिक र बाहिरकालाई टाढा देख्नु अनौठो होइन । किनकि उपत्यकाका तीन थरी खोपें (भादगाउँ) यले (ललितपुर) यीँ (कान्तिपुर)का नेवारहरूमा पनि विभेद थियो । ‘गाउँलेको विश्वासै हँुदैन’ भनेर भन्नुको पछाडि दुई अर्थ हुनसक्छ । एक भादगाउँलाई भनेको हुनसक्छ, यले र यकीले । किनकि यले र यिकले खोप्यसँग विवाह नै गर्दैनथे । दुईटा मिलेर खोप्यमाथि हमला गर्थे । खोप्यहरूलाई हेला पनि गर्थे । दोस्रो कुरा गाउँलेलाई गँवार/विश्वास नभएको/पर्वटे र खैंचा भन्ने गर्थे । त्यसैले तेही खाल्डाको बाहुन नै भए पनि पहाडीयामाथि त्यस कुराले जोशी बाहुनमा पनि प्रभाव परेको हुनसक्छ ।
त्यसैले स्थानीयलाई लामो समय कारिन्दा नबनाएको हुनसक्छ । मनकामनाका जोशीका एक परिवार मसेलको भुमरी थोकको जोगीपाटामा पहिले नै आएर बसेका थिए । यी जोशीहरूसँगै मगरहरू पनि मसेल आएका थिए । त्यस परिवारको खोप्लका प्रसिद्ध साहु रघुवीर, चामनारायणको परिवारसँग नजिकको नाता थियो । जोगीपाटामा त्यतिखेर तीन घर जोशी एक घर गोर्खाली नेवार, तीन घर जोगी, दुई घर श्रीमल सार्की र दुई घर बराम थिए ।
जोशी तीन परिवारमध्ये एक परिवारको जेठो छोरा हिँड्न नसक्ने थिए । उनलाई सधैँ घरको पिँडीमा बसिराख्ने भएकाले पिँडीडिठ भन्थे । पछिपछि डिठ्ठा/डिठमात्रै भनेकाले उनको नामै डिठ्ठा भयो । अहिले पनि त्यो पाटाको उनीहरूको घडेरी भएको गरालाई डिठ्ठा गरो र डिठको घडेरी भनेर भनिन्छ । उनका भाइ सानैदेखि अति टाठो भएकाले उनलाई साने-साने भनेर बोलाउँथे । तिनै साने खोप्लाङ मावलीमै बसेर पढे मनकामनामा गएर पढे । पुरानो गुठीयारी पुर्खौली थलो ‘गा बहाल’ पनि उनको आउने जाने र बसोबास टुटेको थिएन । त्यहाँ पनि शिक्षादीक्षा लिए ।
नेवार परिवारमा जोशी पुरेत पण्डित ज्योतिष परिवारको विरासत धानेको शिक्षित परिवार पनि हो । यी पारिवारिक नामका ‘साने’ नै पछि गणेशकुमार जोशी भए मसेलका द्वारे । मसेलमा बिर्तावालको द्वारेमा मात्र सिमित रहने उनको क्षमता योग्यता र इच्छा होइन रहेन । किनकि उनले ललितपुर कान्तिपुरमा समेत पढेको योग्यता भएकाले लामो समय द्वारे काम गरेनन् । उनी अलि महत्वाकांक्षी पनि भएकाले विर्तावाल जोशी (वैद्य) परिवारमा निकै हेलमेल भएकाले र राम्रो काम गरिरहेका थिए । उता वैद्य परिवारको राणा परिवारसँग पुर्खौली सम्बन्धको विरासत कायमै रहेकाले महाराजका हजुरमा गणेशकुमार जोशीको योग्यता प्रतिभा र क्षमताको जाहेरी हुँदा ‘श्री ३ महाराज चन्द्रशमशेरकै हुकुम बमोजिम ढुकुटीखानाको खजान्ची बहिदारमा नियुक्त भएका थिए । चार वर्ष त्यहाँ काम गर्दैमा उजुरी पर्यो ।
मावलीसँगै चेपुवामा भानिज :
कुरा गरे धेर बसे बेर भने झैँ खोप्लागी पहाडे र खोप्लागी नेवार साहुहरूको बीचको प्रतिष्ठारूपी लडाइँको चेपुआमा गणेशकुमार पनि परे भन्छन् किनकि पाँडेका पद र नेवारका पैसा रूपी जुँगाको लडाइँ चलिरहेको थियो । नेवार परिवारले पाँडेलाई नटेर्ने र पाँडेले हामी पो ठूला घरानीय हौँ त यिनले हामीलाई मान्नुपर्छ, हामी यिनलाई किन मान्ने भन्ने घमण्ड थियो । दुई परिवारबीच मानका लागि मान खोजेर इगो परिरहेको थियो । पाँडेहरूले ७५/७६ सालको हिउँदमा भएको दौडाहामा सुटुक्क दौडाहालाई उजुरी पारेका थिए । यी रघुवीर चामनारायण (खोप्लागी) साहुहरूले चर्को भाउमा सामान बेच्छन् । सरकारलाई पनि टेर्दैनन् भनेर सिकायत गरे ।
गणेशकुमारलाई सरकारी ढुकुटीबाट चोरी गरेको अभियोग लगाई फाँसीको सजाए तोकिएकोले श्री ३ चन्द्रशमशेरको ठाडो आदेशमा टुँडिखेलमा तोपको मुहुडीमा गणेशकुमारलाई उभ्याई फाँसीको सजाए दिएकाले गणेशकुमारको लासका टुक्राटुक्रा टिपेर परिवारले सतगत गरेका हुन् भनेर धेरैजनाले बताएको सुनियो । यो घटना १९७५/०७६ तिरको भन्ने कुरा पनि सुनियो ।
त्यही कुरा आफ्ना मान्छेमार्फत् पक्डाउ आइनपुग्दै साहुहरूले सुनिसकेका थिए । त्यतिखेरै प्याधाहरू पुगेर दौडाहामा हाजिर हुन हिँड्नुस् भने । तुरुन्तै सरासर बाटो लागेर गए । दौडाहामा पुगेर हाजिरी जनाए । तुरुन्तै सोधनी हुँदा उत्तर दिए हामीबाट यस्ता कुनै काम गरिएको छैन बुझीपाऊँ यो सबै हामीलाई गरिखान नदिनेहरूबाट झुट्टा फरेप लगाइएको हो । त्यस्ता खराब काम हामीबाट केही भएको छैन भनेर सोझै जवाफ दिएको कर्णेललाई मन परेन । किनकि कर्णेललाई पाँडेहरूले भित्रभित्रै कान भरिसकेकाले कर्णेल खोप्लागीहरूका विरुद्ध मनमनै जे गर्न पनि तयार भइसकेका थिए । त्यसैले बलियो निहुँ बनाउन कम्मर कसेर लाग्दैथिए । पाँडेहरूबाट बलियो सौगात सम्मान पु¥याइसकेका थिए कर्णेललाई ।
भोलिपल्ट खोप्लागी साहुको पसल घर दौडाहाको बाटोमै परेकाले एक एक गरी नजर लाए । प्रमाण आधार नपाएपछि दौडाहाका तर्फबाट केही पूर्ण गर्नै नसक्ने सर्त घोडामाथि नै बसी बसी राखेपछि । साहुले नबिराउनु नडराउनु हामी पनि तीन सरकारको दैलामा पुग्न सक्छौँ कर्साब भनेर कड्किए । किनकि उनीहरू पनि मनमनै कर्णेलसँग रिसाएका थिए । कर्णेलले जवाफमा भने-‘हेर दोबाटे ! तँलाई फेरि नाग्लामा चिउरा र भटमास दोबाटामै बसेर बेच्नुपर्ने बनाइदिन्छु । तैँले गरेको अपमानको बदला नलिई के छोडौँला र । जा अहिल्यै जा ।’ यति भनेर घोडाको पैंया कसे लम्जुङ जानका लागि ।
त्यसको केही समयपछि गणेशकुमार जोशीले सरकारी ढुकुटीबाट सुनको फाली ल्याएर घरमा राखेको छ भन्ने हल्ला चल्यो । एक कान दुई कान मैदान हुँदै दरबारसम्म कुरा पुगेछ । काला कोगिटाका दौरासुरुवाल लाएका सरकारी सिपाहीहरू डिठ्ठाका घरमा आइपुगे । गणेशकुमार जोशी काठमाडौंमा पक्राउ परे । यता घरमा खानतलासी गर्दा सुनका लाप्साहरू पनि भेटिए । सिपाहीहरूले मसेलमा सबै कुरा बुझी घर खानतलास गरी गएपछि गणेशकुमारलाई सरकारी ढुकुटीबाट चोरी गरेको अभियोग लगाई फाँसीको सजाए तोकिएकोले श्री ३ चन्द्रशमशेरको ठाडो आदेशमा टुँडिखेलमा तोपको मुहुडीमा गणेशकुमारलाई उभ्याई फाँसीको सजाए दिएकाले गणेशकुमारको लासका टुक्रा टुक्रा टिपेर परिवारले सतगत गरेका हुन् भनेर धेरै जनाले बताएको सुनियो । यो घटना १९७५/०७६ तिरको भन्ने कुरा पनि सुनियो ।
उता खोप्लागी साहुको पसल कोठी लिलाम र घर तायदात भयो । मुखमा कानुन भएका शासकको कारण चञ्चलाश्री भएका खोप्लागी साहु १९८६ सालतिर गंगाबहादुर चिफ कर्णेलको कोपमा परे । स्मरण रहोस् चिफ कर्णेल गंगाबहादुर श्री ३ चन्द्रका मन परेका मान्छे हुनाले उनी ७० को दशकमा र ८६ मा आएको त मनकामनाको गरुड स्तम्भले पनि जनाउँछ । त्यसैले भन्छन् पापी शासक भएको ठाउँमा बस्नु र डम्बर काँडाको झाँगमा पस्नु एकै हो । नेपाल दरबार कहिले घरबार कहिले तरबार भनेर बुढापाकाले सुनाइरहन्थे ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच