
सिन्धुली । सामुदायिक र संस्थागत विद्यालयले विद्यार्थीलाई दिएको यातायात सेवा सुरक्षित बनाउन जिल्ला प्रशासन कार्यालय, सिन्धुलीले चासो देखाएको छ । विद्यालय आवातजावत गर्न पैदल मात्रै नभई स्कुल बसको प्रयोग गर्ने विद्यार्थीसमेत असुरक्षित हुने गरेकाले चासो राखेको हो ।
शुक्रबार प्रमुख जिल्ला अधिकारी लीला प्रसाद शर्माले सवारी चालक रहेका विद्यालयका प्रमुख तथा प्रतिनिधिहरू, शिक्षा क्षेत्रमा सरोकार राख्ने निकायहरु र सुरक्षाकर्मीहरुबीच विशेष बैठक राख्नु भएको थियो ।
बैठकमा विद्यालय यातायात सेवामा देखिएका चुनौती र सवारी दुर्घटना न्यूनीकरणका उपायहरूमाथि छलफल गरिएको छ । छलफलमा सहभागीहरुले जिल्लामा रहेका तीन वटा ठूला मार्गहरु (विपी राजमार्ग, मदन भण्डारी राजमार्ग र मध्य पहाडी राजमार्ग) मा चल्ने सवारी साधनहरु ओभर स्पिडमा गुड्ने, विद्यार्थीहरुले बाटो काट्ने स्थानहरुमा जेब्रा क्रसिङको व्यवस्था नहुनु, कतिपय विद्यालयका सवारी साधनको अवस्था अत्यन्तै नाजुक हुनु, मादक पदार्थ तथा लागु औषधको प्रयोग गरेर चालकले सवारी चलाउनु र ट्राफिक नियमसम्बन्धि सचेतनाको अभावले विद्यार्थी दुर्घटनामा पर्ने गरेका धारणा राखेका थिए ।
प्रमुख जिल्ला अधिकारी शर्माले छुट्टी भएर विद्यालयबाट विद्यार्थी घर जाँदा, शैक्षिक भ्रमण र पिकनिक यात्राको क्रममा विद्यार्थीहरु बढी दुर्घटनामा पर्ने गरेको बताउनुभयो ।
यस्ता सम्भावित दुर्घटनालाई न्युनिकरण गर्न विद्यालय, सुरक्षा निकाय, अभिभावक लगायत सम्बन्धित सरोकारवालाहरुबिच समन्वय गरेर विद्यालय बसका चालक र विद्यार्थीहरुमाझ सचेतनामुलक कार्यक्रमहरु नियमित रुपमा संचालन गर्ने, बसहरूको प्राविधिक परीक्षण, विद्यार्थीहरूको सुरक्षासम्बन्धी सचेतना, आवश्यक स्थानमा जेब्रा क्रसिङ र ट्राफिक चिन्हको व्यवस्था गर्ने निर्णय गरिएको छ ।
साथै, विद्यालयका सवारी चालकले ट्राफिक नियमको पालना गरे÷नगरेको लगायत विद्यार्थी सुरक्षाका विषयमा बेलाबेला अनुगमन समेत गरिने उहाँले सुनाउनुभयो ।
विद्यालय बसहरूको सुरक्षाका लागि विद्यालय प्रशासन, ट्राफिक प्रहरी र स्थानीय तहबीच समन्वय गरेर थप उपायहरू अवलम्बन गर्ने सहमति पनि बैठकमा भएको छ ।
शिक्षा विकास तथा समन्वय इकाई, सिन्धुलीका प्रमुख निर्मल कुमार घिमिरेकाअनुसार हाल जिल्लामा ६० वटा विद्यालय बसहरू सञ्चालनमा छन्, जसले ४० वटा संस्थागत तथा सामुदायिक विद्यालयहरूमा सेवा प्रदान गर्दै आएका छन् । जिल्लाभर ६०७ वटा सामुदायिक तथा संस्थागत विद्यालयहरू छन् ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच