
-निरोज कोइराला
विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले अझै पनि स्वास्थ्य सेवा आम नागरिकको पहुँचमा नरहेको बताउनु भएको छ ।
नोना कोइराला स्मृति प्रतिष्ठान, बूढीगंगा गाउँपालिका र केएचडीसी नेपालको संयुक्त आयोजनामा मोरङको बूढीगंगा गाउँपालिकामा रहेको नरग्राम माविमा आयोजित निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्नु हुदै डा. कोइरालाले सोकुरा बताउनु भएको हो । अझै पनि आम नागरिकको पहुँचमा स्वास्थ्य सेवा पुग्न नसकेकोमा डा. कोइरालाको जोड थियो ।
स्वास्थ्य र शिक्षालाई आमजनताको पहुँचमा पु¥याउन तीनै तहको सरकार लाग्नु पर्ने बताउनु हुदै उहाँले संविधानको मौलिक हक मै समावेश गरेपनि जनताले अझै सहजरुपमा शिक्षा र स्वास्थ्य सेवा पाउनबाट बञ्चित भई रहेको बताउनुभयो । आर्थिक अभावमा धेरै नागरिक रोग पालेर बस्न बाध्य भएको बताउँदै कोइरालाले कतिपयले अस्पतालको मुखै नदेखी मृत्युवरण गर्नुपरेको उल्लेख गर्नुभयो । पछिल्लो समय पहाड र ग्रामीण क्षेत्रबाट बसाइँसराइ बढ्नुको मुख्य कारण शिक्षा र स्वास्थ्य भएको उहाँले बताउनुभयो । गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवाको खोजीमा पहाडबाट तराई र तराईका गाउँबाट सहर बसाइँ सर्ने क्रम बढेको पनि डा. कोइरालाले दाबी गर्नुभयो ।
ग्रामीण क्षेत्र र आर्थिकरुपमा विपन्न समुदायलाई लक्षित गरी प्रतिष्ठानले स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको नोना कोइराला स्मृति प्रतिष्ठान अध्यक्ष पुनम कोइरालाले जानकारी दिनुभयो । घरदैलोमै पुगेर जाँच गर्दा सर्वसाधारणको स्वास्थ्यबारे जानकारी हुने र कुनै समस्या भए तत्कालै अस्पताल लगेर थप उपचार गर्न सहज हुने देखेर शिविर आयोजना गरिएको कोइरालाको भनाई रहेको छ ।
शिविरबाट तीन सय ५२ जनाले स्वास्थ्य सेवा पाएको र १५ जनाको इको समेत गरेको महासचिव अमित श्रीवास्तवले जानकारी दिनुभयो । शिविरमा उच्च रक्तचाप, मधुमेह, इको, इसिजी, फोक्सो लगायतको जाँच गरिएको थियो । जाँचपछि औषधि खानुपर्ने बिरामीलाई निःशुल्क औषधि समेत वितरण गरिएको छ ।
वरिष्ठ नेता डा. कोइराला सहित बूढीगंगा गाउँपालिका अध्यक्ष जितनारायण थापा मगर, वडाध्यक्ष सोमनाथ काफ्ले, प्रेस युनियन कोशी प्रदेश अध्यक्ष मीनकुमार नवोदित, प्रतिष्ठानका उपाध्यक्ष ज्योति आचार्य, सल्लाहकार डा. नारायण कुमार लगायतको उपस्थितिमा भएको शिविरमा केएचडीसी नेपाल प्रमुख प्रा.डा.संजीवकुमार शर्मा, डा. उज्ज्वल कुमार साह, डा. ब्रजेशकुमार झा, डा. रोशन कार्की, डा. उत्सव दुलाल, डा. प्रज्वल गौतम लगायत चिकित्सक सहितका स्वास्थ्यकर्मीहरुले स्वास्थ्य चेकजाँच गर्नु भएको थियो ।
त्यसैगरी सोही शिविरमा पाठेघरको मुखको क्यान्सरको परीक्षणसमेत गरिएको थियो । पाठेघरको मुखको क्यान्सरका कारण हुने महिलाहरुको मृत्युदरलाई कम गराउने उद्देश्यले निःशुल्करुपमा जाँच गरिएको गाउँपालिका अध्यक्ष थापाले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच