
पोखरा । आहा रारा पोखरा गोल्डकपको उपाधि पाहुना टोली ब्ल्याक बुल्स एफसीले जितेको छ । पोखरा रंगशालामा शनिबार सम्पन्न खेलमा पहिलोपटकको च्याम्पियन नेपाल पुलिस क्लबलाई पराजित गर्दै उज्वेकिस्तानको ब्ल्याक बुल्सले २४औँ आहा रारा पोखरा गोल्डकपको उपाधि चुमेको हो । ब्ल्याक बुल्सले पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल गरेको थियो ।
ब्ल्याक बुल्सका लागि कुभोनचबेक ओलिनोभले ४०औँ, असिलबेक ओरिफजोनोभले ५८औँ तथा साभकातजोन सात्तोरोधले ६६औँ मिनेटमा गोल गर्नुभएको थियो । पुलिसका शिशिर चौधरीले ७४औँ मिनेटमा गरेको गोल सान्त्वना बन्यो ।
यसअघि ब्ल्याक बुल्सले क्वाटरफाइनलमा भारतको थण्डरबोल्ट नर्थ युनाइटेडलाई तीन-शून्य र सेमिफाइनलमा पाँचपटकको विजेता थ्रीस्टारलाई चार-शून्यले पराजित गरेको थियो ।
ब्ल्याक बुल्सले पहिलो सहभागितामै आहा रारा पोखरा गोल्डकपको उपाधि जित्दै इतिहास रचेको छ । कीर्तिमानी सातौं पटक च्याम्पियन बन्ने लक्ष्य राखेको पुलिसको सपना अधुरो रहेको छ ।
आहा रारा पोखरा गोल्डकपको उपाधि जित्ने ब्ल्याक बुल्स दोस्रो विदेशी र समग्रमा नवौं क्लब बनेको छ । यसअघि २०६२ सालमा अफ्रिकन खेलाडीहरू समावेश गरेर बनाइएको अफ्रिकन युनाइटेडले उपाधि जितेको थियो ।
पुलिसले खेलको तेस्रो मिनेटमै गोल गर्ने राम्रो अवसर पाएको थियो । क्रसमा प्राप्त बलमा अरुण गाहाको हेडर पोष्टमा लागेर फर्किएपछि अग्रता लिन चुकेको थियो ।
आहा राराको इतिहासमा मनाङ र पुलिस क्लबले सर्वाधिक ६ पटक उपाधि जितेका छन् । थ्रीस्टारको नाममा पाँचवटा उपाधि रहेको छ । संकटा क्लब दुईपटक च्याम्पियन बन्दा आयोजक सहारा क्लब, अफ्रिकन युनाइटेड, एपिएफ र त्रिभुवन आर्मी क्लबले समान एकपटक उपाधि उचालेका छन् । प्रतियोगिताको उपाधिमा हृयाट्रिक गर्ने पुलिस एकमात्र टोली हो । पहिलो र दोस्रो संस्करणको विजेता पुलिस २०६४ पछि लगातार तीन वर्ष च्याम्पियन बनेको थियो ।
पाँच वर्षपछि आहा राराको फाइनलमा पुगेको पुलिस क्लब पाचौँपटक उपविजेतामा सीमित बनेको हो । यसअघि सभापति कप, बुढासुब्बा, भरतपुर गोल्डकप गरी तीन प्रतियोगितामा लगातार पहिलो खेलमा नै पराजित हुँदै बाहिरिएको पुलिस क्लब आहा राराको भने फाइनलसम्म पुगेको थियो । उज्वेकिस्तानको टोलीसँग पराजित भएपछि पुलिस क्लब कीर्तिमान बनाउने सुन्दर अवसरबाट टाढिएको हो ।
विजेता ब्ल्याक बुल्सले १२ लाख एक हजारसहित आहा राराको आकर्षक ट्रफी प्राप्त ग¥यो भने उपविजेता पुलिसले छ लाख एक हजारमा चित्त बुझाएको छ ।
मोफसलकै सबैभन्दा प्रतिष्ठित प्रतियोगिताका रूपमा रहेको आहा रारा पोखरा गोल्डकपको २४औँ संस्करणमा कुल १२ टोलीको सहभागिता थियो । जसमा १० नेपाली र दुई विदेशी क्लब सहभागी थिए ।
ब्ल्याक बुल्सका सभ्कातजोन सत्तरोभ सर्वोत्कृष्ट खेलाडी
ब्ल्याक बुल्स एफसीका सभ्कातजोन सत्तरोभ पोखरामा सम्पन्न आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बन्नुभएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेसँगै उहाँले टेल्जीको एक थान इलेक्ट्रिक स्कुटर प्राप्त गर्नुभएको छ । उहाँ प्रतियोगिताको सर्वाधिक गोलकर्तासमेत बन्नुभएको छ । उहाँले प्रतियोगिताभर तीन गोल गर्नुभएको थियो ।
प्रतियोगिताको उदीयमान खेलाडी नेपाल पुलिस क्लबका सञ्जीव लामा बन्नुभयो । उहाँले २५ हजार रुपैयाँ प्राप्त गर्नुभयो । यस्तै, उत्कृष्ट गोलरक्षक ब्ल्याक बुल्सका जसुवेक राजाबोभ, उत्कृष्ट डिफेन्डर अलिजोन अलिजोनोभ बन्नुभयो । प्रशिक्षक अब्दुल अजिज निसोनभेव बन्न सफल हुनुभयो । फेयर प्ले अवार्ड सिक्किमको थन्डरबोल्ट युनाइटेड क्लबले पाएको छ ।
आहा रारा पोखरा गोल्डकपमा अहिलेसम्मका विजेता
२०५८ : नेपाल पुलिस क्लब
२०५९ : नेपाल पुलिस क्लब
२०६० : मनाङ मस्र्याङ्दी क्लब
२०६१ : मनाङ मस्र्याङ्दी क्लब
२०६२ : अफ्रिकन युनाइटेड
२०६३ : थ्रीस्टार क्लब
२०६४ : नेपाल पुलिस क्लब
२०६५ : नेपाल पुलिस क्लब
२०६६ : नेपाल पुलिस क्लब
२०६७ : थ्रीस्टार क्लब
२०६८ : मनाङ मस्र्याङ्दी क्लब
२०६९ : थ्रीस्टार क्लब
२०७० : सहारा क्लब
२०७१ : थ्रीस्टार क्लब
२०७२ : मनाङ मस्र्याङ्दी क्लब
२०७३ : मनाङ मस्र्याङ्दी क्लब
२०७४ : नेपाल पुलिस क्लब
२०७५ : थ्रीस्टार क्लब
२०७६ : मनाङ मस्र्याङ्दी क्लब
२०७७ : संकटा एफसी
२०७८ : एपिएफ एफसी
२०७९ : संकटा एफसी
२०८० : त्रिभुवन आर्मी एफसी
२०८१ : ब्ल्याक बुल्स एफसी, उज्वेकिस्तान
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच