पाल्पा । जिल्लाको रम्भा गाउँपालिका-२ स्थित रानीबास फोक्सिङ्खकोट गाउँमा सामुदायिक घरबास (होमस्टे) सञ्चालनमा ल्याइएको छ । पर्यटन प्रवर्द्धनका साथै आयआर्जनमा टेवा पुर्याउने उद्देश्यले गाउँपालिकाको पहलमा स्थानीयले ‘रानीबास सामुदायिक होमस्टे’ सञ्चालनमा ल्याएका हुन् ।
समुद्र सतहदेखी करिब १२०० मिटर उचाईमा रहेको फोक्सिङ्गकोट गाउँमा पुग्ने पर्यटकहरुले रानीबास गाउँको बिचमा रहेको चुर्कीथान, माछापुच्छ्रे, अन्नपूर्ण, धवलागिरी हिमालसँंगै अन्य हिमश्रृंखला, स्याङ्गजाको गल्याङ्ग बजार, रिमीघा लेक र टिमुरडाँडा, आर्यभञ्ज्याङ्ग, तानसेनको श्रीनगर, सिद्धार्थ राजमार्ग, कालीगण्डकी करिडोर, कालीगण्डकी नदी, राम्दीपुललगायतका मनमोहक दृश्यहरु अवलोकन गर्न पाउने छन् ।
होमस्टेमा बास बस्ने पर्यटकहरुले स्थानीय झाम्रे नाँच, मारुनी नाँच, सालैजो, कौडा, ठूलो नाँच, पञ्चेबाजा कलासँस्कृतिको समेत आनन्द लिन पाउने छन् । होमस्टेमा आउने पर्यटकलाई प्रतिव्यक्ति एक हजार बराबर खर्चमा प्याकेजको व्यवस्था मिलाइएको छ । कुखुराको मासुसहित दुई छाक खाना, एक नास्ता र बस्नका लागि प्याकेजमा सुविधा रहेको छ । यहाँ स्थानीय उत्पादनका परिकार खुवाइन्छ । पर्यटकको माग अनुसार कोदोको ढिंडो, रोटी, मकैको आँटो, गुन्द्रुक, स्थानीय जातका कुखुराको मासु, स्थानीय प्रजातिको सुँगुरको मासु, बटुक, सेलरोटीलगायका परिकारको स्वाद लिन पाइने होमस्टे सञ्चालक समितिकी अध्यक्ष देउ कुमारी सारुले बताउनुभयो ।
जनजाति संग्रहालय समेत सञ्चालनमा
होमस्टे पुग्ने पर्यटकहरुको लागि अवलोकन गर्न जनजाति संग्रहालय समेत निर्माण गरिएको छ । जहाँ जनजातिहरुका परम्परागत सिप, कला, कौशलका सरसमान व्यस्थित रुपमा सजाएर राखिएका छन् । साथै मगर समुदायको भेषभुषा, ऐतिहासिक माटो र काठले बनेका भाडाहरु, हतियार, दैनिक जीवनमा प्रयोग हुने प्राचिन सामानहरु संग्रहालयमा राखिएका छन् । परम्परागत र आधुनिक सिपकलाको मिश्रणबाट संग्रहालय भवनलाई कुडुले घरको रुपमा निर्माण गरिएको छ ।
भवन तथा संग्रहालय निर्माणको लागि केन्द्र सरकार पर्यटन मन्त्रालय र स्थानीय सरकारको १ करोड १५ लाख खर्च भएको छ । अहिले फोक्सिङ्कोटमा ९३ घरपरिवार मगर रहेका छन् । जसमा १६ घरमा होमस्टे सञ्चालन गरिएको छ भने अन्य घरहरुमा पनि विस्तार गर्ने योजना रहेको रानीबास होमस्टे सञ्चालक समितिले जनाएको छ । यहाँ रैथाने बालीको नियमित उत्पादन, परम्परागत कलासंस्कृतिको जीवन्तता, प्राकृतिक सौन्दर्यता र एकै किसिमको मगर बस्ती भएका कारण नै गाउँपालिकाले होमस्टे सञ्चालनमा सक्रियता देखाएको पालिका अध्यक्ष विष्णु प्रसाद भण्डारीले बताउनुभयो ।
होमस्टेले स्थानीय उत्साहित
फोक्सिङ्गकोटका स्थानीय आफ्नो पहिचान झल्काउने होमस्टे (घरबास) सञ्चालनमा आएपछि उत्साहित भएका छन् । स्थानीय रनबहादुर सारुले गाउँमै होमस्टे सञ्चालन भएपछि आफुहरुका लागि आयआर्जन पनि हुने र आफ्नो कला संस्कृतिलाई चिनाउने अवसर समेत मिल्ने भन्दै खुसी व्यक्त गर्नुभयो । सारु मात्र होइन यहाँका धेरै नागरिक होमस्टे सञ्चालनमा आएपछि उत्साहित भएका छन् । आफ्नो कला संस्कृति, रीतिरिवाजसहितको पहिचान खोजिरहेको अवस्थामा होमस्टे सञ्चालन जनजाति समुदायका लागि एउटा अवसर हुने स्थानीय टेकबहादुर पुनले बताउनुभयो । उहाँले भन्नुभयो, ‘होमस्टे सञ्चालनबाट हामीले आफ्नो कलासंस्कृति चिनाउन पाउनेछौँ । मगर, जनजाति समुदायको पहिचानको प्रचार-प्रसार हुनेछ ।’ बाहिरका मानिसलाई आफ्नो चालचलनअनुसार जेजे खानेकुरा छ, बनाएर खुवाउन र आफ्नो सांस्कृतिक पहिचान देखाउनुको साथै दुई/चार पैसा आम्दानीको लागि होमस्टे राम्रो माध्यम बन्ने पुनको भनाई छ ।
‘पर्यटकीय पुर्वाधार निर्माणका लागि सहयोग गर्छाै’
होमस्टे र संग्रहालयको पाल्पा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य नारायणप्रसाद आचार्य र लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले संयुक्त रुपमा एक औपचारिक कार्यक्रमका बीच शुभारम्भ गर्नुभएको हो । होमस्टेको शुभारम्भ गर्दै सांसद आचार्यले ग्रामीण पर्यटन विकासको लागि होमस्टे कार्यक्रम प्रभावकारी हुने बताउनुभयो । सांसद आचार्यले भन्नुभयो ‘अब फोक्सिङ्खकोटमा आउने मोटरबाटो स्तरउन्नती हुनेछ, पर्यटकीय पुर्वाधारहरु निर्माण हुनेछन्, त्यसका लगि संघीय सरकारमार्फत सहयोग गर्न हामी पहल गछौं ।’ लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्री सारुले पनि होमस्टे कार्यक्रमको लागि आवश्यक पर्ने पुर्वाधार, तालिम, तथा प्रचार-प्रसारका लागि प्रदेश सरकारको सहयोग रहने बताउनुभयो ।
पछिल्लो सयम पाल्पासहित देशैभर होमस्टे ‘कल्चर’ बढ्दो छ । हिमाल, पहाड र तराईका दूरदराजमा पनि होमस्टे सञ्चालन गर्नेको लर्को देखिन्छ । २०५४ सालमा क्याप्टेन रुद्रमान गुरुङले आफ्नो गाउँका साथीहरूको सहयोगमा ग्रामीण पर्यटन (होमस्टे) सुरु गर्नुभएको थियो । स्याङ्जामा उहाँले सुरु गरेको अभियान ‘सिरुबारी होमस्टे’ चर्चित छ । सिरुबारीपछि लमजुङको घले गाउँ, घनपोखरा, भुजुङ, पसगाउँ, सिउरुङ गाउँ, नवलपरासीको अमलटारी, मकवानपुरको चित्लाङ र रसुवाको वृद्धिम तथा इलामको श्रीअन्तुलगायतका स्थानमा होमस्टे पर्यटन विस्तार भएको हो । ग्रामीण क्षेत्रका स्थानीय परिकार चाखेर त्यहीँको रहनसहनसँग घुलमिल भई घरको जस्तै वातावरणमा बस्ने व्यवस्था नै होमस्टे हो । होमस्टेलाई परम्परागत संस्कृतिको आधुनिक रूपसमेत मान्न सकिन्छ । पछिल्लो समय होमस्टे पर्यटनको मुख्य आधार मात्र बनेको छैन, स्थानीयको दैनिकी चलाउने रोजगारको माध्यम पनि बनेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच