जुम्ला । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०।०८१ को कार्यसम्पादन मूल्याङ्कन अनुसार जुम्लाको तातोपानी गाउँपालिका उत्कृष्ट देखिएको छ । जिल्लाका आठस्थानीय तहमध्ये तातोपानी गाउँपालिकाले ६७ दशमलव ५ प्रतिशत अङ्क प्राप्त गरी पहिलो स्थानमा रहेको छ ।
यस्तै हिमा गाउँपालिकाले ६१ दशमलव ५ प्रतिशत अङ्क प्राप्त गरी दोस्रो स्थानमा छ । क्रमशः सिंजा गाउँपालिकाले ५८ दशमलव १ प्रतिशत,कनकासुन्दरीले ५६ दशमलव ९ प्रतिशत, पातारासी गाउँपालिकाले ५२ दशमलव ६ प्रतिशत, गुठीचौर गाउँपालिकाले ४९ दशमलव ७ प्रतिशत अङ्क पाएका छन् । यस्तै चन्दननाथ नगरपालिकाले ५६ दशमलव ८ प्रतिशत,र सबैभन्दा कमजोर तिला गाउँपालिकाले ३८ दशमलव २ प्रतिशत अङ्क प्राप्त गरेको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।
आर्थिक वर्षको राजस्व र आय, व्ययको अनुमान समयमा गाउँसभामा पेस गरे नगरेकोदेखि समयमा बजेट पास भए नभएको, स्थानीय तहले प्रदेश तथा संघमा पठाउनुपर्ने राजस्व समयमा नपठाएको, शिक्षा, स्वास्थ्य, राजस्व तथा विद्यार्थी भर्ना, चालु तथा पुँजीगत खर्चसम्मका विभिन्न १७ वटा सूचाङ्कमा मूल्याङ्क हुने गर्दछ ।‘‘ सुशासन, समन्वय, पूर्वाधार, न्यायीक कुराहरु पनि हुन्छन् ।,’’तातोपानी गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चौलागाई भन्नुभयो,‘‘शिक्षा, स्वास्थ्य, कर्मचारी जनप्रतिनिधिका तालिमका कुरा पनि हुन्छ । नीति, नियम, कानुन बमोजिम काम भएन–भएको, बेरुजुका कुराछन् त्यसलाई न्यूनीकरण गर्नुपर्छ ।’’
गाउँपालिकाले शिक्षामा लगानी गरेको छ, स्वास्थ्यमा त्यही अनुसारकै लगानी गरिरहेका छौं । शिक्षा, स्वास्थ्यसंगै भौतिक पूर्वाधारमा समेत पालिकाले नमुना काम गरेको तातोपानी गाउँपालिका अध्यक्ष चौलागाईको भनाइ छ । वित्त आयोगले आर्थिक वर्ष २०८०।८१ का लागि वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने प्रयोजनका लागि कार्य सम्पादन सूचकांकका आधारमा सबै तहका सरकारको कार्यसम्पादन मूल्यांकन गरेको हो ।
कर्णालीमा डोल्पाको जगदुल्ला गाउँपालिका तेस्रो
डोल्पाको जगदुल्ला गाउँपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) मा कर्णाली प्रदेशमा तेस्रो हुँदा जिल्लामा प्रथम भएको छ । संस्थागत क्षमता स्वमूल्यांकनमा कर्णाली प्रदेशका ७९ स्थानीय तहमध्ये २५ नगरपालिका र ५४ गाउँपालिकालाई उछिनेर जगदुल्लाले ९६ प्रतिशत अंक ल्याएर प्रदेशकै तेस्रो स्थानमा भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत केशव जौसीले जानकारी दिनुभयो ।
संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) को नतिजा अनुसार कर्णाली प्रदेश अन्तर्गत ७९ स्थानीय तहमध्ये जाजकोटको नलगाड नगरपाािलकाले ९८ दशमलव ७५ प्रतिशत अंक ल्याएर कर्णालीको पहिलो स्थानीय तह बनेको छ । यस्तै प्रदशकै दोस्रो हुनेमा क्रमशः रुकुम पश्चिमको चौरजहारी नगरपालिका,दैलेखको नारायण नगरपालिका र कालिकोटको तिलागुफा नगरपालिकाले ९७ प्रतिशत अङ्क प्राप्त गरेको संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।
स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन कार्यविधि, २०७७ अनुसार स्वमूल्यांकनको काम प्रत्येक आर्थिक वर्षको पुस मसान्तभित्र गरिसक्नुपर्ने हुन्छ । पालिकाहरूको शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन,सामाजिक समावेशीकरणजस्ता सूचकलाई मूल्यांकनको आधार मानिएको हो ।
यस्तै, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, वातावरण संरक्षण तथा विपत् व्यवस्थापन र सहकार्य तथा समन्वयसहितका १० वटा सूचकका आधारमा स्थानीय तहले आफ्नो कामको मूल्यांकन गरेका हुन् । तर, यसमा अंकभार निर्धारण गर्दा पुष्टि हुने कागजात वा प्रमाण पनि अनिवार्य रूपमा समावेश गर्नुपर्ने व्यवस्था गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच