
-निरोज कोइराला
विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले कमजोर आर्थिक अवस्था र बढ्दो भ्रष्टाचारका कारण अन्तर्राष्ट्रियस्तरमा नेपाल बद्नाम हुँदै गएको बताउनु भएको छ ।
मोरङको बूढीगंगा गाउँपालिकाले सञ्चालनमा ल्याएको पालिकास्तरीय अस्पतालको उद्घाटन गर्नु हुँदै संघीय सांसद समेत रहनु भएका डा.कोइरालाले भ्रष्टाचारसँग सम्बन्धित विभिन्न रिपोर्टका कारण देशलाई अफ्ठ्यारोमा पारेको बताउनुभयो । ‘देशको आर्थिक अवस्थामा कमजोर हुँदै गएको छ । उत्पादकत्व वृद्धि हुन सकेको छैन । परनिर्भरता बढ्दै गएको छ,’ उहाँले भन्नुभयो, ‘अर्कातिर ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई), सीपीआई लगायत अन्तर्राष्ट्रिय संस्थाहरूको रिपोर्टले नेपालमा भ्रष्टाचार व्यापक मात्रामा बढेको देखाएको छ । यसले अन्तर्राष्ट्रियस्तरमा देश बद्नाम भएको छ । देश अफ्ठ्यारो अवस्थामा परेको छ ।’ नेता कोइरालाले सीपीआईको पछिल्लो रिपोर्टले विश्वका १८० मुलुक मध्ये नेपाल १०० मा ३४ अंकका साथ बढी भ्रष्टाचार हुने मुलुकको १०७ औं स्थान पर्नुले लज्जाको विषय भएको डा. कोइरालाको टिप्पणी थियो ।
नेता कोइरालाले भ्रष्टाचारविरुद्ध निर्मम हुनु आवश्यक रहेको बताउँदै देशमा सुशासन नभएकै कारण राजनीतिप्रति जनताको वितृष्णा बढ्दै गएको बताउनुभयो । डा.कोइरालाले भ्रष्टाचार, विकृति, विसंगतिविरुद्ध जनता एकजुट भएर लड्नुपर्नेमा जोड दिनुभयो । ‘जस्तोसुकै परिस्थिति आए पनि देश नेता र जनता मिलेरै बनाउने हो,’ नेता कोइरालाले थप्नुभयो, ‘यो देश हामीले नै हो बनाउने, देशभित्रै बसोबास गर्नेले बनाउने हो । विदेशी आएर बनाउने होइन । त्यसो भएकाले सबैले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताको हितमा काम गर्नु जरुरी छ ।’
कार्यक्रममा मनमोहन प्राविधिक विश्वविद्यालयका उपकुलपति डा. सुवासश्री पोखरेलले हरेक वर्ष विश्वविद्यालयले पाँच सय रोजगारी सिर्जना गर्नेगरी काम गरिरहेको जानकारी दिनुभयो । उहाँले प्राविधिक र सीपमूलक शिक्षाले मात्रै उत्पादित जनशक्तिले रोजगारी पाउने दाबी गर्नुभयो । पोखरेलले बूढीगंगा गाउँपालिकासँग मिलेर रोजगारमूलक तालिम र शिक्षा दिन विश्वविद्यालय तयार रहेको समेत प्रस्ट्याउनुभयो ।
बूढीगंगा गाउँपालिका अध्यक्ष जितनारायण थापा मगरले गाउँपालिकाले भौतिक पूर्वाधारको विकाससँगै शिक्षा र स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको धारणा राख्नुभयो । उहाँले अस्पतालको फार्मेसीबाट बिमामार्फत उपलब्ध हुने पाँच सय र गाउँपालिकाले छुट्टै ९८ प्रकारका औषधि निःशुल्क वितरण गर्दै आएको जानकारी दिनुभयो । अध्यक्ष थापा मगरले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि सुविधासम्पन्न आकर्षक पार्क निर्माण, महिला उद्यमी ग्रामले चाँडै नै मूर्तरुप लिने पनि बताउनुभयो ।
उद्घाटन समारोहमा संविधानसभा सदस्य पवनकुमार सारडा, वीरेन्द्रकुमार माझी, कोशी प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव राधिका थपलिया, गाउँपालिकाका निवर्तमान अध्यक्ष बालचन्द्र माझी, नेपाली कांग्रेस मोरङका कार्यबाहक सभापति भक्तिनाथ माझी, नेकपा एमालेका सत्यनारायण चौधरी, गाउँपालिकाकी उपाध्यक्ष अमृताकुमारी गच्छदार, बूढीगंगा गाउँपलिका खानेपानी उपभोक्ता समितिका अध्यक्ष राजन केसी लगायतले पालिका अस्पतालले गुणस्तरीय सेवा दिनुपर्नेमा जोड दिनु भएको थियो ।
सोक्रममा अस्पताल निर्माणमा सहयोग पु-याउने उद्योगी जगदीश अग्रवाल, रविरञ्जन झा र सञ्जय अग्रवाललाई सम्मान गरिएको थियो । विशाल ग्रुपका जगदीश अग्रवालले २५ लाख रुपैयाँको लागतमा दन्त विभागका लागि आवश्यक पर्ने प्राविधिक र चिकित्सकीय यन्त्रहरू सहयोग गर्नु भएको छ । पालिकास्तरीय अस्पतालमा आकस्मिक र ओपीडी सेवा रहेको छ । १० बेडको सो अस्पतालमा फिजिसियन, दाँत, प्रसुती, एक्से–रे, ल्याब, फार्मेसीलगायतका सेवाहरू उपलब्ध हुने छ । पालिकावासीको सुविधालाई ध्यानमा राखेर ३६५ दिनको चौवीसै घण्टा आकस्मिक सेवा उपलब्ध हुनेछ । त्यसबाहेक बिहान आठ देखि राती आठ बजेसम्म ओपीडी सेवा पनि चालु रहने अस्पतालले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच