
काठमाडौं । नेपाल चाइल्डहुड क्यान्सर एलायन्स(एनसिसिए) स्थापना भएको छ । नेपालमा चाइल्डहुड क्यान्सर उपचार सुधार गर्ने उद्देश्यका साथ एलाइन्स स्थापना गरिएको हो । क्यान्सरविरुद्धका अभियन्तालाई एकताबद्ध गर्ने, उपचार पहुँच सुधार गर्ने र देशभर क्यान्सरसँग संघर्ष गरिरहेका बालबालिकाको सहयोग सुदृढ गर्ने दिशामा एलाइन्स महत्वपूर्ण कोशेढुंगा हुन सक्ने बताइएको छ । एलायन्सले रमेश गुप्ता मेमोरियल ट्रस्ट, लियोनार्डो एडवर्ड श्रेष्ठ फाउण्डेसन, टुगेदर अगेन्स्ट चाइल्डहुड क्यान्सर र वल्र्ड चाइल्ड क्यान्सर युकेलाई एकत्रित गर्दै बाल क्यान्सर उपचार, बिरामी र परिवारलाई आवश्यक सहयोग तथा लामो समयसम्मको पुनःस्थापना सेवालाई मजबुत बनाउन कार्य गर्ने आइतबार राजधानीमा आयोजित एलाइन्स घोषणासभामा जानकारी दिइएको हो ।
चाइल्डहुड क्यान्सर उपचार सुधार गर्ने उद्देश्यसाथ एलाइन्स स्थापना भएको छ । क्यान्सरविरुद्धका अभियन्तालाई एकताबद्ध गर्ने, उपचार पहुँचका साथै क्यान्सरसँग संघर्षरत बालबालिकाका लागि एलाइन्स महत्वपूर्ण कोशेढुंगा हुन सक्ने बताइएको छ ।
सो अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. हरिप्रसाद मैनाली, विभिन्न अस्पतालका बालरोग विशेषज्ञ, विश्व स्वास्थ्य संगठन, युनिसेफ तथा अन्य विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सहभागिता रहेको थियो । एलायन्सको मुख्य उद्देश्य उपचारबाहेकका आवश्यक सहयोग प्रदान गर्नु, जस्तै प्रारम्भिक पहिचान, आर्थिक तथा मानसिक सहयोग र उपचारपछिको पुनःस्थापना कार्यक्रम सुनिश्चित गर्नु रहेको वल्र्ड चाइल्ड क्यान्सर नेपालका कार्यक्रम संयोजक सम्राट रायमाझीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो पहल केवल उपचारमा सीमित छैन । बाल क्यान्सरविरुद्ध लडिरहेका परिवारलाई समग्ररूपमा सहयोग गर्नु आवश्यक छ र यही लक्ष्यसहित एलाइन्स अघि बढ्दैछ ।’ रायमाझीका अनुसार युरोप, अमेरिकालगायतका विकसित मुलुकहरूमा बालबालिकामा हुने क्यान्सर सर्भाइवलदर ८० प्रतिशतसम्म रहेको छ तर नेपालमा ३० प्रतिशत हाराहारीमात्र रहेको छ ।
रमेश गुप्ता मेमोरियल ट्रष्टका अध्यक्ष रोहित गुप्ताले भन्नुभयो, ‘नेपालमा बाल क्यान्सरको उपचारका प्रयासहरू विखण्डितरूपमा भइरहेका थिए । यो गठबन्धनले स्रोत, विशेषज्ञता र वकालतलाई एउटै प्रभावकारी मञ्चमा ल्याउनेछ ।’ नेपालमा बाल क्यान्सर उपचारलाई आधुनिक र प्रभावकारी बनाउने उद्देश्यले सरकार, स्वास्थ्य संस्था र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदारसँग सहकार्यको आवश्यकता औंल्याउँदै एलाइन्सले सबै सरोकारवालालाई अभियानमा सामेल हुन आग्रह गरेको छ । नेपालमा १४ वर्षमुनिका बालबालिकाका लागि निःशुल्क क्यान्सर उपचारको सरकारी घोषणा भएको बेला एलायन्सले उपचारबाहेकका चुनौती सम्बोधन गर्ने लक्ष्य राखेको छ ।
एलाइन्सका मुख्य कार्यक्रममा प्रारम्भिक पहिचान र सचेतना अभियान, बिरामी परिवारका लागि आर्थिक र मानसिक सहयोग, उपचारबाहेकका कठिनाइ न्यूनीकरण पहल, शिक्षा छात्रवृत्ति तथा बाल क्यान्सरबाट बाँचेकाहरूको समाजमा दीर्घकालीन पुनःस्थापनाको पहल रहेका छन् । सोही अवसरमा आयोजित प्यानल छलफलमा डा. विश्वनाथ अधिकारी (कान्ति बाल अस्पताल), डा. ऋतु लामिछाने (भक्तपुर क्यान्सर अस्पताल), डा. सुचरिता तुलाधर (पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान), डा. कृष्णसागर शर्मा (बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल) र डा. सानी सिपाइ (कान्ति बाल अस्पताल) को सहभागिताको थियो भने कार्यक्रम डा. विश्वनाथ अधिकारी संयोजन र रमेश गुप्ता मेमोरियल ट्रष्टका निर्देशक सञ्जय अग्रवालको अध्यक्षता भएको थियो ।
बाल क्यान्सरको निःशुल्क औषधि आइपुग्यो
बाल क्यान्सरको निःशुल्क उपचारका लागि सघाउन नेपालले प्राप्त गरेको औषधिका लागि स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सहयोगी दाताहरूलाई धन्यवाद दिनुभएको छ । विश्व स्वास्थ्य संगठन र सेन्ट जुड चिल्ड्रेन्स रिसर्च हस्पिटलको पहलमा स्थापित ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुड क्यान्सर मेडिसिन्सअन्तर्गत बालबालिकाको क्यान्सर उपचारमा प्रयोग हुने औषधिको पहिलो खेप प्राप्त गरेको हो । क्रमैसँग थप औषधि उपलब्ध हुने संगठनले जनाएको छ । स्वास्थ्यमन्त्री पौडेलले आर्थिक अभावमा कोही पनि बालबालिका क्यान्सर उपचारबाट वञ्चित हुनुनपरोस् भनेर मन्त्रालयले मंसिर १ गतेबाट लागू हुने गरी बाल क्यान्सरको निःशुल्क उपचार व्यवस्था गरेको स्मरण गर्दै प्राप्त सहयोग बाल क्यान्सरका कारण हुने मृत्युदर नियन्त्रणमा महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभएको छ ।
उहाँले भन्नुभयो, ‘देशको प्रमुख स्वास्थ्य समस्या बनिरहेको क्यान्सर नियन्त्रणका लागि हामीले राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति अवलम्बन गरेर उपचारसँगै निरोधात्मक विधि प्रवद्र्धनका लागि पनि काम गरिरहेका छौं, कोही पनि बालबालिका आर्थिक अभावमा क्यान्सरको उपचारबाट वञ्चित नहोउन् भनेर हामीले निःशुल्क उपचारको व्यवस्था पनि गरेका छौं ।’ प्राप्त औषधि भक्तपुर क्यान्सर अस्पताल, कान्ति बाल अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर क्यान्सर अस्पतालमा बाल क्यान्सरको उपचारका लागि उपयोग हुने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताउनुभयो । बाल क्यान्सरको निःशुल्क उपचार गर्ने मन्त्रालयको निर्णयमा ती औषधिले महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच