
काठमाडौं । हिउँद सकिन अब केही साता बाँकी छ । तर, हालसम्म देशभर उल्लेख्य वर्षा भएको छैन । जलवायुविद्को तालिकाअनुसार मंसिरको १६ देखि फागुनको १६ गतेसम्मको समय हिउँदे अवधि मानिन्छ । नेपालमा सामान्य मौसम रहन हिउँदे अवधिमा ६० मिलिमिटरसम्म वर्षा हुने गर्छ । तर, यसवर्ष भने हालसम्म निकै न्यून वर्षा भएको छ । हिउँदे अवधि सकिनै लाग्दा हालसम्म ९ दशमलव ५ प्रतिशत मात्रै वर्षा भएको छ । नेपालको सबैभन्दा बढी पानी पर्ने ठाउँ भनेर चिनिने पोखरामा समेत यो हिउँदमा वर्षा भएको छैन । यस्तै, सिमरा, विराटनगर, धनकुटाजस्ता वर्षा हुने क्षेत्रसमेत यसपालि सुक्खा यामबाट गुज्रिएका छन् । हिउँदे वर्षा नहुँदा तराईंमा दैनिक बाक्लो हुस्सु लागिरहेको छ । हिमालमा हिमपात भएको छैन । केही वर्ष अघिसम्म चाँदीजस्तै टल्कने सेता हिमाल पछिल्ला केही वर्षयता काला पहाडमा परिणत हुँदै जान थालेका छन् । पहिले चाँदीझैँ टल्कने हिमाल अहिले उराठलाग्दा देखिन थालेका छन् । हिउँदेयाममा समेत हिउँ नपरेपछि डाँडाकाँडा रूखा र सुक्खा देखिन थालेका छन् ।
अनि अब कहिले वर्षा हुन्छ ? मौसमविद् विभूति पोखरेलका अनुसार यही अवस्था रहिरहे तत्काल पानी पर्ने र हिमपात हुने सम्भावना छैन । सुक्खा खडेरीको लक्षण देखिएको उहाँले बताउनुभयो । यद्यपि, फेब्रुअरी नसकिएसम्म हिउँद कस्तो भयो भन्न नमिल्ने उहाँको भनाइ छ । उसो त जल तथा मौसम विज्ञान विभागले हिउँदमा औसतभन्दा कम पानी पर्ने प्रक्षेपण यसअघि नै गरेको थियो । कम पानी परेको यसपालि मात्रै होइन । गतवर्ष पनि ८० प्रतिशत कम वर्षा भएको थियो । यसपटक पछिल्ला दुई वर्षको रेकर्ड तोडिने अवस्था छ । कम वर्षा भएको यो लगातार तेस्रो हिउँद हो । फेब्रुअरी २८ पछि हिउँदे अवधि सकिएर प्रि-मनसुन सुरु हुन्छ ।
हिमालय क्षेत्रमा जलवायु परिवर्तनका कारण पर्यावरणीय संकट देखिन थालेको भन्दै विज्ञले चिन्ता व्यक्त गरेका छन् । हिउँद याममा हिउँ पर्ने क्रम घटेको र हिमालय क्षेत्रको जमिनमा हिउँ धेरै समयसम्म रहिरहन नसक्ने समस्या देखिन थालेको वैज्ञानिकको भनाइ छ ।
कृषि प्रणालीमा असर
हिउँदमा पानी नपर्दा कृषि-खेती प्रणाली, वन प्रणाली, ऊर्जा प्रणालीमा नराम्रो प्रभाव पर्दै गएको छ । पानीका स्रोतहरू सुक्दै गएका छन् । सिँचाइको प्रबन्ध नभएका ठाउँहरूमा खडेरीले खाद्यान्न उत्पादन घट्ने देखिएको छ । हिउँदे बालीहरू गहुँ, तोरी, मुसुरो लगायतको उत्पादन यस वर्ष निकै घट्ने देखिएको छ । यस्तै, हिउँदे वर्षा नहुँदा चैत, वैशाखका सुक्खा महिनामा वनजंगलमा आगलागी तथा डढेलोको जोखिम पनि उत्तिकै बढेको जलवायुविद् बताउँछन् । हिमाली क्षेत्रका जमिनमा माटोको अम्लीयपना बढ्दै जाँदा रैथाने बालीहरू लोप हुँदै गएको कृषि वैज्ञानिकहरू बताउँछन् । जंगली फलफूलको पाक्ने समय परिवर्तन भएको छ । वनमा जंगली जनावरले पानी नपाउनेलगायत समस्या बढेका छन् । जंगली जनावरहरू जंगल छोडेर गाउँ बस्तीतिर पस्न थालेका छन् । सुक्खा बढेका कारण वनमा आगलागी घटना भइरहेका छन् । सहरहरूमा प्रदूषण खतराको तहसम्म पुगेको छ । जलवायु परिवर्तनकै कारण महत्वपूर्ण जडीबुटी तथा वनस्पति लोप भइसकेका छन् । साथै पृथ्वीमा समयमै पानी नपर्ने, परे पनि कहिले लगातार परिरहने त कहिले पानी नै नपर्ने भइरहेको छ ।
मानव स्वास्थ्यमा समेत गम्भीर असर
जलवायु परिवर्तनका कारण मानव स्वास्थ्यमा समेत गम्भीर असरहरू देखिन थालेका चिकित्सक तथा वातावरण विज्ञहरूले बताएका छन् । जलवायु परिवर्तनकै कारण नयाँ-नयाँ रोग देखिएका छन् । यसको असर बढ्दै जाँदा नेपालको हिमाली क्षेत्रमा पाइने महत्वपूर्ण जडीबुटी यार्सागुम्बा लगायतका वनस्पति पनि लोप हुने खतरा रहेको विभिन्न अध्ययनहरूले पनि पुष्टि गरेका छन् । जलवायुविद्का अनुसार समुद्र सतहको तापक्रममा आएको परिवर्तन नै यसको हिउँदे वर्षा नहुनुको प्रमुख कारक हो । जलवायु परिवर्तनका कारण समुद्रको सतह कहिले तातो त कहिले चिसो हुन्छ । इण्डोनेसियादेखि हिन्द महासागरसम्मको समुद्री सतह चिसिएको अवस्था छ । चिसिएको अवस्थामा वाष्पीकरण हुँदैन । वाष्पीकरण नहुँदा यसले वर्षा हुने प्रक्रियालाई घटाउँदछ ।
काठमाडौंमा उच्च प्रदूषण
हिउँमा पानी नपरेसँगै काठमाडौं उपत्यकामा उच्च प्रदूषण देखिएको छ । आइक्यु एयरको एयर क्वालिटी इन्डेक्स (एक्यु आई) वायुको गुणस्तर सूचकांकमा सोमबार साँझ प्रदूषित सहरको सूचीमा काठमाडौं चौथो स्थानमा थियो । काठमाडौंमा एक्युआई १८१ पुगेको छ, जुन अस्वस्थ मानिन्छ । यस्तैगरी, मानव स्वास्थ्यमा सबैभन्दा बढी असर गर्ने वायुमण्डलमा पाइने प्रदूषणका सूक्ष्म कण अर्थात् फाइन पार्टिकुलेट म्याटर (पिएम २.५) ९८.५ माइक्रो ग्राम प्रतिघनमिटर रहेको छ । विश्व स्वास्थ्य संगठनले पिएम २.५ को वार्षिक औसत ५ माइक्रो ग्राम प्रतिघन मिटर हुनुपर्ने बताएको छ । पिएम २.५ का कारण बर्सेनि संसारभरमा लाखौँ मानिसको ज्यान जाने गरेको छ । पिएम २.५ सजिलै फोक्सोमा पुग्ने र रक्त प्रवाहमा मिसिनसक्ने भएकाले यसले श्वासप्रश्वास तथा हृदयसम्बन्धी र अन्य विभिन्न दीर्घरोग उत्पन्न गराउने जानकारहरू बताउँछन् । वन तथा वातावरण मन्त्रालय, वातावरण विभागका अनुसार वायुको गुणस्तर सूचकांक (एक्युआई) ०-५० लाई मात्रै राम्रो मानिन्छ । एक्युआई ५१-१०० हुँदा मध्यम, १०१-१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१-२०० अस्वस्थ, २०१-३०० निकै अस्वस्थ तथा ३०१ माथि भएमा खतरनाक तहमा पुगेको संकेत गर्दछ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)का अनुसार संसारका लगभग ९९ प्रतिशत जनसंख्या वायु प्रदूषणको शिकार हुने गरेका छन् । वायु प्रदूषण अल्पायुमै हुने मृत्युको दोस्रो सबैभन्दा ठूलो कारण हो । यसका कारण हरेक वर्ष ७० लाख मानिसको अकालमा ज्यान गुमाउने गरेका डब्ल्युएचओको अनुमान छ ।
नेपालसहित कैयौँ एसियाली मुलुकमा वायु प्रदूषण एउटा गम्भीर स्वास्थ्य समस्या बनिसकेको छ । वायु प्रदूषण धेरै हदसम्म मौसममा पनि भरपर्ने हुन्छ । विज्ञहरूका अनुसार, हरेक वर्ष हिउँदमा कति वर्षा भयो त्यसले समेत वायु प्रदूषण कति हुन्छ ? भन्ने कुरामा असर पारिरहेको हुन्छ । जनवरी र फेब्रुअरीमा प्रदूषण बढी हुने गरेको छ । यसको अर्को कारण तापक्रम न्यून हुनु पनि हो । तापक्रम कम हुँदा जमिन सँगैको हावा फैलिएर धेरै माथि जान सक्दैन, जसले गर्दा जति पनि धुलोका कणहरू उत्सर्जन भएका छन्, ती सबै जमिन नजिक थिग्रिएर बसिरहन्छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच