
दाङ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढल्छ भनेर हल्ला गरिरहन आवश्यक नरहेको बताउनुभएको छ । लुम्बिनी प्रदेशसभा बैठकलाई सोमबार विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दुई तिहाइको बलियो सरकार भएकाले तोपै हाने पनि नढल्ने दाबी गर्नुभएको हो । अबको १७ महिनापछि सहजै रूपमा गठबन्धन दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गर्ने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, ‘अब १७ महिना पनि बाँकी छ कि छैन, सायद सात महिना बितिसक्यो । अबको १७ महिना मैले चलाउँछु । आफैँ छाड्छु बेला पुगेपछि, बल गर्नै पर्दैन । त्यसपछि शेरबहादुरजीलाई हस्तान्तरण गर्छु । कुरा क्लियर छ ।’ १७ महिनासम्म तोप हाने पनि सरकार नढल्ने प्रधानमन्त्रीको दाबी छ । ‘केपी ओलीलाई हराउन कुनै बल लगाउनु पर्दैन’, उहाँले भन्नुभयो, ‘आफैँ छोड्छु बेला पुग्यो भने ।’ झण्डै दुई तिहाइको बहुमतको सरकार भएकाले नढल्ने र हस्तान्तरण पछि देउवालाई सहयोग गर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो । प्रधानमन्त्री ओलीले कांग्रेस र एमालेबीच अहिले कुनै आशंका नभएको पनि जिकिर गर्नुभयोे । बलिया पार्टी मिलेर बलियो सरकार बनेकाले कुनै हल्लाको पछि नलागी ढुक्क भएर काम गर्न उहाँले आग्रह गर्नुभयो ।
‘अर्काले आएर देश बनाइदिँदैन, हामीले नै बनाउनुपर्छ’
प्रधानमन्त्री ओलीले तीनै तहका सरकार मिलेर विकास निर्माणका कामलाई सहकार्यका साथ अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको छ । लुम्बिनी प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै उहाँले कुनै पनि देश अर्काले आएर नबनाइदिने हुनाले हामीले बनाउनुपर्ने बताउनुभएको हो । ‘४० वर्ष अगाडि छिमेकी चीन गरिब मुलुक थियो, अहिले आफ्नै मिहिनेतले सम्पन्न भइसकेको छ । हामीले पनि प्रविधि प्रयोगको ल्याकत बढाएर आफैँले देशको विकास गर्नुपर्छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘कुन ठाउँमा के उत्पादन हुन्छ ? भन्ने पहिचान गरेर ठूलो परिमाणमा खेती र उत्पादन गर्न सकेमा बजार पाइन्छ । त्यसकारण हामीले त्यस्ता उत्पादनमा लाग्नुपर्छ ।’ उद्योगहरू स्थापनामा लगानी विस्तार गर्नुपर्ने र त्यसका लागि सरकारका तर्फबाट सहजीकरण गर्नुपर्ने उहाँले बताउनुभयो ।
अध्यादेश जसरी पनि पारित हुन्छ
प्रधानमन्त्री ओलीले अध्यादेश जसरी पनि पारित हुने दाबी गर्नुभएको छ । एमालेले सोमबार घोराहीमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अध्यादेश कसरी पारित हुन्छ, हेर्दै जानुहोला । ‘हिजो प्रचण्डले दरबारसँग सम्झौता गरेर लोकतन्त्र मास्न खोजेका हुन्,’ उहाँले भन्नुभयो,’ अहिले उल्टै हामीलाई लोकतन्त्र मासेको आरोप लगाउने ? प्रचण्डको धेरै पोल खोल्न नपरोस् ।’ माओवादी अध्यक्ष पुष्पकमल दाहालले रातदिन थेगो जस्तै गरी सरकार ढल्छ भनिरहेको उल्लेख गर्दै उहाँले दाहाल जति बर्बराए पनि सरकार नढल्ने दाबी गर्नुभयो । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा निर्वाचन-२०७९ मा शंकर पोखरेललाई हराएर दंगाली जनताले गल्ती गरेको बताउँदै पोखरेलले चुनाव जितेको भए आफूलाई समेत सजिलो हुने बताउनुभयो । पोखरेलले चुनाव जित्दा देशको विकास गर्न धेरै सहज हुने थियो । मलाई सजिलो हुने थियो,’ उहाँले भन्नुभयो, ‘यसमा तपाईंहरूले गल्ती गर्नुभयो ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच