
काठमाडौं । प्रतिनिधि सभाबाट नेपाल नागरिकता दोस्रो संशोधन विधेयकसम्बन्धी प्रस्ताव स्वीकृत भएको छ । सोमबार बसेको प्रतिनिधि सभाको बैठकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको हो । सभामुख देवराज घिमिरेले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि सामान्य छलफल गरियोस्’ भनी प्रस्तुत गरेको प्रस्तावलाई बहुमतले स्वीकृत गरेको हो । सरकारले ल्याएको विधेयकमाथि आइतबार प्रतिनिधि सभामा सामान्य छलफल भएको थियो । छलफलपछि विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित गर्ने कार्यसूची आइतबारकै लागि तय भएको थियो । तर, गणपूरक संख्या नपुगेर स्थगित भएको थियो । आइतबार प्रतिनिधि सभामा २२० जना सांसदले हाजिर गरेका थिए । तर, विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा जम्मा ६८ जना उपस्थित थिए । १५२ जना सांसद हाजिर गरेर हिँडेपछि आइतबार पारित हुन नसकेको प्रस्ताव सोमबार सभाले स्वीकृत गरेको हो । सभाले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित गरेसँगै अब सांसदहरूले ७२ घण्टाभित्र संशोधन प्रस्ताव राख्न सक्छन् । सांसदहरूको संशोधन प्रस्तावसहित विधेयकमाथि दफावार छलफल हुनेछ ।
राष्ट्रिय सभाले पास गरेको खेद प्रस्तावप्रति आपत्ति
सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेका सांसद रघुजी पन्तले प्रतिनिधिसभा सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीविरुद्ध राष्ट्रिय सभाले पास गरेको खेद प्रस्तावप्रति आपत्ति जनाउनुभएको छ । सोमबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै पन्तले संविधानले दुई सदनको संसदीय प्रणाली अवलम्बन गरेको स्मरण गर्दै सदनका बीचमा द्वन्द्व बढाउने काम कसैबाट हुन नहुने बताउनुभयो । सांसद पन्तले भन्नुभयो, ‘जसरी प्रतिनिधि सभाका एकजना माननीय सदस्यको टिप्पणीलाई लिएर राष्ट्रिय सभाले खेद प्रस्ताव पारित गरेको छ । त्यो दुःखद हो । प्रतिनिधिसभा र राष्ट्रियसभा यी दुई सदनको बीचमा द्वन्द्व उत्पन्न भयो भने यसले संसदीय व्यवस्थालाई असर गर्छ ।’ राष्ट्रिय सभाप्रति गरेको टिप्पणीलाई लिएर आइतबार राष्ट्रिय सभाले राप्रपाका प्रमुख सचेतक शाहीविरुद्ध खेद प्रस्ताव पारित गरेको थियो । यसप्रति एमाले सांसद पन्तले आपत्ति जनाउनुभएको हो ।
शाहीको अभिव्यक्ति पनि उचित नरहेको उल्लेख गर्दै पन्तले भन्नुभयो, ‘राष्ट्रियसभा भनेको वृद्धाश्रम होइन । राष्ट्रियसभा भनेको पाकाहरूको सभा हो । त्यो सदनलाई हामीले वृद्धाश्रम भनेर आलोचना र बेइज्जत गर्ने काम गर्न हुँदैन । लोकतन्त्र सुसस्कृत प्रणाली भएकोले एकले अर्कोलाई सम्मान गर्न सक्नुपर्छ । आफ्नो असहमतिलाई संसदीय भाषा र मर्यादामा रहेर राख्नुपर्छ ।’ प्रमुख सचेतक शाहीले राष्ट्रिय सभालाई वृद्धाश्रम भनेर अभिव्यक्ति दिनुभएको थियो ।
राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन पेस
प्रतिनिधिसभा बैठकमा राष्ट्रिय सुरक्षा परिषद्को दुई आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेस भएको छ । प्रतिनिधि सभाको सोमबारको बैठकमा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले छैटौँ वार्षिक प्रतिवेदनको आर्थिक वर्ष २०७९/०८० र सातौँ वार्षिक प्रतिवेदनको आर्थिक वर्ष २०८०/०८१ सदनसमक्ष पेस गर्नुभएको हो । यस्तै, प्रतिनिधि सभामा राष्ट्रिय सभामा उत्पत्ति भएको एक विधेयक टेबल भएको छ । प्रतिनिधि सभाका सचिव हर्कराज राईले सोमबारको बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक २०८१ को सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबल गर्नुभएको हो ।
नेपाल प्रहरी संकटमा रहेको सांसदहरूको टिप्पणी
सांसदहरूले नेपाल प्रहरी विधेयकले प्रदेश प्रहरी सेवाको गठन र सेवा सञ्चालनको बाटो खुल्ने विश्वास व्यक्त गरेका छन् । नेपाल प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्तावमा सोमबार प्रतिनिधि सभाको बैठकमा भएको छलफलमा भाग लिँदै सांसदहरूले प्रहरीले भोग्दै आएका कानुनी जटिलताहरूलाई विधेयकले समाधान गर्ने विश्वास व्यक्त गरेका छन् । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले प्रहरी सेवालाई थप प्रभावकारी बनाउन र एकीकृत गर्न आएको विधेयकको स्वागत गर्दै भन्नुभयो, ‘नियमावलीहरू बारम्बार परिवर्तन भइराख्ने, संशोधन भइराख्ने र कतिपय अवस्थामा त सरकारको आफ्नो अनुकूलताअनुसार परिवर्तन गरेर जाने प्रवृत्तिको पनि विकास भएको थियो । जसका कारण प्रहरी निकायमा अनियमितताको अभाव खड्किराखेको थियो । अब प्रहरी समायोजनका विषयहरू, प्रदेश प्रहरीका कानुनहरू बन्ने पनि बाटो खुलेको छ ।’ नेकपा एमालेका सांसद योगेश भट्टराईले संविधानले संघ र प्रदेशका आफ्नै प्रहरीको व्यवस्था गरेको र प्रहरी विधेयकले प्रदेशहरूलाई आफ्नै प्रहरी बनाउन सहज वातावरण तयार गर्ने बाटो खुल्ने विश्वास व्यक्त गर्दै भन्नुभयो, ‘विधेयकले प्रदेशमा पनि अब प्रहरी सेवा गठन, सञ्चालनको व्यवस्थापनको बाटो खोल्नेछ । त्यसकारणले संघीयता कार्यान्वयनसँग पनि जोडिएको विषय भएको हुनाले यो विधेयक अत्यन्तै महत्वपूर्ण छ ।’ राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा.चन्दा कार्कीले नेपाल प्रहरी नागरिकको सुरक्षा, कानुनी शासन र शान्तिको आधार भएको उल्लेख गर्दै भन्नुभयो, ‘प्रहरी भनेको नेपाली नागरिक सुरक्षा, राज्यको कानुनी शासन र शान्तिको आधार हो । प्रहरीलाई देख्दा नागरिकले राहतको महशुस गर्छन् किनभने प्रहरीको उपस्थिति भनेको राज्यको उपस्थिति हो । तर, दुर्भाग्यवश प्रहरी आज आफैँ संकटमा छ । न आधुनिक प्रविधि छ न पर्याप्त स्रोत साधन नै ।’
प्रश्नोत्तरमा प्रश्न सोध्ने अधिकार दुरुपयोग भयो : थापा
नेकपा एमालेका सांसद सूर्य थापाले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा एकजना सांसदले प्रश्न सोध्ने अधिकारको दुरुपयोग गरेको टिप्पणी गर्नुभएको छ । सांसद थापाले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग संसद्मा भएको प्रश्नोत्तरका क्रममा आमजनता पार्टीका अध्यक्ष प्रभु साहले सोधेको प्रश्नप्रति इंगित गर्दै अधिकार दुरुपयोग भएको टिप्पणी गर्नुभएको हो । सांसद थापाले भन्नुभयो, ‘प्रधानमन्त्रीज्यू वैदेशिक रोजगारीमा जाने युवाबाट कति लाभ लिनुभयो ? भन्ने प्रश्न सोधियो । नियमावलीको ५० नम्बरमा प्रश्न सोध्ने अधिकारको दुरुपयोग गरिएको परिकल्पना गरिएको छ । त्यहाँनिर प्रश्न सोध्ने अधिकारको दुरुपयोग गरिएको छ ।’
सुमनाले गरिन् संसद् बैठक बहिष्कार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठ सोमबार संसद् बैठकबाट रिसाउँदै बाहिरिनुभएको छ । सभामुख देवराज घिमिरेले बोल्न समय नदिएको भन्दै पूर्व-शिक्षामन्त्रीसमेत रहनुभएकी श्रेष्ठले संसद् बैठक बहिष्कार गरेर हिँड्नुभएको हो । सोमबार बसेको प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्न खोज्नुभएकी सांसद श्रेष्ठलाई सभामुख घिमिरेले रोक्नुभएको थियो । सभामुखले दलीय आधारमा आकस्मिक समयमा रास्वपाका अशोक चौधरीलाई बोल्न दिनुभएको थियो । त्यसपछि एमाले सांसद सम्झना थपलियालाई बोल्न दिएर सभामुखले बैठक शून्य समयतिर लग्नुभएको थियो । बैठकलाई शून्य समयतिर लगेपछि सुमनाले एक्लै उठेर विरोध गर्नुभयो । सांसद सुमनाले बोल्ने समय मागेको तर सभामुख घिमिरेले अनुमति नदिएपछि बैठक छाडेर बाहिर निस्किनुभएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच