बैतडी । बैतडीमा ट्रमा सेन्टर सञ्चालनमा आउन सकेको छैन । जिल्लाको पाटन नगरपालिका-८ को खोड्पेमा ट्रमा सेन्टरका लागि भन्दै निर्माण गरिएको संरचना प्रयोगविहीन बनेको छ । दुई वर्षअघि नै ट्रमा सेन्टरका लागि भवन निर्माण भइसके पनि जनशक्ति र उपकरणको अभावमा सञ्चालनमा आउन नसकेको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदन सिंह महराले बताउनुभयो । सडक दुर्घटनाका घाइते तथा अन्य विपद्मा परेर घाइते भएकाहरूको आकस्मिक उपचारका लागि ट्रमा सेन्टर निर्माण गरिएको भए पनि सञ्चालनमा आउन नसकेको उहाँले जानकारी दिनुभयो ।
‘भौतिक संरचना निर्माण गरिए पनि आवश्यक जनशक्ति र उपकरणको व्यवस्थापन नहुँदा ट्रमा सेन्टर अलपत्र परेको छ । नगरपालिका आफैँले छुट्टै जनशक्ति भर्ना र उपकरण खरिद गरी सञ्चालनमा ल्याउन सक्ने अवस्था छैन । महराले भन्नुभयो, ‘प्रदेश र संघीय सरकारसँग माग गरिरहेका छौँ ।’
भौतिक संरचना संघीय सरकारले निर्माण गरेको भए पनि ट्रमा सेन्टर सञ्चालनका लागि प्रदेश सरकारलाई हस्तान्तरण गरिसकेको बताइएको छ । संघीय सरकारको ५० लाख तथा पाटन नगरपालिकाको सात लाख गरी ५७ लाखमा ट्रमा सेन्टरका लागि भवन निर्माण गरिएको थियो ।
स्पाइनल ब्यागबोर्ड, एइडी मेसिन, अक्सिजन कन्सन्ट्रेटर, प्यासेन्ट मोनिटर र १५ ओटा बेडसिट ट्रमा सेन्टर रहेका छन् । भवनमा खानेपानी र विद्यत् जडान भइसकेको सिद्धेश्वर स्वास्थ्य चौकीका सिनियर अहेब जयराज भट्टले जानकारी दिनुभयो । एक्सरे मेसिन र विशेषज्ञ चिकित्सकको व्यवस्था गर्नसक्ने ट्रमा सेन्टर सञ्चालनमा ल्याउन सकिने उहाँले बताउनुभयो ।
प्रदेश सरकारलाई जनशक्ति र उपकरणको व्यवस्थापन गरी सञ्चालनमा ल्याउन पटक-पटक आग्रह गर्दै आएको पाटन नगरपालिका-८ वडा अध्यक्ष हरिश विष्टले जानकारी दिनुभयो । ट्रमा सेन्टर सञ्चालनमा ल्याउनका लागि सुदूरपश्चिमका तत्कालीन सामाजिक विकासमन्त्री ओमविक्रम भाट र अहिलेका मुख्यमन्त्री कमलबहादुर शाहलाई ज्ञापनपत्रसमेत बुझाइसकेको विष्टले बताउनुभयो । ‘भवन निर्माण भएको छ । जनशक्ति र उपकरणको अभावले तर सञ्चालनमा आउन सकेको छैन’, उहाँले भन्नुभयो ।
भीरबाट लडेर तथा सडक दुर्घटना र अन्य विपद्जन्य घटनाका घाइतेहरूले समयमा नै उपचार नपाउँदा ज्यान गुमाउनुपर्ने बाध्यता छ । खोड्पेमा विशेषज्ञ चिकित्सक सहितको ट्रमा सेन्टर सञ्चालनमा ल्याउन सके बैतडीसहित बझाङ र दार्चुलाका नागरीहरूलाई सहज हुने उहाँले बताउनुभयो ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर