सर्लाही । केही वर्षअघिसम्म उखु किसानलाई भुक्तानी पाउन निकै कठिन हुने गथ्र्यो तर पछिल्लो समय किसानले उखुखेती घटाउँदै लगेपछि चिनी उद्योगहरू संकटमा पर्न थाले । सोही कारण चिनी उद्योगहरूले किसानलाई समयमै भुक्तानी दिन थालेका छन् । सर्लाहीमा तीनवटा चिनी उद्योग सञ्चालनमा छन्, यस वर्ष सबै किसानलाई भुक्तानी प्रदान गरिरहेका छन् । जसका कारण नगदेबालीका रूपमा उखुखेती फेरि लोकप्रिय बन्दै गएको छ । नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीका अनुसार उद्योगहरूले समयमै भुक्तानी दिएपछि अब किसानले आन्दोलन गर्नुपर्ने बाध्यता अन्त्य हुने सम्भावना बढेको छ । मैनालीले सरकारलाई पनि उखु किसानलाई समयमै अनुदान दिने नीति अपनाउन आग्रह गर्नुभएको छ । यदि सरकारले उखु किसानलाई उखु बेचेकै आर्थिक वर्षमा भुक्तानी दिने परिपाटी बसाल्न सके किसानलाई भुक्तानी पाउन सहज हुने उहाँको भनाइ छ । सरकारले उद्योगहरूले जस्तै किसानलाई समयमा भुक्तानी दिन सक्ने प्रणाली विकास गर्न आवश्यक रहेको मैनाली बताउनुहुन्छ । त्यसका लागि सरकारले एक वर्षमा दुर्ई आर्थिक वर्षको अनुदान प्रदान गरेमा किसानले आफूले पाउनुपर्ने सम्पूर्ण रकम समयमा नै प्राप्त गर्न सक्ने पनि उहाँ बताउनुहुन्छ ।
किसानलाई सम्मान र पुुरस्कार
सर्लाहीको हरिवनस्थित इन्दुशंकर चिनी उद्योगले उन्नत जातको उखुखेती गरेर राम्रो उत्पादन गर्ने किसानलाई सम्मान गरेको छ । उद्योगले माघ २७ गते हरिवन नगरपालिका-११, स्थित उद्योग प्रांगणमा जिल्लाका विभिन्न ठाउँका ४७ जना उत्कृष्ट उखु किसानलाई सम्मान गरेको हो । उन्नत जातको उखुखेतीमा उत्पादन परिमाण बढी हुँदा किसान र चिनीको मात्रा (रिकोभरी) बढ्दा चिनी उद्योगलाई फाइदा हुने गरेको छ । उन्नत जातको उखुखेती गरेर नमुना बनिरहेका किसान छनोट गरी सम्मान गरिएको उद्योगका प्रशासकीय प्रबन्धक ठाकुरप्रसाद नेपालले बताउनुभयो । उद्योगले ४७ किसानलाई सम्मान प्रदान गरेको हो । उखु किसानलाई हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी (कमल), उपप्रमुख हरिमाया घलान, कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कमलदेवप्रसाद कुशवाहा, उद्योगका मालिक राजेशबाबु केडियालगायतले सम्मान प्रदान गरेका थिए ।
पछिल्लो समय किसानले उखुखेती घटाउँदै लगेपछि चिनी उद्योगहरू संकटमा पर्न थाले । सोही कारण चिनी उद्योगहरूले किसानलाई समयमै भुक्तानी दिन थालेका हुन् । इन्दुशंकरले उन्नत जातअन्तर्गतका उखु उत्पादन गर्ने किसानलाई सरकारले तोकेभन्दा १५ रुपैयाँ बढी नै मूल्य दिएर खरिद गर्ने गरेको छ ।
उद्योग आफैंले विभिन्न उन्नत जातको उखुको बीउ तयार पारेर किसानलाई वितरण गर्ने गरेको छ । बरहथवा नगरपालिका-१५, सुुन्दरपुर चोहर्वाका किसान तीर्थराज मैनालीले प्राविधिक सरसल्लाह र उत्पादन राम्रो हुन थालेपछि आफूले छ बिघा खेतमा उन्नत जात (१४२०१) को उखुु लगाएको जानकारी दिनुभयो । इन्दुशंकरले उन्नत जातअन्तर्गत पर्ने १४२०१, १३२३५, १५०२३, २३८ र ११८ उखु उत्पादन गर्ने किसानलाई सरकारले तोकेभन्दा १५ रुपैयाँ बढी नै मूल्य दिएर खरिद गर्ने गरेको छ । किसानलाई उन्नत जातका यी उखु रोप्न र हरेक काममा कृषियन्त्र प्रयोग गरेर लागत घटाउन निरन्तर सहयोग तथा परामर्श प्रदान गरिरहेको उद्योगका उखु प्रबन्धक योगनारायण रजकले बताउनुभयो ।
चिनी उद्योग कुरा
किसानले अब मूल्यको कुरामा मात्र अल्झेर बस्न नहुुने, उन्नत बीउ लगाएर लाभ हासिल गर्नुपर्ने सर्लाहीको हरिवनस्थित इन्दुशंकर चिनी उद्योगका प्रशासकीय अधिकुत ठाकुर नेपाल बताउनुहुुुन्छ । किसानले अब आधुनिक उपकरण प्रयोग र उन्नत जातको उखु लगाउन आवश्यक रहेको उहाँको सुझाव छ । अहिले किसानले लगाएको उखु प्रतिबिगाह चार सयदेखि पाँच सय रुपैयाँ क्विन्टलसम्म उत्पादन दिने गरेकोमा त्यति नै लागतमा उन्नत बीउ लगाउँदा आठ सय क्विन्टल प्रतिबिगाह उत्पादन दिने उहाँले बताउनुभयो ।
उन्नत जातका उखु लगाउन सरकार र उद्योग दुवै लागिपरे किसानले समेत थोरै जमिनबाट समेत मनग्य आम्दानी लिन सक्ने नेपालको भनाइ छ । उहाँका अनुसार अहिले किसानले उखु लगाउन छाड्नुमा यस बालीभन्दा धेरै फाइदा आउने अन्य बालीमा देखेर हो । यदि किसानले उत्ति नै लागतमा धेरै फाइदा लिने हो र यस बाली तथा उद्योगलाई बचाउने हो भने अब सरकारले उन्नत जातको बीउमा जोड दिनुपर्ने हुन्छ ।
बालीको लागतअनुसार छैन मूल्य
वर्षेनी बजार भाउ आकासिँदै गएको छ । महँगीका आधारमा उखुले मूल्य नपाउँदासमेत किसान यस बालीबाट बाहिरिरहेका छन् । पछिल्लो समय उखु लगाउन, गोड्न तथा कटान गर्न आवश्यक कामदारलाई दिने रकमदेखि रासायनिक मल, भिटामिन तथा औषधिलगायतका वस्तु महँगिएको छ । विगत तीन चार वर्षअघि कामदार ज्याला तीन सय रुपैयाँ रहेकोमा अहिले खानाखाजासहित छ सय रुपैयाँ दिनुपर्छ । अर्कोतिर वैदेशिक रोजगारीका कारण कृषि मजदुर अभाव छ । उत्पादनपछि चिनी उद्योगसम्म पु¥याउँदा ढुवानी भाडासमेत बढेको छ । तीन चार वर्षअघि प्रतिक्विन्टल ६० रुपैयाँमा उद्योगसम्म पुग्ने गरेकोमा अहिले एक सय रुपैयाँ प्रतिक्विन्टल ढुवानी खर्च हुने गरेको छ । त्यस्तै समयमा उद्योग सञ्चालन नहुँदा उखुको तौलमा समेत कमी आउने गरेको छ । यस वर्ष हिउँदे वर्षा नहुुँदा उखुको तौल घट्ने हो कि भन्ने चिन्ताले पनि किसानलाई सताउन थालेको छ ।
रासायनिक मल अभाव
लाखौं किसानले मुख्य पेशा बनाउँदै आएको कृषि कर्ममा रासायनिक मल अभाव वर्षेनी देखिने साझा समस्या नै बनेको छ । हाल नेपालमा किनेरै भए पनि समयमै मल, बीउ, कृषि बीमातर्फ सरकारको ध्यान पुग्न सकेको छैन । बालीमा रोग लागिहाले उचित परामर्श लिने ठाउँसमेत किसानले पाउन सकेका छैनन् । यस अवस्थामा किसानले राज्यतर्फबाट धेरै अपेक्षा गर्नु नै बेकार रहेको किसानहरू बताउँछन् । यसरी मिल मालिक र सरकारको चेपुवामा परेका किसान नगदेबालीका रूपमा रहेको उखुखेतीबाटै पलायन हुन थालेका छन् । मल बीउ अभावमा आप्mनै बलबुुतामा लगाएको बाली लगाउने बेलादेखि भित्र्याउने बेलासम्म किसानले लगानीका साथै कडा परिश्रम गर्नुपर्ने बाध्यता छ । पछिल्लो समय खेतीयोग्य जमिन घडेरीका लागि प्लटिङ हुन थालेकाले जमिनको बढ्दो खण्डीकरणसँगै यान्त्रिकीकरणमा पनि समस्या हुन थालेको छ ।
उन्नत उखु बीउमा सरकार र निजी क्षेत्रको भूमिका
नेपालमा उन्नत जातका उखु बीउ तथा प्रविधि वितरणमा सरकारको भूमिका कमजोर देखिएको छ तर निजी क्षेत्र भने यसमा सक्रिय रहेको छ । सरकारले किसानलाई प्रतिक्विन्टल केही अनुदान उपलब्ध गराउँदै आए पनि माटो, बाटो तथा भूगोलअनुसारको प्रविधि पनि प्र्रदान गर्नुपर्ने आवश्यकता रहेको मिलगेट उखु उत्पादक समितिका अध्यक्ष राजकुमार उप्रेती बताउनुहुन्छ । उहाँका अनुसार उखुखेती विस्तारका लागि किसान, उद्योग र सरकारबीच सहकार्य आवश्यक छ ।
हाल केही उद्योग तथा किसानले छिमेकी भारतबाट लुकाइछिपाई उन्नत जातका उखु बीउ भिœयाउने गरेका छन् । उद्योगीका अनुसार सरकारले सिफारिस गरेका जातको तुलनामा निजी क्षेत्रबाट ल्याइएका बीउले उच्च उत्पादन दिने र चिनीको मात्रा (रिकभरी) पनि राम्रो हुने देखिएको छ । त्यसैले निजी क्षेत्रद्वारा सञ्चालित चिनी उद्योगले उन्नत जातका उखु बीउ उत्पादनमा लगानी गर्न थालेका हुन् ।
सर्लाहीको हरिवनस्थित इन्दुशंकर चिनी उद्योगका सञ्चालक राजेशबाबु केडिया भन्नुहुन्छ, ‘हामीले उन्नत बीउ नेपालमा भिœयाएर पहिलो दुई वर्ष आफ्नै खेतबारीमा परीक्षण गरेपछिमात्र किसानलाई वितरण गर्दै आएका छौं । उखु बहुवर्षीय बाली भएकाले पहिलो, दोस्रो तथा अन्तिम वर्षको उत्पादन मूल्यांकन गरेरमात्र बीउ वितरण गर्नु आवश्यक हुन्छ ।’ स्थानीय हावापानी र भूगोलअनुसार बीउलाई अनुकूल बनाएर किसानलाई वितरण गर्ने गरिएको पनि उहाँले बताउनुभयो ।
विकल्परहित उद्योग, किसानलाई विकल्पै विकल्प
किसानसँग खेतबारीमा विभिन्न प्रकारका बाली लगाउने विकल्प भए पनि चिनी उद्योगका लागि उखुको विकल्प छैन । किसानले उखुको विकल्पमा मकै, धान, गहुँ, तोरीलगायतका बाली तथा तरकारी तथा फलफूल उत्पादन गर्न सक्छन् । त्यसैले उखु किसान र उद्योग एकअर्काका परिपूरकका रूपमा रहेर सहकार्य गर्नु अत्यावश्यक देखिन्छ । लाखौं संख्यामा रोजगारीका साथै चिनी आयात प्रतिस्थापनमा समेत महत्वपूर्ण भूमिका खेल्दै आएको उखुखेतीको प्रवद्र्धनका लागि सबै सरोकारवाला पक्षबीच सहकार्य र समन्वय जरुरी देखिन्छ ।
चलायमान बजार
देश आर्थिक मन्दीमा रहे पनि पछिल्लो समय तराई-मधेसका उखु किसानले भने केही राहत महसुस गरेका छन् । स्थानीय चिनी उद्योगहरूले किसानलाई नियमित भुक्तानी दिइरहेकाले बजारमा समेत चहलपहल बढेको छ । सर्लाहीमा रहेको इन्दुशंकर चिनी उद्योगले मात्रै किसानलाई एक अर्ब ३७ करोड रुपैयाँभन्दा बढी भुक्तानी गरिसकेको छ । उद्योगका प्रशासकीय प्रबन्धक ठाकुरप्रसाद नेपालका अनुसार फागुन ७ गतेसम्म बिक्री गरिएको सम्पूर्ण उखुको रकम बैंक खातामा पठाइसकिएको छ । उद्योगले यस वर्ष हरेक सोमबार किसानलाई भुक्तानी दिने गरेको छ । गत मंसिर २७ गतेदेखि सञ्चालनमा आएको इन्दुशंकरले फागुन १४ गतेसम्म २६ लाख ५१ हजार चार सय क्विन्टल उखु क्रसिङ गरिसकेको उखु प्रबन्धक योगनारायण रजकले जानकारी दिनुभयो । सरकारले निर्धारण गरेको मूल्यअनुसार उद्योगले किसानलाई प्रतिक्विन्टल पाँच सय ८५ रुपैयाँ भुक्तानी गरिरहेको छ । साथै सरकारले अनुदानस्वरूप प्रतिक्विन्टल ७० रुपैयाँ थप दिने भए पनि सो रकम कहिले पाउने भन्ने अन्योल रहेको नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले बताउनुभयो । नियमित भुक्तानीका कारण किसानले विद्यालय शुल्कदेखि बजार कारोबार भुक्तानी गर्न पाएका छन्, जसले गर्दा व्यवसायीले समेत राहत महसुस गरेको बताएका छन् ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर