काठमाडौं । नेपाल हस्तकला महासंघको २०८१ पुस २६ र २७ गते सम्पन्न ४४औँ वार्षिक साधारणसभाबाट निर्वाचित कार्यसमितिबाट आफ्नो कार्यकालभित्र गर्ने योजना तथा कार्यक्रम र रणनीति तय गर्न आइतबार काठमाडौंमा त्रिवर्षीय रणनीतिसहित कार्ययोजना तर्जुमा गोष्ठी आयोजना गरिएको छ । कार्यक्रममा महासंघका नवनिर्वाचित अध्यक्ष रविन्द्र शाक्यले त्रिवर्षीय योजनासहितको मार्गचित्र (रोडम्याप) प्रस्तुत गर्नुभयो ।
मार्गचित्रमा हस्तकला दिवसलाई राष्ट्रिय मान्यता दिलाउने, हस्तकला नीति पुनरवलोकन गरी नेपाल सरकारबाट स्वीकृत गराउने, हस्तकला वस्तुको आन्तरिक बजार विकासका लागि सरकारका निकायहरूबाट हस्तकलाको अधिक उपयोग गराउन पहल गर्ने, सार्वजनिक खरिद ऐनलाई व्यावहारिक बनाई हस्तकला सरकारी निकायहरूमा आपूर्ति गर्न सहज वातावरण बनाउने, १२ अर्बको निर्यात व्यापार सोही रकम बराबरको आन्तरिक बिक्री र ११ लाखभन्दा बढी व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्ष संलग्न रहेको हस्तकला उद्योग व्यवसायलाई हेर्ने छुट्टै विभाग स्थापनाका लागि पहल गर्ने, अनलाइन भुक्तानी प्रणाली सरल तुल्याउने रहेका छन् । त्यस्तै, हस्तकला वस्तुको अन्तर्राष्ट्रिय बजार प्रवद्र्धनका लागि सम्भाव्य देखिएका देशहरूमा एकदेशीय मेला आयोजना गर्ने, हस्तकला ग्राम र सार्क हस्तकला विकास केन्द्र स्थापना र सञ्चालनमा नेतृत्वदायी भूमिका खेल्ने, हस्तकला निकासीमा विजक मूल्यांकनलाई अनिवार्य तुल्याउने, महासंघको संस्थागत विकासमा विशेष जोड दिनेलगायतका विषयवस्तु रहेका छन् ।
गोष्ठीमा महासंघका विभिन्न सातवटा परिषद्हरूले आ-आफ्नो तीन वर्षको कार्ययोजना सम्बन्धित परिषद्का सभापतिहरू, वरिष्ठ उपाध्यक्ष तथा उपाध्यक्षहरूले प्रस्तुत गर्नुभएको थियो भने सचिवालयको कार्ययोजना तथा हाल रहेका महासंघका महत्वपूर्ण परियोजनाको प्रस्तुतीकरण महानिर्देशकले गर्नुभएको थियो । अध्यक्ष तथा परिषद्का सभापतिहरूबाट प्रस्तुत तीन वर्षको मार्गचित्र तथा परिषद्हरूका कार्ययोजना तथा कार्यक्रम एवं सचिवालयको कार्ययोजनामाथि गोष्ठीमा सहभागी महासंघका पूर्वअध्यक्षहरू बागमती प्रदेश हस्तकला संघ, जिल्ला हस्तकला संघ, वस्तुगत संघका अध्यक्ष तथा प्रतिनिधिहरू, नियातकर्ता, कलाकारहरूबाट आवश्यक सुझाव लिई अध्यक्षको मार्गचित्र र परिषद् तथा सचिवालयको आगामी तीनवर्षीय योजना तथा कार्यक्रमलाई अन्तिम रूप प्रदान गरिएको थियो ।
महासंघका पूर्वअध्यक्ष इन्द्रबहादुर शाक्यले गोष्ठी उद्घाटन गर्दै व्यावहारिक कार्ययोजना एवं महासंघको आर्थिक सवलीकरणमा जोड दिनुभएको थियो भने गोष्ठीमा प्राप्त सुझावसहितको निष्कर्ष अध्यक्ष रवीन्द्र शाक्यले प्रस्तुत गर्नुभएको थियो । महासंघका वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्यले धन्यवाद ज्ञापन गर्नुुभएको थियो । गोष्ठीमा कार्यसमिति, पूर्वअध्यक्षहरू, जिल्ला तथा वस्तुगत संघ निर्यातकर्ता, उद्यमी व्यवसायी, कलाकार, कर्मचारीसहित करिब ७० जनाको सहभागिता रहेको महानिर्देशक उत्तमप्रसाद देवकोटाले जानकारी दिनुभएको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच