अर्घाखाँची । अर्घाखाँचीको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक धरोहर पाणिनी तपोभूमिमा आगामी चैत २७ र २८ गते भव्य रूपमा सफल बनाउन पाणिनी सम्मेलनको तयारी सुरु भएको छ । संस्कृत व्याकरणका विश्वप्रसिद्ध विद्वान् पाणिनी ऋषिको तपस्या स्थलका रूपमा परिचित यस क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्दै यसको संरक्षण एवं विकासका लागि पहल गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको हो । सम्मेलनमा पाणिनी ऋषिको योगदान, संस्कृत भाषा र व्याकरणको महत्त्व, पाणिनी तपोभूमिको ऐतिहासिक गाथा तथा यसको संरक्षणका लागि आवश्यक रणनीतिबारे गहन छलफल गरिने बताइएको छ। साथै, धार्मिक एवं पर्यटकीय दृष्टिकोणले समेत महत्वपूर्ण मानिएको यस स्थललाई अध्ययन, अनुसन्धान, प्रवर्द्धन एवं संरचनागत विकासका लागि रणनीतिक योजना तयार गर्ने लक्ष्य लिइएको छ ।
हजारौं वर्षअघि पाकिस्तानको लाहोरबाट तपस्या गर्दै अर्घाखाँचीको खिदिम पुगेका पाणिनी ऋषिले पणेनाको लेकमा कठोर तपस्या गरेका थिए । धार्मिक मान्यताअनुसार, उनको गहिरो तपस्याले भगवान् शिव प्रसन्न भई अ, ई, उ, ऋ, लृ, ए, ओ आदि चौध सूत्रका स्वर उत्पन्न गराएका थिए, जसकै आधारमा संस्कृत व्याकरणको संरचना गरिएको थियो । संस्कृत भाषालाई सुगठित बनाउने मूल श्रेय पाणिनी ऋषिलाई दिइन्छ, जसका कारण संस्कृत व्याकरण आजसम्म पनि वैज्ञानिक रूपमा अध्ययन गरिन्छ । पाणिनीले तयार पारेको अष्टाध्यायी व्याकरण ग्रन्थले भाषा संरचनालाई सरल र व्यवस्थित बनाएको छ, जसले भारतीय उपमहाद्वीप मात्र होइन, विश्वभरका भाषाविद्हरूलाई गहिरो अध्ययन र अनुसन्धान गर्न प्रेरित गरेको छ ।
पाणिनी तपोभूमि क्षेत्रको संरक्षण तथा प्रवर्द्धनका लागि पाणिनी गाउँपालिकाले विशेष योजना ल्याएर अगाडि बढिरहेको छ । पर्यटकहरूको सुविधालाई मध्यनजर गर्दै बसोबासको व्यवस्था, खानेपानी व्यवस्थापन तथा अन्य पूर्वाधार विकासलाई प्राथमिकताका साथ अगाडि बढाइएको छ । स्थानीय सरकार तथा सरोकारवालाहरूको सहकार्यमा धार्मिक तथा सांस्कृतिक गतिविधिहरू सञ्चालन गरिने पालिकाले जनाएको छ । आगामी पाणिनी सम्मेलन २०८१ को आयोजनाले पाणिनी तपोभूमिको ऐतिहासिक एवं धार्मिक महत्त्वलाई उजागर गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा यसको प्रचारप्रसार गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।
यसैक्रममा अर्घाखाँची, गुल्मी, पाल्पा र प्युठान जिल्लाबीच अन्तरजिल्ला सुरक्षा समन्वय बैठक सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय, अर्घाखाँचीको आयोजनामा सम्पन्न उक्त बैठकमा चारवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरू, अर्घाखाँची जिल्ला समन्वय समितिका प्रमुख, पाणिनी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, विभिन्न सरोकारवालाहरू, जनप्रतिनिधि , स्थानीय पत्रकार तथा बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो । बैठकमा पाणिनी सम्मेलनलाई प्रभावकारी ढंगले कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा गहन छलफल गरिएको थियो ।
साथै, बैठकमा चार जिल्लाबीच शान्ति सुरक्षा, आपराधिक गतिविधिहरूको नियन्त्रण, सीमावर्ती क्षेत्रहरूको निगरानीलगायतका विषयमा गम्भीर छलफल गरी महत्त्वपूर्ण निर्णयहरू गरिएको छ । बैठकमा फौजदारी अपराध, लागुऔषध ओसारपसार, मानव बेचबिखन, वन्यजन्तु सिकार, हातहतियार ओसारपसार, सामाजिक अपराध तथा अन्य अवाञ्छित गतिविधिहरू नियन्त्रण गर्ने उपायहरूमा विशेष ध्यान दिइएको छ । सुरक्षा समन्वय बैठकले चार जिल्लाबीच आपसी सहकार्य र साझेदारीको माध्यमबाट क्षेत्रीय सुरक्षा सुदृढ गर्ने दिशामा ठोस निर्णयहरू गरेको छ । सीमावर्ती क्षेत्रमा अवाञ्छित गतिविधिहरू रोक्न नियमित गस्ती, निगरानी संयन्त्र मजबुत बनाउने तथा प्रविधि-आधारित सुरक्षा प्रणाली लागू गर्ने योजना अघि सारिएको छ । साथै, प्राकृतिक विपद् व्यवस्थापन, ट्राफिक नियन्त्रण तथा वन पैदावार संरक्षण जस्ता विषयमा पनि स्थानीय तह, सुरक्षा निकाय तथा नागरिक समाजबीच समन्वयात्मक काम गर्ने निर्णय गरिएको छ ।
पाणिनी सम्मेलन २०८१ र चार जिल्लाबीचको सुरक्षा समन्वय बैठक दुवै अर्घाखाँची र आसपासका क्षेत्रहरूको ऐतिहासिक, धार्मिक, पर्यटकीय, सांस्कृतिक एवं सामाजिक विकासका दिशामा महत्वपूर्ण कोसेढुंगा सावित हुने अपेक्षा गरिएको छ । पाणिनी ऋषिको योगदानलाई विश्वभर फैलाउन तथा पाणिनी तपोभूमिलाई अन्तर्राष्ट्रिय धार्मिक एवं पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ । त्यस्तै, सुरक्षा समन्वय बैठकको निर्णयहरूले क्षेत्रीय शान्ति, सुशासन र आपराधिक गतिविधिहरूको नियन्त्रणमा दीर्घकालीन प्रभाव पार्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच