सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र संविधानको प्रभावकारी कार्यान्वयन सरकारको प्रमुख प्राथमिकता रहेको बताउनुभएको छ । कर्णाली प्रदेश सभालाई सम्बोधन गर्दै उहाँले आवश्यकतानुसार संविधान संशोधन गरिने स्पष्ट पार्नुभयो ।
प्रधानमन्त्री ओलीले जनताको संघर्ष र बलिदानको आधारमा निर्माण भएको संविधानले सबै नागरिकलाई समान अधिकार र प्रतिस्पर्धाको अवसर दिएको उल्लेख गर्नुभयो । उहाँका अनुसार संविधान संशोधन कुनै रहर वा व्यक्तिगत लहडको विषय होइन, राष्ट्रिय आवश्यकता अनुरूप गरिने विषय हो । संविधान संशोधनको विषय नेकपा (एमाले) र नेपाली कांग्रेसबीच भएको सात बुँदे सहमतिमा समावेश गरिएको स्मरण गराउँदै प्रधानमन्त्रीले राष्ट्रिय स्वाभिमानसहितको गणतन्त्र स्थापित भएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले वर्तमान सरकार स्थिर र भिजनसहित अगाडि बढिरहेको दाबी गर्दै आगामी निर्वाचनसम्मको सहयात्रा कायम रहने प्रतिबद्धता जनाउनुभयो । संसद्मा दुई तिहाइ बहुमत भएकाले देश समृद्धिको यात्रामा अघि बढ्ने उहाँको भनाइ छ ।
प्रधानमन्त्री ओलीले कर्णाली प्रदेशलाई विकासको सुन्दर सम्भावना बोकेको क्षेत्रका रूपमा चित्रित गर्दै विभिन्न महत्वपूर्ण परियोजनाको चर्चा गर्नुभयो । उहाँका अनुसार माथिल्लो कर्णाली जलविद्युत् आयोजना, स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली करिडोर, राकम कर्णाली, भेरी बबई डाइभर्सन, दैलेखको पेट्रोल खानी लगायतका परियोजनाहरूको कार्यान्वयन अघि बढाइएको छ ।
प्रधानमन्त्री ओलीले केन्द्र सरकारले प्रदेश तथा स्थानीय सरकारलाई पूर्ण सहयोग गरिरहेको बताउँदै तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो । विकासका नाममा अनावश्यक नयाँ योजना घोषणा गर्ने बेथिति हटाउनेतर्फ सरकार सचेत रहेको उहाँको भनाइ छ ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा असभ्य भाषा प्रयोग गरेर नेपाली संस्कृतिलाई कमजोर बनाउने प्रवृत्ति नियन्त्रण गर्नुपर्ने बताउनुभयो । सामाजिक सद्भाव विथोल्ने र नियन्त्रित अस्थिरता ल्याउने प्रयास सफल हुन नसक्ने उहाँको स्पष्टोक्ति छ ।
प्रधानमन्त्री ओलीले समृद्ध नेपाल निर्माणका लागि नीति, योजना र सहकार्यका साथ अघि बढ्न सबै पक्षलाई आह्वान गर्दै थालनी गरिएका कामलाई पूर्णता दिने आफ्नो संकल्प दोहोर्याउनुभयो ।








समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर