आर्थिक अनियमितता र चारित्रिक प्रश्न उठेका झापा सभापतिलाई कारबाही गर्न रास्वपा केन्द्रको “आलटाल”

झापा । आर्थिक अपचलन र गम्भीर चारित्रिक प्रश्न उठेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका झापा अध्यक्ष उमेश खरेलले  पदबाट दिएको राजीनामा स्वीकृत गर्न पार्टी केन्द्रले आनाकानी गरेको छ । रास्वपा केन्द्रीय नेतृत्वले प्रदेश समितिलाई सिफारिस पठाएर खरेलको राजीनामा स्वीकृत गर्न आनाकानी गरेको हो ।

अध्यक्ष खरेलले फागुन २० गते केन्द्रीय समितिमा राजीनामा पठाएका थिए । सहपाठीलाई "गलफ्रेन्ड" बन्न अनुचित दबाब दिएको आरोप लागेका र आर्थिक अनियमिततामा मुछिएका खरेलले चर्को आन्तरिक असन्तुष्टी पछि राजीनामा दिएका थिए ।  रास्वपा झापाका एक नेताले भने,"अध्यक्षले राजीनामा दिन अटेर गरिरहनु भएको थियो, पार्टी उपल्लो तहमा कुरा पुगेपछि मात्रै राजीनामा दिनु भएको हो, तर केन्द्रीय समितिले राजीनामा स्वीकृत गर्न आनाकानी गर्‍यो ।"

गलफ्रेन्ड बन्न दबाब दिइएकी भनिएकी सहपाठीले पार्टी केन्द्रमा नै निवेदनसहित तथ्य खोल्ने भनेपछि खरेल राजीना दिन बाध्य भएका थिए । तर,पार्टी केन्द्रीय अनुशासन आयोगले  खरेल कोशी प्रदेश सदस्यसमेत रहेकोले सोही समितिलाई सिफारिस पठाएको ती नेताले बताए । रास्वपाको हरेक जिल्ला सभापति प्रदेश सदस्य समेत रहने वैधानिक प्रावधान छ । खरेलले प्रदेश समितिमा नै राजीनामा दिनुपर्ने भन्दै केन्द्रीय अनुशासन आयोगले सिफारिस पठाएको ती नेताले जानकारी दिए ।

"पार्टी नेताद्वय शिशिर खनाल र सुमना श्रेष्ठ झापा आउँदा पनि यो विषय राखिएको हो, स्पष्ट जवाफ आएन" ती नेताले भने,"यो विषय अहिले पनि टुङ्गो लागेको छैन, केन्द्रले प्रदेश समितिलाई सिफारिस गरेपछि कारबाहीको विषय गिजोलिएको हो कि जस्तो लागेको छ ।" खनाल र श्रेष्ठले फागुन १५ गते झापाको काँकडभिट्टा आएका थिए । तर, उनीहरूले पनि "थामथुम" भाषा बोलेको रास्वपा झापाको असन्तुष्ट पक्षले बताएको छ ।

केन्द्रीय अनुशासन आयोगको सिफारिस कार्यान्वयन भए र उजुरीकर्ताको माग सम्बोधन गरिए खरेल पद मुक्त हुनेछन् । पीडित भनिएकी महिला नेतृ र असन्तुष्ट पक्षको माग सम्बोधन नभए खरेल आउँदो जेठसम्म पदमा नै रहन सक्ने सम्भावना रहेको रास्वपा झापाका असन्तुष्ट नेताहरुको भनाइ छ ।

जेठसम्ममा रास्वपा झापाको जिल्ला अधिवेशन गर्ने योजना छ । सोही अधिवेशनबाट अध्यक्ष खरेललाई पदमुक्त गरेर नयाँ नेतृत्व छान्नसमेत आन्तरिक गृहकार्य भइरहेको बुझिएको छ । तर, आर्थिक अनियमितता र गम्भीर चारित्रिक प्रश्न उठेपछि तत्काल पद मुक्त गर्नुको सट्टा केन्द्रीय समिति आलटालमा लागेको बुझ्न कतिपय कठिनाइ छैन ।

जिल्ला समितिमा उजुरी परेपछि त्यही उजुरीका आधारमा अनुशासन आयोगले प्रदेश समितिलाई सिफारिस पठाएको हो ।  पीडितसँग बुझेर रायसहितको सिफारिस आयोगले पठाएको बताइएको छ  । विभिन्न आरोप लागेपछि राजीनामा दिइसकेका खरेलको राजीनामा स्वीकृत गर्ने वा नगर्ने विषय आजभोलि नै पार्टीले टुङ्ग्याउने दाबी गरिएको छ । यद्यपि, यो विषयमा गोप्य बाटो नै अवलम्बन गर्ने मुडमा देखिन्छ ।

झापा रास्वपामा अर्जुन उप्रेतीको संयोजकत्वमा दुई सदस्यीय अनुशासन आयोग छ । सभापति खरेलविरुद्ध कार्यकर्ताले नै नैतिक चरित्र र आर्थिक अनियमितता सम्बन्धी उजुरी दिए पनि  सो विषयमा अहिलेसम्म के प्रगति भएको छ गोप्य नै राखिएको छ । एक जिल्ला नेताले भने, "उहाँ विरुद्ध पार्टीमा नैतिक चरित्र र आर्थिक अनियमितता सम्बन्धी उजुरी परे पछि आन्तरिक रुपमा अनुसन्धान भइरहेको छ । "

उनले रास्वपाको जिल्ला समितिले सभापति खरेललाई कारबाहीका लागि पार्टीको केन्द्रीय समितिमा सिफारिस गरेपछि मात्रै राजीनामा दिएकोले सभापति खरेल पेलेर जाने पक्षमा रहेको बुझ्न गाह्रो नभएको बताए । यद्यपि, केन्द्रीय अनुशासन आयोगले खरेललाई पदबाट निलम्बन गर्न सिफारिस गरेको बुझिएको छ । तर, यसको स्वतन्त्र पुष्टि भएको छैन ।

अहिले पनि सभापति खरेलले आफू  विरुद्ध हुँदैं नभएको कुप्रचार गरिएको दाबी गरिरहेका छन् । उनले आफू निकट नेताहरूलाई पार्टी केन्द्रले "जे गर्छ त्यही हुन्छ" भन्दै असन्तुष्ट पक्षमाथि प्रभाव जमाउन लागिपरेको असन्तुष्ट ती नेताले बताए।

सभापति खरेललाई कारबाही नगरे उनीसँग जोडिएको विषय  मिडियामार्फत सार्वजनिक गर्ने भनेर उजुरीकर्ताले अडान लिएपछि मात्रै  कारबाहीका लागि  केन्द्रीय समितिमा सिफारिस हुनु चाहिँ रोचक पाटो हो । समग्र सुधारको "हुङ्कार" दिएर खुलेको पार्टीमा आर्थिक अनियमितता र चारित्रिक विषयमा यो हदसम्मको आलटाल हुनु चाहिँ असोभनीय  नै हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?